जलवायुविद्को तालिकाअनुसार मंसिरको १६ देखि फागुनको १६ गतेसम्मको समय हिउँदे अवधि मानिन्छ। नेपालमा सामान्य मौसम रहन हिउँदे अवधिमा ६० मिलिमिटरसम्म वर्षा हुने गर्छ।
तर, यस वर्ष भने हालसम्म निकै न्यून वर्षा भएको छ। हिउँदे अवधि सकिनै लाग्दा हालसम्म ९ दशमलव ५ प्रतिशत मात्रै वर्षा भएको जलवायु तथा विपदविद् डा.धर्मराज उप्रेतीले बताए। ‘यो भनेको साह्रै सुख्खा अवस्था हो। अब उसै पनि हिउँदे अवधि सकिन २ हप्ता मात्रै बाँकी छन्, तर ठुलो वर्षाको सम्भावना छैन,’ उनले भने, ‘१० दिनपछि हल्का वर्षा हुने सम्भावना देखिन्छ। तर, त्यो पनि पछि परिवर्तन हुनसक्छ। यसैले यो वर्ष सुख्खा हिउँदे वर्षका रूपमा बित्ने पक्का भएको छ।’
सुख्खा हिउँद गुज्रिदा प्रत्यक्ष असर हिमालहरूमा देखिएको छ। विगतमा सेताम्मे देखिने हिमालमा यस वर्ष मौसम सक्रिय नहुँदा जताततै काला पत्थर बढेको देखिएको छ।
जलवायुविद् उप्रेतीका अनुसार नेपालको सबैभन्दा बढी पानी पर्ने ठाउँ भनेर चिनिने पोखरामा समेत यो हिउँदमा वर्षा भएको छैन। यस्तै सिमरा, विराटनगर, धनकुटा जस्ता वर्षा हुने क्षेत्रसमेत यसपालि सुख्खा यामबाट गुज्रिएका छन्।

‘पानी परेको भनेको पश्चिम नेपालमा हो। डोटीमा लगभग २५ प्रतिशत, डडेलधुरामा ३० प्रतिशतको हाराहारीमा पानी परेको छ,’ जलवायुविद् उप्रेतीले भने। औसतमा भन्ने हो भने त्यो पनि एकदमै कम वर्षा रहेको उनले बताए।
सुख्खा हिउँद गुज्रिँदा प्रत्यक्ष असर हिमालहरूमा देखिएको छ। विगतमा सेताम्मे देखिने हिमालमा यस वर्ष मौसम सक्रिय नहुँदा जताततै काला पत्थर बढेको देखिएको छ।
यस्तै कृषि तथा बालीनाली र कृषि उत्पादनमा पनि यसले ठुलो असर पार्ने जलवायुविद् उप्रेती बताउँछन्। हिउँदे बालीहरू गहुँ, तोरी, मुसुरोलगायतको उत्पादन यस वर्ष निकै घट्ने देखिएको छ।
यस्तै हिउँदे वर्षा नहुँदा चैत, वैशाखका सुख्खा महिनामा वनजंगलमा आगलागी तथा डढेलोको जोखिम पनि उत्तिकै बढेको जलवायुविद् उप्रेतीले बताए। उनले भने, ‘पानीका स्रोत तथा मुहानहरू सुक्ने र पानी घट्ने जस्ता विकराल समस्या पनि देखिन सक्छन्। यस्ता समस्यासँग जुध्न सरकारहरू सचेत हुनुपर्ने बेला आएको छ।’
किन भएन हिउँदे वर्षा?
जलवायुविद् उप्रेतीका अनुसार समुद्र सतहको तापक्रममा आएको परिवर्तन नै यसको हिउँदे वर्षा नहुनुको प्रमुख कारक हो। जलवायु परिवर्तनका कारण समुद्रको सतह कहिले तातो त कहिले चिसो हुन्छ। इन्डोनेसियादेखि हिन्द महासागरसम्मको समुद्री सतह चिसिएको अवस्था छ। चिसिएको अवस्थामा वाष्पीकरण हुँदैन। ‘वाष्पीकरण नहुँदा यसले वर्षा हुने प्रक्रियालाई घटाउँदछ,’ उनले भने, ‘यसले समुद्रको तापक्रम औसत र औसतभन्दा कम वा बढी हुन्छ।’
तर अहिले समुद्रको तापक्रम औसत अवस्थामा रहेको उनले बताए। उनले भने, ‘एल निनो सिस्टमदेखि ला निनासम्म जाने प्रक्रियामा रहेको छ, तर गइसकेको अवस्था छैन। यही नगएको र बिचमा स्थिर भएको अवस्था हुनाले पानी पार्न सक्ने वा नपार्न पनि सक्ने अवस्थामा हुन्छ।’ यही प्रणालीले यस पटक वर्षा हुन नदिएको जलवायुविद् उप्रेतीले बताए।
‘ला निना’ र ‘एल निनो’ के हो ?
