अर्थ मन्त्रालयले गत असोज ११ र १२ गते आएको अविरल वर्षाका कारण भत्किएका २६ वटा सडक तथा पुलको स्थायी किसिमबाट पुनर्निर्माण गर्न बल्ल पैसा उपलब्ध गराएको छ।
सडक विभागका सूचना अधिकारी अमित शर्माका अनुसार मन्त्रालयले १३ वटा राजमार्ग तथा १३ वटा पुलको पुनर्निर्माण गर्न १८ अर्ब ८८ करोड २० लाख रूपैयाँको स्रोत सुनिश्चतता गरेको छ। अर्थ मन्त्रालयले चालु आर्थिक वर्षमा तीन अर्ब ६६ करोड सात लाख रूपैयाँ दिने भएको छ भने तत्काल ६० करोड २४ लाख रूपैयाँ उपलब्ध गराएको विभागले जनाएको छ।
विभागका अनुसार १० वटा मुख्य राजमार्गको पुनर्निर्माण गर्न १५ अर्ब ८३ करोड १० लाख तथा तीनवटा वैकल्पिक सडक पुनर्निर्माण गर्न एक अर्ब १५ करोड बजेट सुनिश्चितता गरिएको छ।
यसैगरी भत्किएका १३ वटा पुलको पुनर्निर्माण गर्न एक अर्ब ९० करोड १० लाख रूपैयाँको स्रोत सुनिश्चतता गरेको छ। विभागका महानिर्देशक रामहरि पोखरेलले वर्षाले भत्काएका सडक तथा पुलको पुनर्निर्माण गर्न तत्कालै ठेक्का लगाउन सुरु गरिने बताए। ‘तत्काल ठेक्का लगाउँछौं। काम सुरु हुन तीन महिनाजति लाग्छ’, उनले भने।
तर भौतिक पूर्वाधार मन्त्रालयका एकजना उच्च अधिकारीले अर्थले पैसा उपलब्ध गराउन दुई÷तीन महिना ढिलो गरेको गुनासो गरे। उनका अनुसार मंसिर÷पुसमै पैसा उपलब्ध गराएको भए अहिले प्रक्रिया सुरु भइसक्थ्यो र आगामी वर्षायामसम्म केही न केही देखिने गरी काम हुने थियो। ‘अब काम सुरु गर्न कम्तीमा साढे तीन महिनाजति लाग्छ। काम पूरा हुन दुईतीन वर्षसम्म नै लाग्न सक्छ। त्यसैले यो वर्षायाममा अस्थायी काम मात्र हुन्छ, स्थायी हुन सक्दैन’, उनले भने।
भौतिकले गत मंसिरमै अर्थसँग पैसा मागेको थियो। अर्थले विभिन्न कारण देखाउँदै ढिलो बजेट उपलब्ध गराएको हो। वर्षाका कारण सबैभन्दा क्षतिग्रस्त बिपी राजमार्ग भएको छ। बिपी राजमार्गको पुनर्निर्माण गर्न अर्थले भक्तपुर सडकतर्फ सात अर्ब ५० करोड तथा चालु आर्थिक वर्षमा एक अर्ब ५० करोड रूपैयाँ उपलब्ध गराउने भएको छ। यसैगरी सिन्धुली खण्डतर्फ एक अर्ब तथा चालु आवमा २० करोड रूपैयाँ उपलब्ध गराउने भएको छ।
यसैगरी मेची राजमार्गको पुनर्निर्माण गर्न अर्थले ६० करोड रूपैयाँको स्रोत सुनिश्चितता गरेको छ। चालु आवमा २० करोड रूपैयाँ उपलब्ध गराउने भएको छ। बिल्लाटे माइपोखरी सन्दुकपुर सडक पुनर्निर्माण गर्न ५० करोड तथा चालु आवमा १० करोड रूपैयाँ उपलब्ध गराइने भएको छ। खुर्कोट मिल्टी सडकतर्फ ४० अर्ब तथा चालु आवमा आठ करोड रूपैयाँ उपलब्ध गराइने भएको छ। तामाकोसी –मिल्टी सडकतर्फ २५ करोड ३० लाख तथा चालु आवमा पाँच करोड ६ लाख रूपैयाँ उपलब्ध गराइने भएको छ।
अर्थले अरनिको राजमार्ग पुनर्निर्माण गर्न तीन अर्ब रूपैयाँको स्रोत सुनिश्चितता गरेको छ। चालु आवमा ६० करोड रूपैयाँ उपलब्ध गराउने प्रतिबद्धता अर्थ मन्त्रालयले गरेको छ। यसैगरी चरीकोट–सिंगटी सडक पुनर्निर्माण गर्न ३० करोड रूपैयाँको स्रोत सुनिश्चतता गरिएको छ। यस सडकका लागि चालु आवमा तीन करोड रूपैयाँ उपलब्ध गराइने भएको छ। यसैगरी सिद्धार्थ राजमार्ग पुनर्निर्माण गर्न अर्थले ५० करोड रूपैयाँको स्रोत सुनिश्चितता गरेको छ। चालु आवमा एक करोड रूपैयाँ उपलब्ध गराउने लिखित प्रतिबद्धता अर्थले गरेको छ।
वर्षाले भत्काएका १३ वटा विभिन्न पुलहरूको पुनर्निर्माण गर्न अर्थले एक अर्ब ९० करोड १० लाख रूपैयाँ बजेटको सुनिश्चितता गरेको छ। सुनकोसीस्थित उदयपुर–खोटाङ जोड्ने फोक्सिङटार पुल पुनर्निर्माण गर्न ३५ करोड रूपैयाँ बजेट स्रोत सुनिश्चितता गरिएको छ भने लार्चा पुल पुनर्निर्माण गर्न २५ करोड उपलब्ध गराउने अर्थले जनाएको छ।
यसैगरी लिपिङ पुलका लागि १० करोड, हेवा खोला पुल २५ करोड हेवा खोला सुनकोसी खैरेनीटार पुलका लागि २५ करोड, बागमती बगुवा पुलका लागि १८ करोड, पुवा खोला पुलका लागि १७ करोड ७० लाख रूपैयाँ स्रोत सुनिश्चतता अर्थले गरेको सडक विभागको भनाइ छ।
प्रकाशित: ११ फाल्गुन २०८१ ०८:२७ आइतबार