सदरमुकाम खलंगास्थित कृष्णमन्दिरमा आलु प्रदर्शनी मेला सुरु भएको छ। मेलामा जुम्लाका आठवटै स्थानीय तहका लेकाली क्षेत्रमा उत्पादन हुने आलु मेलामा राखिएको भूमि समस्या समाधान आयोगका विज्ञ सुमन आचार्यले बताए।
उनले भने, ‘मेलाले आलुको बजारीकरणमा मात्र टेवा पुग्ने छैन, जुम्ली आलुको महत्वका बारेमा समेत उजागर गर्नेछ।’
जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लामा तीनमहिने र ६ महिनाभित्र पाक्ने आलुको खेती हुने गरेको छ। तिला गाउँपालिकाको ढिपु, हिमाको पातरखोला, सिंजाको जोडु, कनकासुन्दरीको बोता, पातारासीको तिर्खु, तातोपानीको टोप्ला र चन्दननाथ नगरपालिका क्षेत्रको आलु पनि प्रदर्शनीमा राखिएको थियो। जुम्लामा उत्पादन हुने आलुको मूल्य प्रतिकेजी ६० रूपैयाँ छ। जुम्लाको आलु सुर्खेत, नेपालगञ्जलगायत कर्णालीका जिल्लामा किनबेच भइरहेको छ।
जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार हरेक वर्ष आलुको उत्पादन क्षेत्रफल बढिरहेको छ। तथ्यांक अनुसार गत वर्ष दुई हजार दुई सय ४५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको थियो। आलु उत्पादन क्षेत्र वृद्धि हुँदै गएको छ। आर्थिक वर्ष ०८०–०८१ मा दुई हजार दुई सय ४५ हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको थियो। यसबाट ३४ हजार चार सय ५० मेट्रिकटन आलु उत्पादन भएको थियो।
चालु आवमा दुई हजार दुई सय ९० हेक्टर क्षेत्रफलमा खेती भएकोमा ३५ हजार नौ सय ३० मेट्रिकटन आलु उत्पादन भएको छ। सिजनमा आलु धेरै उत्पादन भएको देखिए पनि बेमौसममा आलु अभाव हुने गरेको छ।
बेमौसममा बाहिरबाट आलु ल्याउनुपरेको छ। बाहिरबाट आउने आलु स्थानीयभन्दा महँगो पर्ने भएकाले उपभोक्ता मारमा पर्ने गरेका छन्। किसानलाई आलु उत्पादनमा प्रेरित गर्न र बजार खोज्नका लागि पनि प्रदर्शनीले सकारात्मक सन्देश प्रवाह गरेको छ।
प्रकाशित: ८ चैत्र २०८१ ०८:४८ शुक्रबार