बाँकेस्थित डुडुवा गाउँपालिका–६ असमानपुरमा रहेको जयेन्दु बाल सुधार गृहमा बालबन्दीहरूबीच शुक्रबार झडप भयो। उक्त झडपमा करिब २१ जना घाइते बने।
आगजनी र तोडफोड हुँदा भौतिक संरचनामा पनि क्षति पुग्यो। यति मात्र होइन यहाँ, पटकपटक झडप हुँदै आएका छन्। गत असोजमा यस्तै प्रकृतिको झडप हुँदा एक जनाको ज्यानसमेत गएको थियो। तर, यसको दीर्घकालीन समाधान भने हुन सकेको छैन।
बालसुधार गृहभित्र खुलेआम लागु औषध तथा मादक पदार्थ बिक्री वितरण र सेवन हुनु, बालबिज्याइकर्ताहरुको अराजक समूहले ग्याङ निर्माण गर्नु र एकले अर्कोलाई नटेर्नु र १८ वर्षभन्दा माथिका बालबिज्याइकर्तालाई अन्यत्र सार्ने कानुनी व्यवस्था नहुनु यहाँ झडप हुनुका प्रमुख कारण हुन्।
यस्तै, कमजोर सुरक्षा प्रणाली र फितलो व्यवस्थापन हुँदा समूह/समूहमा विभाजित बालबिज्याइकर्ताहरुबीच महिनामा साना-ठूला झडप हुँदै आएका छन्।
उक्त बालसुधार गृह सुधार केन्द्रका रुपमा होइन, ग्याङ (समूह) निर्माण गर्ने र अराजकता फैलाउनेतिर उन्मुख रहेको देखिन्छ। जसको प्रभावबाट यहाँको भौतिक संरचनामा मात्र होइन, जानअन्जानबस गल्ती गरी सुधारका लागि यहाँ आएका कयौं बालबिज्याइकर्ताको भविष्यसमेत अन्योल बनेको छ।
यहाँ साना-ठूला गरी बालबिज्याइकर्ताहरु समूहमा विभाजित छन्। विशेष गरि दुई ठूला समूह छन्। जसले एक अर्काको अस्तित्व स्वीकार गर्दैन अर्थात् उनीहरु एकले अर्कोलाई सम्मानजनक व्यवहार गर्दैनन् र दुस्मनीका रुपमा प्रस्तुत हुन्छन्।
शुक्रबारको झडप यसकै स्वरुप हो। होली मनाएर सुतिरहेका बेला एक समूह आएर अर्को समूहलाई कुटपिट गरेको थियो। त्यसपछि यहाँको वातावरण अशान्त बन्यो। बालबिज्याइकर्ताहरुले भौतिक संरचनामा क्षति पुर्याए। शुक्रबार साँझदेखि सुरु भएको तनावको स्थिति शनिबार दिउँसो मात्रै नियन्त्रणमा आयो। यहाँको अवस्था नियन्त्रणमा लिन जिल्लाका उच्च सुरक्षा अधिकारीसमेत परिचालन भएका थिए।
सुरक्षा संवेदनशील मानिन सामग्रीसमेत बाल सुधार गृहभित्र रहेको देखिन्छ। रड, कुदोलगायतका सामग्री कसरी सुधार गृहभित्र पस्यो त्यसको अनुसन्धान हुने प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए। झडपका बेला बालबिज्याइकर्ताहरुले घरेलु हतियार प्रयोग गरेका उनको भनाइ छ।
समूहमा विभाजित बालबिज्याइकर्ताहरुले बेलाबेलामा साना-ठूला झडप गरिरहने उक्त सुधार गृहकी प्रमुख विमला काउचाले जानकारी दिइन्। उनका अनुसार बालबिज्याइकर्ताहरुको व्यवस्थापन पक्षसँग भन्दा अराजकता फैलाउने व्यक्तिहरूबिचको विवादले झडप हुने गरेका छन्।
