प्रहरीले रङ्गहरूको पर्व होलीलाई सभ्य, शान्त र मर्यादित बनाउन जबरजस्ती कसैलाई पनि रङ्ग, अबिर नहाल्न आग्रह गरेको छ ।
रङ्ग नलाउन नचाहने, बाटोमा हिडने बटुवालाई दुःख र सास्ती हुने किसिमले रङ्ग अबीर नलगाउन आग्रह गर्दै अटेर गरेको पाइए कारबाही गरिने प्रहरीले जनाएको छ । प्रहरीले सूचना जारी गर्दै मिलनको पर्व होलीलाई मर्यादित, सभ्य र अनुशासित बनाउन आग्रह गरेको हो ।
जबरजस्ती लोला हान्ने, रङ्ग र फोहर पानी छ्याप्ने, होहल्ला गर्ने, मदिरा सेवन गरी झैझगडा गर्ने लगायतका क्रियाकलाप नगर्न प्रहरीले अपिल गरेको छ । अश्लील र ठुलो आवाजमा डिजे बजाउन र बाटो र राजमार्ग समेत अवरोध हुने गरी होली नखेल्न प्रहरीले सूचना जारी गरेको हो । कानुन विपरीत कार्यहरू गरिएको पाइए प्रचलित कानुन अनुसार कारबाही गरिने जनाइएको छ ।
प्रहरी उपरीक्षक निरंजन दत्त भट्टले सभ्य मर्यादीतरुपमा हाली खेलेर शान्ति सुरक्षा कायम गर्न अपिल गरेका छन् । उता होलीमा हुन सक्ने सम्भावित घटना रोक्न र शान्ति सुरक्षाका लागि प्रहरीले होली विशेष सुरक्षा रणनीति लागु गरेको छ । होलीका दिन एक हजार प्रहरी परिचालन गरिने भएको छ । होलीका दिन ट्राफिक सहित एक हजार प्रहरी परिचालन गरिने प्रहरी उपरीक्षक भट्टले बताए । प्रहरीहरू २ सिफ्टमा परिचालन हुने छन् । ठाउँ ठाउँमा मोबाइल गस्ती, पट्रोलिङ समेत गर्ने योजना छ ।
प्रकाशित: २८ फाल्गुन २०८१ १४:३२ बुधबार