पूर्वपश्चिम राजमार्ग अन्तर्गत मोरङको उर्लाबारीमा शनिबार तीन सवारी साधन आपसमा ठोक्किँदा १३ जना घाइते भएका छन्।
एक सुमो गाडी र दूई सार्वजनिक यात्रु बाहक बस एकै स्थानमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटनामा परी घाइते भएका मध्ये ११ जना सुमोका र दुई जना बसका यात्रुहरू रहेको मोरङ प्रहरीले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मे १ झ २७४९ को सुमो गाडी पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश १–०१–००१–ख ४४५६ नम्बरको बससँग ठोक्किएको थियो।
बससँग ठोक्किएको सुमो अनियन्त्रित हुँदै पूर्वतर्फ जाँदै गरेको मे १ ख २५४६ नम्बरको अर्को बससँग ठोक्किएको प्रहरीले बताएको छ।
दुर्घटनामा परेर घाइते भएका १३ जना मध्य आठ जनालाई झापाको बिर्तामोडस्थित बि एण्ड सी अस्पताल पठाइएको छ। बिर्तामोड उपचारका लागि गएकामध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ।
दुई जनाको स्थानीय अस्पताल अरनिको अस्पतालमा उपचार भइरहेको र तीन जना डिस्चार्ज भई घर गइसकेका छन्। प्रहरीले घटनाको अनुसन्धान थालेको जनाएको छ।
प्रकाशित: २ चैत्र २०८१ १९:१७ शनिबार