१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १०:११ पूर्वाह्न
समाज

गठबन्धन सरकारको ध्यान संविधान कार्यान्वयन तर्फ: महामन्त्री थापा

कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापा। तस्बिर: अर्जुन ओली/नागरिक

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमाले गठबन्धन सरकारको ध्यान संविधान कार्यान्वयनमै केन्द्रित रहेको बताएका छन्।

कांग्रेस सम्बद्ध पेशागत तथा बुद्धिजीवी विभाग र नेपाल डेमोक्याट्रिक लयर्स एसोसिएसनले नेपालगन्जमा शनिबार आयोजना गरेको ‘संविधान संशोधन: आवश्यकता र चुनौती’ विषयक लुम्बिनी प्रदेश स्तरीय अन्तरक्रियालाई सम्बोधन गर्दै उनले भने, ‘कांग्रेस र एमालेको गठबन्धनको सरकार बनाउँदै गर्दा प्राथमिकताको विषय संविधान कार्यान्वयनसँग जोडिएका कानुनहरू बनाउनुपर्ने छ, ती कानुन एकदमै छिटो बनाउनुपर्नेछ, कतिपय कानुनहरू खारेज गर्नुपर्नेछ, कतिपय कानुन हाम्रो संविधानसँग बाझिएका छन्।’

संविधान कार्यान्वयनसँग सम्बन्धित जति पनि कामहरु गर्दा तत्कालीन प्रधानमन्त्री एवम् संविधान पिता स्वर्गीय सुशील कोइरालालाई एक पटक स्मरण गर्नुपर्ने महामन्त्री थापाले बताए।

कांग्रेसको नेतृत्वमा शान्ति प्रक्रिया टुंगोमा पुगेसँगै संविधान बनेको र कार्यान्वयन पनि भएकाले संविधान संशोधनमा पनि कांग्रेसले अभिभावकीय भूमिका निर्वाह गर्नुपर्ने अवस्था आएको उनको भनाई छ।

कार्यक्रममा कांग्रेस महामन्त्री गगन थापा लगायत नेताहरु । तस्बिर: अर्जुन ओली/नागरिक

संविधान घोषणासँगै बनेका नीति र कतिपय नियतका कारण अप्ठ्यारो अवस्था सिर्जना भएको प्रतिनिधि सभाका सांसद समेत रहेका महामन्त्री थापाले बताए।

‘हामीले बनाएका नीतिहरू वा नबनाएका नीतिका कारण अप्ठ्यारा परिस्थिति सिर्जना भएका छन् वा हाम्रो नियतका कारणले गर्दा अप्ठ्यारा सिर्जना भएका छन्,’ उनले भने ‘त्यसको भारी संविधानलाई मात्र बोकाइदिएर हुँदैन, नीति र नियतका कारण सिर्जना भएका समस्याको समाधान हामी संविधानबाट खोज्छौँ। त्यो संविधानबाट खोजेर हुँदैन, त्यसलाई हामीले नीति वा नियतबाट खोज्नुपर्छ, संविधान संशोधनको बहसमा यो कुरा प्रष्ट हुन आवश्यक छ।’

संविधान संशोधन हुँदै गर्दा निर्वाचन प्रणाली, सङ्घीयता, प्रदेशका अधिकारका हेरफेर गर्ने विषयमा व्यापक छलफल हुनुपर्ने उनको भनाई छ।

सो क्रममा कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौंर, केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, सहमहामन्त्री एवम् प्रदेश सांसद निमा गिरी, कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल लगायतले पनि आफ्नो धारणा राखेका थिए।

नेपाली कांग्रेस पेशागत तथा बुद्धिजीवी विभागका संयोजक एवम् कांग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाको अध्यक्षतामा भएको अन्तरक्रियामा संविधान विद् काशिराज दाहालले नागरिक स्तरबाट विशेषगरी निर्वाचन प्रणाली, समावेशिता, प्रादेशिक संरचनाको विषयमा पुनरावलोकन तथा कामको समीक्षा गरेर संविधान संशोधन गरिनुपर्ने सुझाव आएको बताए।

‘हामीले प्राप्त भएका सबै राय, सुझावलाई टिपोट गरेर बुझाउनेछौँ,’ उनले भने।

प्रकाशित: १७ फाल्गुन २०८१ १८:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App