नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति बिना कुनै पनि पात्रो तथा भित्तेपात्रो प्रकाशन नगर्न प्रकाशक तथा सम्बन्धित निकायलाई आग्रह गरेको छ।
मन्त्रिपरिषद्को विसं २०७७ पुस २० गतेको बैठकले समिति गठन आदेश स्वीकृत गरी लागू भएपछि पात्रो तथा भित्तेपात्रो प्रकाशन गर्नु पूर्व समितिको अनुमति लिनुपर्ने व्यवस्था रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए।
सो आदेशअनुसार कुनै पनि पात्रो वा भित्तेपात्रो सार्वजनिक प्रकाशन गर्नुअघि अनिवार्य रूपमा समितिबाट स्वीकृति लिनुपर्ने प्रावधान रहेको उनले जनाए।
‘समितिको स्वीकृति बिना मनपरी रूपमा पात्रो तथा भित्तेपात्रो प्रकाशन हुँदा चाडपर्व, बिदा लगायतका संवेदनशील विषयमा फरक पर्न सक्ने खतरा हुन्छ’, कार्यकारी निर्देशक ढुङ्गेलले नागरिक न्युजसँग भने, ‘यसले समाजमा भ्रम फैलाउनुका साथै जनतालाई अन्योलमा पार्न सक्ने भएकाले सबै प्रकाशकलाई स्वीकृति लिएर मात्र प्रकाशन प्रक्रिया अघि बढाउन अनुरोध गरिएको हो।’
समितिले हाल बजारमा स्वीकृति विना सार्वजनिक गरिएका पात्रो तथा भित्ते पात्रोको अनुगमन गरिरहेको समेत जानकारी दिएको छ।
‘राज्यलाई वार्षिक रूपमा कति पात्रो प्रकाशित हुन्छ भन्ने यकिन छैन। आर्थिक पक्ष मात्र होइन, यसले विकृति र विसङ्गति निम्त्याएको छ’, ढुङ्गेलले स्पष्ट पारे, ‘व्यापारीहरूले स्वेच्छाले बिदा घोषणा गर्दा सरकारी बिदासँग नमिल्ने अवस्था आउँछ। जनतामा अन्योल सिर्जना हुनुका साथै चाडपर्वको मुहूर्तसमेत गलत ढंगले उल्लेख गरिन्छ, जुन गम्भीर समस्या हो।’
समितिले समाजमा भ्रम फैलाउने उद्देश्यले प्रकाशित स्वीकृतिविहीन पात्रो तथा भित्ते पात्रोलाई बजार अनुगमनका क्रममा जफत गरी सम्बन्धित प्रकाशकलाई कानूनबमोजिम कारबाही गरिने बताएको छ।
यस सम्बन्धमा थप जानकारी आवश्यक परे समितिको नारायणहिटीस्थित कार्यालयमा सम्पर्क गर्न सकिने समितिले स्पष्ट पारेको छ। समितिका अनुसार गठन आदेश जारी भएदेखि नै बजार अनुगमनमार्फत पात्रो तथा भित्ते पात्रोको नियमन कार्य जारी छ।
प्रकाशित: ५ चैत्र २०८१ २०:५२ मंगलबार