२० चैत्र २०८१ बुधबार
image/svg+xml १६:२१ अपराह्न
समाज

भक्तपुर अस्पतालको विडम्बना: ‘उत्कृष्ट’ को मानपात्र, सेवा भने टहराबाट

देशकै उत्कृष्ट अस्पतालको सूचीमा दर्ज भक्तपुर अस्पतालको अवस्था दयनीय छ।

काठमाडौंको वीर अस्पतालपछि दोस्रो पुरानो सरकारी अस्पतालका रूपमा स्थापना भएको यो अस्पताललाई नेपाल सरकारले प्रदेशस्तरीय उत्कृष्ट अस्पताल घोषित गर्दै पुरस्कारसमेत प्रदान गरिसकेको छ। तर, यथार्थमा भने अस्पताल समस्याको चाङमुनि छ।

अस्पतालका प्रमुख समस्या भवन अभावसँग गाँसिएका छन्। यही अभावका कारण आठ करोड रुपैयाँ खर्च गरेर खरिद गरिएको सिटी स्क्यान मेसिनसमेत अहिले टहरामा राखेर सञ्चालन गर्ने तयारी भइरहेको छ।

पर्याप्त भवन अभावले गर्दा अस्पतालले शय्या पूर्ण क्षमतामा सञ्चालन गर्न नसकेको र सेवासमेत खुम्च्याउनु परेको अस्पताल प्रशासन बताउँछ।

‘भक्तपुर अस्पतालको सामाजिक परीक्षण कार्यक्रम अन्तर्गत बुधबार आयोजित आम भेलामा प्रमुख समस्या भवन अभाव रहेको खुलेको छ’, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठले भने, ‘सेवा विस्तार गर्ने अवस्था हुँदाहुँदै टहराबाट सेवा दिनु परेको छ।’

अस्पतालले जनाए अनुसार उसँग आफ्नै स्वामित्वमा १८ रोपनी चार आना जग्गा रहेको छ। तर, भोगचलनमा ल्याउन नसक्दा समस्यामा परेको छ।

अस्पतालकै जग्गामा अहिले भक्तपुर क्यान्सर अस्पताल र शहीद धर्मभक्त राष्ट्रिय अंग प्रत्यारोपण केन्द्र सञ्चालनमा छन्। सुरुमा सेवामा चाप कम हुँदा ती संस्थालाई अस्पतालको क्षेत्रभित्र सेवा दिन दिइएको थियो।

तर, समय बित्दै जाँदा ती दुवै अस्पतालले आ-आफ्नै भवन बनाइसकेका छैनन्, जसले गर्दा मुख्य अस्पताल नै विस्थापितजस्तो बनेको छ।

अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. सुरेन्द्र भटले अस्पताल समस्या चुलिँदै गएको बताए। ‘हामीसँग दरबन्दी अनुसार चिकित्सक छैनन्। पुराना भवन प्रयोग गर्न मिल्दैन, पार्किङको समस्या छ, डायलासिस मेसिन राख्न सकिएको छैन’, उनले भने, ‘नगरपालिकाहरूले पनि अभिभावकत्व लिन मानेका छैनन्।’

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शशीजंग थापाले भने, ‘विभिन्न समस्याबीच पनि अस्पताल सेवा विस्तार र सञ्चालनमा लागिपरेको छ। २०५९ सालमा दैनिक ८० जना बिरामीलाई सेवा दिन मिल्ने गरी दरबन्दी तय गरिएको थियो, तर अहिले दैनिक ९ सय बिरामी सेवा लिन आउँछन्।’

अस्पतालले सेवा विस्तारका प्रयास जारी राखेको छ। तर, नयाँ भवन निर्माण र हस्तान्तरणमा ढिलाइ हुँदा थप समस्या आइरहेको प्रशासनको गुनासो छ।

‘अबको लक्ष्य, सेवा थप्दै भक्तपुर अस्पताल नै प्रमुख गन्तव्य बनाउने हो, ताकि यहाँका बिरामी अन्यत्र भौतारिनु नपरोस्’, अस्पताल प्रशासनले भनेको छ।

प्रकाशित: ६ चैत्र २०८१ २०:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App