अन्टार्कटिकाको एक दूरस्थ अनुसन्धान केन्द्रका वैज्ञानिकको समूहका एक सदस्यले अर्का एकलाई शारीरिक क्षति पुग्ने गरी आक्रमणको आरोप लागेपछि हलचल मच्चिएको छ।
दक्षिण अफ्रिकाले सञ्चालन गर्ने केन्द्रमा नौ जना अनुसन्धानकर्ता अन्टार्कटिकाको जाडोयाम बिताइरहेका थिए। वैज्ञानिकहरूबीच हानाहान भएको ठाउँ अन्टार्कटिकाको किनाराबाट करिब १७० किलोमिटर टाढा रहेको र त्यहाँ पुग्न निकै कठिन रहेको दक्षिण अफ्रिकी सरकारका प्रवक्ताले जनाएका छन्।
उक्त घटनापछि सरकारले अत्यन्तै चासोपूर्वक हेरिरहेको र समस्यालाई सम्बोधन गर्न लागिपरेको बताएको छ। त्यहाँ भएको दुर्घटनाका बारेमा सबैभन्दा पहिले दक्षिण अफ्रिकाको सन्डे टाइम्सले प्रकाशित गरेको थियो। समाचारमा अन्टार्कटिकाका वैज्ञानिक टोलीले आफ्ना सदस्यहरूले उद्धारका लागि अनुरोध गरेको बताइएको थियो।
अखबारमा अन्टार्कटिकाका सदस्यहरूबीच यौन दुव्र्यवहार भएको लेखिएको भए पनि सरकारले यौन उत्पीडनको आरोप र त्यसपछि भएका आक्रमणको निकै गलत भएको बताएको छ।
त्यसो त सरकारले यौन उत्पीडनको आरोपमा पनि जाँच गरिहेको तर त्यसको कुनै प्रमाण फेला नपरेको प्रस्ट्याएको छ। घटनामा यौन उत्पीडनको आरोप लागेका एक व्यक्तिले दुर्घटनाप्रति पश्चाताप व्यक्त गरेको र आफू स्वेच्छापूर्वक मनोवैज्ञानिक परामर्शमा भाग लिने बताएको समेत बिबिसीले जनाएको छ। यौन उत्पीडनको आरोप लागेका व्यक्तिले पीडितसमक्ष औपचारिक रूपमा माफी पनि मागेको बताइएको छ।
दक्षिण अफ्रिकाको यो अनुसन्धान केन्द्र मुख्यभूमिबाट चार हजार किमि टाढा रहेको छ। सन् १९५९ देखि स्थापना भएको अनुसन्धान केन्द्रमा वर्षैैभरि वैज्ञानिक तथा अन्य सदस्यहरू बस्ने गर्छन्। चार वटा साना आधार शिविरमा एक जना चिकित्सक, दुई जना मेकानिक, तीन जना इन्जिनियर, एक जना मौसम प्राविधिज्ञ र दुई जना भौतिकशास्त्रीहरू काम गर्ने गर्छन्।
अन्टार्कटिकामा जारी राखिने अनुसन्धान अभियानका बेला कडा मौसमी अवस्थाका कारण सीमित घेरामा धेरै समय बिताउनु पर्ने भएकाले कुनै नाटकीय घटना बिना नै बित्ने गर्छ। तर गएको आइतबार अन्टार्कटिकाबाट अनुसन्धान केन्द्रमा गम्भीर रूपमा अशान्तिपूर्ण घटना भएको र त्यहाँ कार्यरत सबै सदस्यहरू डरको वातावरणमा रहेको बताउँदै दक्षिण अफ्रिकास्थित विज्ञान विभागमा आधार शिविरबाट कसैले इमेल पठाएका थिए।
अन्टार्कटिकामा यस्ता घटना त निकै दुर्लभ हुन्छन्। प्रायः अन्टार्कटिकामा शान्त वातावरण हुने गर्छ तर घटनाको शुरुवात कसरी भयो भन्नेबारे चासो बढेको छ। स्रोतका अनुसार गएको आइतबार टोली नेताले समयतालिका परिवर्तन भएको जानकारी दिएपछि हात हालाहालको अवस्था आएको बताइएको छ। त्यसो त अन्टार्कटिकामा दुर्घटना, कुटाकुट या अन्य घटना दुर्लभ नै हुन्छन् तर हुँदै नहुने भएको भने होइन। सन् २०१८ मा रुसी अनुसन्धान केन्द्रमा छुरा हान्ने घटना भएको थियो।
लामो समयसम्म यस्ता एकान्त ठाउँमा र अत्यन्त कष्टकर मौसम भएको ठाउँमा बस्नेहरूबीच साना साना कुरामा विवाद हुनसक्ने र त्यसले ठूलो आकार लिन सक्ने बर्मिङ्घम सिटी युनिभर्सिटीका कार्यस्थल स्वास्थ्य मनोविज्ञानका प्राध्यापक क्रेग ज्याक्सनको भनाइ छ।
ब्रिटिश मनोवैज्ञानिक सोसाइटीका सदस्यसमेत रहेका क्रेग भन्छन्, ‘कठीन मौसममा काम गरिरहेकाबीच साना कुरामा पनि विवाद बढ्न गई ठूलो आकार लिन सक्छ।’
प्रस्तुतिः अच्युत कोइराला
प्रकाशित: ८ चैत्र २०८१ १०:१८ शुक्रबार





