२२ चैत्र २०८१ शुक्रबार
image/svg+xml १२:५३ अपराह्न
अर्थ

अलैँची बचाउन ‘गुणस्तर’ पहिलो सर्त

पहाडी जिल्लाको प्रमुख नगदेबाली अलैँची आम्दानीको राम्रो स्रोत मानिन्छ। पाँचथरमा अहिले चालु अलैँची ९८ हजार प्रतिमन र राम्रोलाई एक लाख दुई हजार रुपैयाँसम्ममा कृषकले बिक्री गरिरहेका छन्। यो अन्य नगदेबालीको तुलनामा राम्रो हो।  

आम्दानी जसरी हुन्छ त्यसको तुलनामा कृषकलाई अलैँची जोगाउन सोही अनुसार समस्या परिरहेको छ। बगानमा आउने समस्याले सबैभन्दा मार कृषकलाई परिरहेको छ। कृषकको आर्थिक अवस्था सुधार्ने कृषि उपज बचाउने मुख्य माध्यम भनेकै गुणस्तरमा सुधार गर्नुपर्ने अलैँची विज्ञहरूले निष्कर्ष निकालेका छन्।  

पाँचथरको राँकेमा आयोजित अलैँची गुणस्तर सुधार र बजारिकरण सम्बन्धी कार्यक्रममा सहभागीहरूले गुणस्तर पहिलो सर्त भएको बताए। कृषकहरूकै अनुभवमा पनि गुणस्तरीय उत्पादन दिन सके बजारको चिन्ता गर्नु नपर्ने बताए।  

अलैँची कृषक कुमार तामाङका अनुसार सहज र लगातार सेवा दिन सके गुणस्तरमा सुधार गर्न सकिन्छ। के गर्ने भन्ने विषय कृषकले थाहा पाउनु पर्यो। उनले भने, 'बगानमा समाधानको भरपर्दो माध्यम नभेट्दा कृषकलाई समस्या हुने गरेको छ।'

'गुणस्तर सुधार गर्नलाई बगान सुधार गर्नु पहिलो सर्त हो,' अलैँची विकास केन्द्र फिक्कलका प्राविधिक दिलबहादुर श्रेष्ठले भने, 'बगान व्यवस्थापन, मलखादको उचित प्रयोग, माटो परीक्षण, रोगी विरुवाको व्यवस्थापन अलैँची सुधारका मुख्य सर्त हुन्।  

गुणस्तरलाई केन्द्रमा राखेर बगान विस्तार गर्ने हुँदा हावापानी मिल्दो रोपण पहिलो सर्त हो। त्यसका लागि केन्द्रले उचाई अनुसारका अलैँची जात सिफारिस गरेको छ। ६ सयदेखि १२ सय मिटर उचाइसम्म जिर्मले, डम्बर साइ, १२ सयदेखि १६ सय मिटरसम्मका लागि गोलसाइ, १५ सयदेखि २२ सय मिटरसम्मको उचाइमा रामसाइ, भार्लाङ जातको अलैँची केन्द्रले सिफारिस गर्ने गरेको उनले जानकारी दिए।  

गुणस्तर सुधारमा माटो परीक्षण पनि मुख्य सर्तमा पर्छ। केन्द्रका अनुसार ४ दशमलव ५ देखि ६ दशमलव ५ पिएच मापन भएको माटो उपयुक्त हुन्छ। कृषकले यी सबै तयारी गरेपछि मात्रै गुणस्तरलाई कायम गर्न सक्छन्।  

कार्यक्रममा सहभागी कृषकहरूका लागि सरकारले प्रदान गर्ने सेवासंगै वित्तीय संस्थाले प्रदान गर्ने ऋण सहुलियत सेवाका बारेमा समेत जानकारी गराइएको थियो। कार्यक्रममा इलाम र पाँचथरका ५० बढी अलैँची कृषक सहभागी थिए।  

पाँचथरमा मात्रै गत असोजमा आएको बाढी पहिरोका कारण १० करोड मूल्य बराबरको अलैँची बगानमा क्षति भएको छ। त्यसको क्षतिपूर्तिको विषयमा पनि सरकारी तवरबाट राहतका कार्यक्रमको माग कृषकको छ।  

नेपालका ४२ पहाडी जिल्लाहरूमा अलैँची उत्पादन हुन्छ। कोशी प्रदेशका पाँचथर, ताप्लेजुङ, इलाम, संखुवासभा, खोटाङ, भोजपुर र तेह्रथुममा अलैँची खेती हुन्छ।  

आर्थिक वर्ष २०७९/०८० मा सात हजार सात सय ६३ दशमलव ८७ मेट्रिक टन अलैँची उत्पादन भएको थियो। आर्थिक वर्ष २०८०/०८१ मा घटेर सात हजार पाँच सय ८२ दशमलव ०२ मेट्रिक टन उत्पादन भयो। यो वर्षको करिब २० प्रतशितले अलैँची उत्पादनमा ह्रास आउने अनुमान छ।  

कृषकले गुणस्तरमा मेहनत गरेको भए पनि विश्व बजारमा हुने प्रतिस्पर्धाले त्यसमा थप सुधारको खाँचो रहेको अलैँची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष निर्मल भट्टराईले बताए। 'गुणस्तरमा सुधार हुन सके बजार आफैँ बन्दै जाने हो,' उनले भने, 'त्यसका लागि कृषकको तहबाटै सचेतनाको जरुरी छ।' 

अलैँचीको सुधार गर्न स्थानीय तहले सहकेको पहल गरिरहेको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष बृजहाङ आङदेम्बेले बताए। 'सकेको गरिरहेका छौँ,' उनले भने, 'प्राविधिक जनशक्ति मुख्य कुरा रहेछ, त्यसमा सबै तहका सरकार मिलेर काम गर्नु पर्ने अवस्था छ।'  

नेपालका लागि अलैँची निर्यातमुखी उत्पादन हो। आयात प्रतिस्थापनका दृष्टीले पनि अलैँची बचाउनु मुख्य विषय बनेको जानकारहरू बताउँछन्।  

नेपाली बजार आयातमुखी भइरहेको अवस्थामा अलैँचीले मात्रै सुधारका संकेत दिने हुनाले राज्यले लगानी बढाएर त्यस क्षेत्रमा गर्नुपर्ने थुप्रै काम रहेको उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य दिपक नेपालले बताए।

प्रकाशित: १९ चैत्र २०८१ ०९:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App