१३ श्रावण २०८३ बुधबार
image/svg+xml
समाज

वर्षामा पनि धमाधम बन्दै विपी राजमार्ग : यात्रा भने जोखिमपूर्ण

दुई वर्षअघि आएको बाढीले क्षतिग्रस्त विपी राजमार्ग र पुनर्निर्माणपछि नयाँ ट्र्याकबाट सञ्चालन हुँदै गरेका सवारीसाधन। तस्बिर : अनिल भण्डारी/नागरिक

विपी राजमार्गको पुनर्निर्माण तीव्र गतिमा भए पनि राजमार्गको यात्रा अझै जोखिमपूर्ण छ। दुई वर्षअघि रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको विपी राजमार्गमा यात्रा अझै जोखिमपूर्ण रहेको हो। रोशी खोला क्षेत्रमा यात्रुले सास्ती, हैरानी तथा जोखिम सामना गर्नुपरेकाले यात्रा गर्दा बाढी–पहिरोको अवस्थालाई मध्यनजर गरेर यात्रा गर्नुपर्ने अवस्था कायमै छ।

पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई संघीय राजधानी काठमाडौंसँग जोड्ने मुख्य सडकका रूपमा रहेको राजमार्गको क्षतिग्रस्त खण्डमा पुनर्निर्माणलाई तीव्रता दिइएको छ। वर्षायाममा यातायात अवरुद्ध नहोस् भन्ने उद्देश्यले अस्थायी संरचना तथा वैकल्पिक ट्र्याक निर्माणको काम भए पनि यात्रा अझै जोखिमपूर्ण देखिएको छ।

शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले विपी राजमार्गको निरीक्षण गर्दै तीव्र गतिमा काम सम्पन्न गर्न निर्देशन दिएका छन्। सडक डिभिजन कार्यालय, खाल्टेका अनुसार सिन्धुलीतर्फ पाँच किलोमिटर सडकमा क्षति पुगेकोमा बर्खायाममा समेत सवारी सञ्चालन गर्न मिल्ने गरी काम गरिएको छ।

२०८१ साल असोज १२ र १३ गते रोशी खोलामा आएको बाढीले विपी राजमार्गको १२ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुर्‍याएको थियो। साथै अन्य केही स्थानमा समेत क्षति पुगेकाले भकुण्डेदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकको पुनर्निर्माण भइरहेको छ।

अधिकांश क्षतिग्रस्त क्षेत्रमा ग्राभेल बिछ्याउने काम भइरहेको छ भने केही स्थानमा ठूला ढुंगा राखेर अस्थायी सडक तयार पारिएको छ। पुरानै सडकको माथिल्लो भागमा खोलिएको नयाँ ट्र्याकबाट नियमित रूपमा सवारी सञ्चालन गर्ने तयारीअनुसार काम भइरहेको सडक डिभिजन कार्यालय, खाल्टेका प्रमुख पारस हमालले जानकारी दिए।

विपी राजमार्गको काभ्रेतर्फ चारसयबेँसी, बोक्सीकुना, कालढुंगा र डालाबेँसी क्षेत्रमा माथिल्लो ट्र्याक निर्माण सम्पन्न भइसकेको छ। सिन्धुलीतर्फ नेपालथोकदेखि बर्खेखोलासम्मको करिब पाँच किलोमिटर क्षेत्रमा पुनः बाढी आए पनि माथिल्लो ट्र्याक प्रयोग गरेर यातायात सञ्चालन गर्न सकिने अवस्था बनेको हमालको भनाइ छ।

गत असोजको बाढी–पहिरोले भकुण्डेबेँसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा ठूलो क्षति पुर्‍याएको थियो। त्यसयता रोशी खोलामा बनाइएका अस्थायी डाइभर्सन पटक–पटक बाढीले बगाउँदा राजमार्ग अवरुद्ध हुने गरेको थियो। अहिले भने वर्षायामअघि करिब सात मिटर उचाइसम्म सडक निर्माण गरी ग्राभेल बिछ्याउने काम भइरहेको छ। वर्षापछि थप उचाइमा स्थायी सडक निर्माण गरी कालोपत्रे गरिने योजना रहेको कार्यालयले जनाएको छ। कतिपय स्थानमा आरसीसी वालको जग निर्माण सम्पन्न भइसकेको छ भने अन्य संरचना निर्माणको काम जारी छ।

राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार प्याकेजमा पुनर्निर्माण अघि बढाइएको छ। तीमध्ये बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा पुनर्निर्माण भइरहेको छ। उक्त खण्डमा माटो भर्ने र ठूला बोल्डर राख्ने काम भइरहेको छ। यस क्षेत्रमा वर्षायाममा खोलाबाट सवारी सञ्चालन गर्नुपर्ने अवस्था नआउने कार्यालयको दाबी छ।

उता, मध्यपहाडी राजमार्गअन्तर्गत सिन्धुलीका विभिन्न स्थानमा बाढी–पहिरोले क्षति पुर्‍याएका सडकको मर्मत तथा पुनर्निर्माण कार्य पनि जारी रहेको मध्यपहाडी राजमार्ग आयोजनाले जनाएको छ। आयोजनाका अनुसार वर्षायाममा यातायात सेवा अवरुद्ध हुन नदिन पहिरो पन्छाउने, भत्किएका सडक पुनःनिर्माण गर्ने तथा आवश्यक संरचना निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

खुर्कोट–घुर्मी खण्डअन्तर्गत मध्यपहाडी लोकमार्गको सोखु खोला, कुखुरेटार, हैबार लगायतका स्थानमा सडक कटान भएकाले त्यहाँ पुनर्निर्माण भइरहेको मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना, रामेछापका प्रमुख विदुर पोखरेलले बताए। उनका अनुसार यही असारसम्म काम सक्ने गरी विभिन्न स्थानमा पुनर्निर्माणका लागि करिब ८ करोड रुपैयाँमा ठेक्का सम्झौता गरिएको भए पनि तोकिएको समयमा काम सम्पन्न नभएकाले म्याद थप गर्ने योजना रहेको छ।

राजमार्ग सुचारु भए पनि बर्खायाममा विपद् आउँदा सिन्धुलीका मुख्य राजमार्ग नै जोखिमयुक्त रहेको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले बताए। उनका अनुसार मध्यपहाडी राजमार्गको अक्करेभिर, विपी राजमार्गको निर्माणाधीन खण्ड तथा मदन भण्डारी राजमार्गको मरिण–हरिहरपुरगढी खण्ड जोखिममा रहेका छन्। अन्य भित्री सडक पनि जोखिमको सूचीमा रहेका भए पनि मुख्य राजमार्ग नै बढी जोखिमयुक्त भएकाले विपी राजमार्गमा राति सवारी सञ्चालनमा रोक लगाइएको उनले नागरिकसँग बताए।

प्रकाशित: १० श्रावण २०८३ १३:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App