१२ पुस २०८२ शनिबार
image/svg+xml
समाज

लिम्बू भाषामा ‘आई लभ यु’

एकजना कमेन्टेटरले मलाई मेरो ब्लगमा ‘लिम्बू भाषामा आई लभ युलाई के भन्छ?’ भनेर सोध्नुभयो। म लिम्बू भाषा नजान्ने मान्छे भएकाले मैले तुरुन्तै यसको उत्तर दिन सकिनँ। यो प्रश्नको उत्तर खोज्ने जिज्ञासामा मैले लिम्बू भाषा जान्नेहरूलाई सोध्न थालें।  

‘आई लभ यु’लाई लिम्बू भाषामा अनुवाद गर्दा ‘आङ्गा मिम हेने/खेने’ हुने रहेछ। यो सिधा शाब्दिक अनुवाद हो र यस्तो अनुवादले ‘आई लभ यु’ भन्दा जुन भावना बोकेको हुन्छ, त्यो स्तरको भावना व्यक्त गर्दैन भन्ने तर्क भाषाविद् दिलेन्द्र कुरुङबाङको थियो।

दिलेन्द्र कुरुङबाङसँग मैले लिम्बू भाषाको अनौपचारिक कक्षा लिएको थिएँ। लिम्बू भाषामा पुस्तकहरू लेख्नुभएको, लिम्बू भाषाका अनौपचारिक कक्षाहरू सञ्चालन गर्नुभएको र लिम्बू भाषाको क्षेत्रमा लाग्नुभएको व्यक्ति भएकाले उहाँलाई ‘आई लभ यु’को अनुवाद सजिलै आउँछ भन्ने मैले सोचेको थिएँ। तर मलाई उहाँले यसको दुरुस्त भावार्थ दिने वाक्य छैन भन्दा छक्कै परेँ। उहाँले त मलाई बरु ‘आई लभ यु वारो’ भन्दा नै त्यसले भावना बोक्छ भन्नुभयो।

त्यसपछि अरूलाई सोध्दा पनि ठ्याकै यस्तो भनेर जवाफ दिन सक्नुभएन। फेसबुकमा एक जना नेटिजेनले नेपालमा बोलिने विभिन्न भाषामा ‘आई लभ यु’ कसरी भन्छ भनेर राख्नुभएको रहेछ। त्यसमा उहाँले लिम्बू भाषामा ‘आङ्गा खेनी चरेक असरक थाङ’ भनेर राख्नुभएको थियो। त्यसमा एक जना कमेन्टेटरले त्यसको अर्थ ‘म तिमीलाई मन पराउँछु भन्ने लाग्छ, जुन धेरै हदसम्म ठिक छ’ भन्नुभएको थियो।

अर्का कमेन्टेटरले भने ‘आङ्गा खेने मिम मियप्ने’ हुन्छ भन्नुभएको थियो। मैले एक जना लिम्बू भाषा जान्ने बहिनीलाई सोध्दा ठ्याकै त छैन होला, आमालाई सोधेर भन्छु भन्नुभयो। उहा“की आमाले ‘आङ्गा मिमी वारो’ वा ‘आङ्गा मिम मेत्नु’ हुन सक्छ भन्ने जवाफ दिनुभयो।

यसै क्रममा गायिका झुमा लिम्बूलाई पनि सोधेँ। साहित्यमा मायाप्रेमका धेरै कुरा गर्ने भएकाले उहाँलाई पक्कै थाहा होला भन्ने लागेको थियो तर उहाँले पनि त्यस्तो वाक्य त लिम्बू भाषामा आफूले नसुनेको र नजानेकाले ठ्याक्कै यही हो भन्न सक्दिनँ भन्नुभयो। यसरी फरक फरक व्यक्तिले फरक फरक वाक्य भन्नु भएकाले पक्कै पनि ‘आई लभ यु’को ठिक अर्थ लाग्ने वाक्य छैन भन्न सकिन्छ भन्ने लाग्यो।

