नीति तथा कार्यक्रम माथि संसोधन प्रस्ताव राख्न सभामुखले समय नदिएको भन्दै कोशी प्रदेशसभामा विपक्षी सांसदहरूले बिरोध गरेपछि शनिबार सम्मका लागि बैठक स्थगित गरिएको छ ।
मंगलबार सभामुख अम्मरबहादुर विष्टले कोशी प्रदेशको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको घोषणा गरेपछि विपक्षी सांसदहरूले संसोधनको समय नदिएको भन्दै विरोधमा उत्रिएका थिए ।
विपक्षी सांसदहरूको बिबादका कारण मंगलबारको बैठक बुधबार विहान ११ बजेसम्मका लागि स्थगित भएको थियो । बुधबारको बैठकमा पनि प्रतिपक्षी सांसदहरूले सोहि विषय उठान गरी प्रदेशसभामा बिरोध जनाएका थिए । विपक्षी दलका सांसदले विरोध गरेपछि सभामुख अम्बरबहादुर विष्टले नेकपाका संसदीय दलका नेता इन्द्रबहादुर आङ्वोलाई बोल्न समय दिएका थिए ।
आङ्वोले विपक्षी दलका सांसदहरूले नीति तथा कार्यक्रम माथि असन्तुष्टि राख्दा राख्दै सभामुखले संसोधनको समय पनि नदिइ सर्वसम्मत पारित गरेको भन्दै बहुमतले पारित गरेको घोषणा गर्न आग्रह गरेका थिए । त्यस पछि सभामुख र विपक्षी दलका सांसदहरूकावीच भनाभन भएको थियो । विवादकै बीच सभामुख विष्टले बैठक जवर्जस्ती सञ्चालन गर्न खोजेपछि नेकपाका सांसद तथा कोशी प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र राई आक्रोशित हुँदै रोष्टममा पुगेर माइक उचाल्न थालेपछि मर्यादा पालकहरूले उनलाई रोकेका थिए ।
त्यस पछि पनि सभामुखले बैठक सुचारु गर्न सहयोगका लागि प्रतिपक्षी दलका सांसदहरूलाई आग्रह गरे पनि प्रतिपक्षी दलका सांसदहरूले बिरोध प्रदर्शन जारी राखेपछि सभामुखले आधा घण्टाका लागि संसदको बैठक स्थगित गरेका थिए ।
प्रतिपक्ष दलका सांसदहरूसँग बैठक सञ्चालन गर्ने विषयमा सहमति नभएपछि प्रदेशसभा बैठक शनिबार सम्मका लागि स्थागित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
प्रकाशित: १३ जेष्ठ २०८३ २०:०० बुधबार