‘यहाँ मुख्य दुई समूह छ। एउटा समूह सुधार गृहमा अध्ययन गर्नुपर्छ। शान्त ढंगले बस्नुपर्छ र सुधारको बाटोमा जानुपर्छ भन्ने छ,’ उनले भनिन्, ‘अर्को एक समूह अराजक खालको छ। जुन समूहले भनेको सबैले मान्नुपर्छ। उनीहरुलाई सम्मानजनक व्यवहार गर्नुपर्छ भन्ने व्यवहार देखाउँछ।’
‘सुधार गृहमा अराजकहरू नै आउने हुन,’ उनी भन्छिन्, ‘नयाँ नै भए पनि एक अराजकले अर्को अराजकलाई सम्मान गर्न नसक्दा पनि विवाद सिर्जना हुन्छ।’
झडपको अर्को कारण भनेको बालसुधार गृहमा लागु औषध र मादक पदार्थ हो। बालसुधार गृहभित्रै सहजै लागु औषध र मादक पदार्थ जाँदा यो अवस्था सिर्जना हुने गरेको छ।
नसा चढेपछि अराजक समूहबिच झगडा हुने गरेको छ। बाल सुधार गृहभित्र सहजै लागु औषध र मदिरा जाने गरेको बालसुधार गृह व्यवस्थापनले पनि स्वीकार गरेको छ।
‘उनीहरुले भनेको सामानभित्र नलिने हो भने उनीहरु सुरक्षाकर्मीहरूलाई नै कुटपिट गर्न लाग्छन्,’ बाल सुधार गृहकी प्रमुख काउचाले भनिन्, ‘हतियारबिना रहेको प्रहरीलाई उनीहरुले गन्दैनन्। प्रहरी बाध्य भएर जे-जे हुन्छ सहन बाध्य छन्।’
हप्ता दिन अघि बालबिज्याइकर्ताले तीन जना सुरक्षाकर्मीहरूलाई कुटपिट गरेका थिए। ‘यहाँ केही
उत्श्रृंखल गतिविधि हुन थाल्यो भने हामीले प्रहरी प्रशासनलाई भन्ने हो,’ उनी भन्छिन्, ‘प्रहरी प्रशासनले कडा गर्न थाल्दा झन् उनीहरु आक्रोशित हुँदै होहल्ला र हामीलाई मार्नेसम्मको धम्की दिन्छन्।’
यहाँ झगडा हुनुको तेस्रो पक्ष भनेको उमेर समूहभन्दा बढीका बालबिज्याइकर्ता यहाँ हुनु हो। १४ वर्षभन्दा माथि र १८ वर्षभन्दा मुनिका बालबिज्याइकर्तालाई यहाँ राखिन्छ। तर, यहाँ १८ वर्षभन्दा माथिका ७६ जना बालबिज्याइकर्ता छन्। उनीहरुले झन् विवाद सिर्जना गर्छन्।
‘उनीहरु उमेर समूह हुँदा नै बाल सुधार गृहमा हुन्छन्,’ उनले भनिन्, ‘उनीहरूको कसैको अलि धेरै सजाय तोकिएको हुन्छ। त्यतिन्जेलसम्म उनीहरु १८ वर्षभन्दा माथि पुग्छन्। १८ वर्षभन्दा माथि पुगेका बालबिज्याइकर्ताहरुलाई अर्को ठाउँ लिने कानुनी व्यवस्था नहुँदा पनि समस्या भएको छ।’
उनीहरुलाई खुला कारागारमा लिन नमिल्ने र छुट्टै राख्न थप संरचना नहुँदा सँगै राख्ने गरिएको उनको भनाइ छ।
सुधारात्मक क्रियाकलाप गर्ने बालबिज्याइकर्ताका लागि उपयुक्त वातावरण नहुँदा उनीहरु समस्यामा परेका छन्। उनीहरुका अभिभावकले आफ्ना सन्तान सुधार गृहमा जोखिममा रहेको बताएका छन्। झडप हुँदा बालबिज्याइकर्ताहरु वरिपरिको बस्तीमा छिरेर चोरीसमेत गर्ने गरेका गुनासाहरू आएका छन्।
सुरक्षा संवेदनशील मानिन सामग्रीसमेत बाल सुधार गृहभित्र रहेको देखिन्छ। रड, कुदोलगायतका सामग्री कसरी सुधार गृहभित्र पस्यो त्यसको अनुसन्धान हुने प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए।
प्रकाशित: २ चैत्र २०८१ १८:५० शनिबार