जलवायुविद् उप्रेतीका अनुसार ‘एल निनो’ प्राकृतिक जलवायु परिस्थितिको एउटा हिस्सा हो। अमेरिकी जियो साइन्स इन्स्टिच्युटका अनुसार ‘एल निनो’ र ‘ला निना’ परिस्थिति प्रशान्त महासागरको समुद्री सतहको तापक्रममा बेलाबेला हुने परिवर्तनसँग जोडिएको छ, जसको प्रभाव संसारभरको मौसममा पर्दछ।
‘एल निनो’ का बेला मध्य र पूर्वी भूमध्य रेखीय प्रशान्त महासागरमा सतहको पानी असामान्य रूपमा तातिन्छ। पूर्वदेखि पश्चिमतर्फ बहने हावा कमजोर हुन्छ र पश्चिमी प्रशान्त क्षेत्रमा हुने तातो सतहवाला पानी भूमध्य रेखाको साथमा पूर्वतर्फ बढ्न थाल्छ।
एल निनोका कारण तापमान धेरै बढ्ने र ला निनाका कारण चिसिने गर्दछ। उष्ण देशीय प्रशान्त भूमध्यीय क्षेत्रमा समुद्रको तापमान र वायुमण्डलीय परिस्थितिमा आउने परिवर्तनका लागि जिम्मेवार समुद्री घटना ‘एल निनो’ हो। यो परिवर्तनका कारण तापक्रम सामान्यभन्दा ४ देखि ५ डिग्री सेल्सियस बढी हुनसक्छ।
‘एल निनो’ ले मौसममा निकै गहिरो असर पार्छ। यो आउँदा विश्वभरको मौसम प्रभावित हुन्छ। यसले गर्दा वर्षा र गर्मी दुवैमा फरक देखिन्छ। ‘एल निनो’ का बेला मध्य र पूर्वी भूमध्य रेखीय प्रशान्त महासागरमा सतहको पानी असामान्य रूपमा तातिन्छ। पूर्वदेखि पश्चिमतर्फ बहने हावा कमजोर हुन्छ र पश्चिमी प्रशान्त क्षेत्रमा हुने तातो सतहवाला पानी भूमध्य रेखाको साथमा पूर्वतर्फ बढ्न थाल्छ।

तराईको हुस्सु कहिले हट्छ?
रातिको समयमा जमिन सेलाएपछि बिहान हावाको तापक्रम घट्छ र हावामा पानीका असङ्ख्य कणहरू देखिन्छन्। त्यही नै हुस्सु कुहिरो हो। मौसम पूर्वानुमान महाशाखाको वेबसाइटका अनुसार एक किलोमिटरभन्दा कम पारदर्शिता हुँदा कुहिरो र एकदेखि पाँच किलोमिटरसम्म पारदर्शिता हुँदा हुस्सु भनिन्छ।
पूर्वदेखि पश्चिमसम्मको तराईका भूभागहरूमा अहिले कतै हुस्सु र कतै कुहिरो लागेको छ। हिउँदमा पानी नपरेपछि झन् नाजुक अवस्था ल्याएको महसुस गरिएको छ। यद्यपि तराईका जिल्लाहरूमा लागेको कुहिरो हट्ने क्रममा रहेको जलवायुविद् उप्रेतीले बताए। ‘पानी परेको खण्डमा हावामा रहेका पानीका असङ्ख्य कणहरूलाई धर्तीमा झार्थ्यो या वाष्पीकरण गराउँथ्यो तर यसो नभएको हुनाले यस वर्ष तराईमा लामो समय हुस्सु तथा कुहिरो रहन पुग्यो,’ उनले भने। उनले अहिले हुस्सु मध्य पहाडी क्षेत्र र पूर्वी भागमा केही बाँकी रहेको र तराईमा हटेको बताए।
यस्तै उनले शनिवार साँझ पश्चिम नेपालका तीनै प्रदेशमा हल्का वर्षाको सम्भावना अनि बादल लाग्ने समेत बताए। तर आगामी बिहीबार र शुक्रवार भने मध्यम किसिमको हिउँदे वर्षाको सम्भावना देखिन्छ।
यस्तै मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ। जसले गर्दा उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको भए पनि मौसम मुख्यतया सफा रहेको छ।
पानी कहिले पर्छ?
जलवायुविद् डा. उप्रेतीले धेरैपछि वर्षा हुने सम्भावना रहेको बताए। उनले अबको केही दिनमा हिउँले ढाकेको हिमाल हेर्न पाइने पनि बताए।
उनका अनुसार पश्चिम वायुले यो हप्ता अन्य समयको भन्दा सक्रिय हुने सङ्केत दिएको छ। हिमाली क्षेत्रमा यो हप्ताको सुरुमा र अन्त्यमा हिउँ देख्न पाइने छ।
यस्तै उनले शनिवार साँझ पश्चिम नेपालका तीनै प्रदेशमा हल्का वर्षाको सम्भावना अनि बादल लाग्ने समेत बताए। तर आगामी बिहीबार र शुक्रवार भने मध्यम किसिमको हिउँदे वर्षाको सम्भावना देखिन्छ।
यस्तै शनिवार साँझसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनी हुँदै हल्का वर्षा हुने आकलन समेत उनले गरे।
प्रकाशित: ३ फाल्गुन २०८१ १३:३५ शनिबार