३ चैत्र २०८१ आइतबार
image/svg+xml १९:५७ अपराह्न
समाज

कालीकोटमा विपद्बाट बच्न खोज तथा उद्धार अभ्यास

<br>

विपद्बाट हुने क्षति कम गर्न र विपद्मा परेका घाइतेको तत्काल उद्धार गर्न दुई पालिकाका २५ जना युवालाई आधारभूत खोज तथा उद्धार तालिम दिइएको छ। ‘विपद् बाजा बजाएर आउँदैन’ भन्ने नाराका साथ नरहरिनाथ र सान्नी त्रिवेणी गाउँपालिकाका युवालाई चारदिने खोज तथा उद्धार तालिम प्रदान गरिएको हो।

कालीकोटको नरहरिनाथ र सान्नी त्रिवेणी गाउँपालिकाका २५ जना युवालाई लक्षित गरी नरहरिनाथ गाउँपालिकामा सञ्चालित तालिममा दुवै पालिकाबाट २५ जनाको सहभागिता थियो। प्लान इन्टरनेसनलको सहयोगमा किर्डाक नेपालले आयोजना गरेको खोज तथा उद्धार तालिममा सिकेको सीप जीवनभर काम लाग्ने नरहरिनाथ गाउँपालिका, लालुकी भगवती शाहीले बताइन्।

‘विपद् जतिखेर पनि आउन सक्ने भएकाले पूर्वतयारीका रूपमा तालिममा सिकेका सीप सधैँ काम लाग्छ,’ उनले भनिन्, ‘मेरो गाउँठाउँमा पहिरो, बाढी, आगलागीजस्ता विपद्मा परेका व्यक्तिलाई बचाउन प्रयास गर्नेछु।’ उनले पहिले खोज तथा उद्धारका काम पुरुषले मात्र गर्न सक्छन् भन्ने लागे पनि सीप भए महिलाले पनि गर्न सक्ने कुरा सिकेको सुनाइन्।

तालिममा पहिरोमा च्यापिएका व्यक्तिको खोजी तथा उद्धार, प्राथमिक उपचार, ग्यास सिलिन्डर, घर तथा जंगलमा हुने आगलागी नियन्त्रण, बाढीमा बगेकाको खोजी तथा उद्धारलगायतका विषयमा सहभागीले सीप सिकेका छन्। नरहरिनाथ गाउँपालिकाका विपद् फोकल पर्सन राजेन्द्र विष्टले यस्तो जानकारी दिए। 

नेपाल रेडक्रस सोसाइटी कालीकोटका सभापति बलप्रसाद संज्याल र सशस्त्र प्रहरीका विमल शाहीले खोज तथा उद्धारको तालिम दिएका थिए। प्रशिक्षक बलप्रसाद संज्यालले ‘समुदायस्तरमा सचेतनाका लागि कृत्रिम अभ्यास गरिएको’ बताए। उनले यसबाट समुदायलाई सतर्क रहन र पूर्वतयारी गर्न सहयोग पुगेको बताए।

सशस्त्र प्रहरी बलका विमल शाहीले विपद्मा प्रयोग हुने अग्नि नियन्त्रण यन्त्र, डोरी, लाइफ ज्याकेट, बुट, ट्युब, पन्जालगायतका सामग्रीबारे जानकारी दिँदै तिनको प्रयोग विधिबारे सिकाएका थिए। उनले कुरिनटारमा ३ वर्ष तालिम लिएर जुम्लामा विपद् प्रशिक्षकको रूपमा काम गर्दै आएका छन्।  
विपद्का घटना हुँदा कुनै पनि नागरिकले कसरी सुरक्षित हुने र तत्काल व्यवस्थापनका लागि कसलाई कहाँ खबर गर्ने भन्ने विषयमा अभ्यास प्रदर्शनीमार्फत स्थानीयलाई सचेत गराइएको किर्डाक नेपाल कालीकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले बताए। 

आगलागी तथा विपद्को समयमा हुन सक्ने खतरा र त्यसको प्रभावकारी खोज, उद्धार, राहत, समन्वयलाई कसरी प्रभावकारी बनाउने भन्ने उद्देश्यले कृत्रिम घटना अभ्यासको आयोजना गरिएको उनको भनाइ छ। विपद् उद्धारसम्बन्धी ज्ञान र सीप पाएका युवाहरूले अप्ठ्यारोमा परेका व्यक्तिलाई बचाउन महत्वपूर्ण भूमिका खेल्ने नरहरिनाथ गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर विष्टले बताए। ‘विपद्को बेला सबैभन्दा पहिले पुग्ने स्थानीय युवालाई खोज तथा उद्धारसम्बन्धी सीप दिन आवश्यक भएकाले तालिम प्रदान गरिएको हो,’ उनले भने। 

बाढीजन्य विपद्को जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले विभिन्न प्रयास गरिरहेको उल्लेख गर्दै उनले सबै नागरिकलाई सचेत र जागरूक बनाउनुपर्ने बताए। विपद् पूर्वतयारीलाई प्राथमिकता दिई गरिने यस्ता अभ्यासले जोखिम न्यूनीकरण गर्न सकिने उनको विश्वास छ। विपद्को समयमा आफू मात्र नभई अरूलाई पनि बचाउन सकिने विषयमा ज्ञान प्राप्त गरेको तालिमका सहभागी प्रमोद बोहोराले बताए।

‘युवालाई खोज तथा उद्धारसम्बन्धी सीप सिकाउन सकियो भने ज्यान बचाउन सकिन्छ,’ उनले भने। तालिम पाएका युवाहरूमा आत्मविश्वास बढेको उनले सुनाए। स्थानीय समुदायलाई विपद्प्रति जागरूक बनाउन, विपद्सँग सम्बन्धित योजना तथा कार्यक्रम तर्जुमा गर्न र विपद्को घटना हुनासाथ प्रतिकार्यका लागि परिचालन हुन पालिकास्तरमा खोज तथा उद्धार तालिम प्रदान गरिएको थियो। 

प्रकाशित: २ चैत्र २०८१ २०:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App