३ चैत्र २०८१ आइतबार
image/svg+xml १९:५७ अपराह्न
समाज

उपत्यकामा पहिलो पटक देखियो ‘कालोकण्ठे भुँईरबिन’ चरा

मनोहरा क्षेत्रमा देखिएको ‘कालोकण्ठे भुँईरबिन’ चरा। तस्बिर: विक्की श्रेष्ठ

काठमाडौं उपत्यकामा पहिलो पटक ‘कालोकण्ठे भुँईरबिन’ (डेजर्ट ह्विटियर) चरा अभिलेख गरिएको छ।

भक्तपुरको बोडेमा पंक्षी अवलोकनकर्ता विक्की श्रेष्ठले फागुन २७ गते बिहान मनोहरा क्षेत्रको उष्ण मरुभूमीय वातावरणमा यो दुर्लभ चरालाई अवलोकन गरे। उनले त्यसबेला यसको तस्बिर समेत खिचेका थिए, जसले उपत्यकामा पहिलो पटक यसको उपस्थिति प्रमाणित गरेको छ।

नेपालमा यो चरा मुख्यतः तराईका मरुभूमीय क्षेत्र, चुरे पहाडहरू तथा खुला घाँसे मैदानहरूमा पाइन्छ। तर, उपत्यकामा यसको पहिलो अभिलेख हुनु पंक्षी अनुसन्धानको लागि महत्त्वपूर्ण उपलब्धि मानिएको छ।

यस चराको प्रजनन क्षेत्र उत्तर अफ्रिकाका मोरक्को, अल्जेरिया, ट्युनिसिया, इजिप्ट, मध्यपूर्वका इरान, इराक, साउदी अरेबिया, अफगानिस्तान तथा मध्य एसियाका मङ्गोलिया, कजाखस्तान, चीनलगायत देशहरूमा रहेको छ। हिउँदे बसाइसराइका क्रममा यो दक्षिण एसियाको भारत, पाकिस्तान, नेपाल तथा अफ्रिकाका सुडान, इथियोपिया, सोमालिया लगायत देशहरूमा आउँछ।

कालोकण्ठे भुँईरबिन प्रायः शुष्क मरुभूमि, बालुवी क्षेत्र, ढुंगागेट्टा भएको उष्ण क्षेत्र, अग्ला बगर, खुला मैदान, साना झाडी तथा चट्टानी ढिस्काहरूमा पाइन्छ। यसको मुख्य आहार साना कीराहरू, चराहरूको लार्भा, ढुङ्गे किरा तथा साना बिउबियाँहरू हुन्।

नेपालमा यो चरा मुख्यतः हिउँदमा देख्न सकिन्छ। केही चराहरू बसाइसराइ क्रममा उच्च पहाडी भूभाग हुँदै नेपाल प्रवेश गर्छन्। विशेषगरी मनाङ र मुस्ताङमा पनि यसको उपस्थिति अभिलेख भएको छ।

हाल यो नेपालमा तुलनात्मक रूपमा दुर्लभ मानिए पनि तराई क्षेत्रमा बेलाबेला देखिने गरेको छ। उपत्यकामा पहिलो पटक यसको उपस्थिति देखिनु जैविक विविधता अध्ययनका लागि नयाँ सम्भावनाको संकेत हो।

प्रकाशित: २ चैत्र २०८१ २१:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App