लिम्बू भाषामा ‘आई लभ यु’ भन्न किन यति गाह्रो? के लिम्बूहरू माया–पिरती नै नगर्ने मानिस हुन् त? पक्कै पनि होइनन्। मायाप्रेम भन्ने भावना त सबैमा हुन्छ तर लिम्बू भाषामा ‘आई लभ यु’ भन्ने वाक्य किन छैन? त्यो किन छैन भन्ने बुझ्नलाई त्यो समुदाय बुझ्नुपर्छ भन्ने लाग्छ। लिम्बू समुदाय पश्चिमा समुदायजस्तो सिधै आफ्नो कुरा भन्ने समुदाय होइन। लिम्बूहरू कुनै पनि कुरा सिधै भन्दैनन्, घुमाएर भन्ने गर्छन्। घुमाएर बिम्बहरूको प्रयोग गरी कुरा गर्छन्। सहरमा होइन, लिम्बू गाउँमा हुर्केका लिम्बूहरूसँग कुरा गर्दा तपाईंले यो कुरा महसुस गर्न सक्नुहुन्छ।

लिम्बूहरू सिधा सिधा कुरा भन्दैनन् भन्ने कुरा गर्दा किरात याक्थुङ चुम्लुङका निवर्तमान अध्यक्ष अर्जुन लिम्बूले भनेको कुरा याद आउँछ। उहाँ पाहुना जाँदा सोल्टिनीहरूले सबै पाहुनालाई सुन्तला बाँड्दै आएछन् रे। उहाँहरू भएको ठाउँमा आएर ‘लौ सुन्तला खानुस् है सोल्टीहरू’ भनेर दिएछन्। तर सोल्टीहरू सुन्तला नखाने भनेर अनेक थरी बहाना बनाउँछन् रे। अनि धेरै बेर जिद्धि गरेपछि अर्जुन सरलाई यो सोल्दिनीहरूले साह्रै कर गरे, खान दिएको कुरा खाइदिन्छु भनी खानुभयो रे। पछि अरू साथीहरूले किन खाइस् भनेर गाली गरे रे।

सुन्तला त सोल्टिनीहरूसँग कुरा गर्ने र ख्यालठट्टा गर्ने एउटा बाटो पो हो त, खानु भन्दैमा खाइहाल्ने होइन भनेर सम्झाएपछि बल्ल कुरा बुझ्नुभयो रे। विभिन्न कारणले लिम्बू गाउँबाट पर हुर्केका कारण उहा“ले यस्तो कुरा थाहा पाउनुभएको थिएन रे। यसरी लिम्बूहरू सिधैं आफ्ना भावना व्यक्त गर्दैनन्, घुमाएर भन्छन् भन्ने बुझ्नुभयो रे।

 विशेषगरी ख्यालठट्टा गर्दा उनीहरू कुनै वस्तुका लागि बिम्ब हालेर कुराकानी तन्काई राख्ने गर्छन्। कुरालाई घुमाई घुमाई रोचकता र रोमाञ्चकता दिने उनीहरूको बानी हुन्छ। केटी माग्न जाँदा पनि तपाईंको छोरी मन पर्‍यो, त्यसैले विवाहको प्रस्ताव ल्याएका छौं भन्ने सुनिँदैन। बरु ‘तपाईंहरूको घरको फूलबारीमा एकदमै राम्रो फूल फुलेको रहेछ, त्यसको बासना परपरसम्म आउन थालेको छ। टाढाटाढाबाट भमराहरू पनि झुम्मिन थालेका रहेछन्। हामी पनि त्यही बास्ना सुँघ्दै आइपुग्यौं’ भन्दै जोडी रक्सीको पोङ (बोतल) राखेर छोरी माग्न आएको कुरा बल्ल खोल्छन्। यो कुरा लिम्बू समुदायमा बनेका चलचित्रहरू हेर्दा पनि थाहा हुन्छ।

एउटा कार्यक्रममा डा. अभि सुवेदीले लिम्बू साहित्यमा सुफिइजममा जस्तो मिस्टिसिजम (रहस्यवाद) हुन्छ भनेको सुनेको थिएँ। लिम्बू साहित्य भनेर उहा“ले लिम्बू लोकसाहित्यजस्तो पालाम, हाक्पारे, ख्याली र मुन्धुमको कुरा गरिरहनुभएको थियो। रहस्यवादमा स्रष्टाले आफ्नो काव्य, कविता वा लेखनमा बिम्ब वा प्रतीकहरूको प्रयोग गरी आफ्ना भावनालाई व्यक्त गर्ने रहेछन्। रहस्यवादी साहित्यमा स्रष्टाले अनेक कल्पना गरी साहित्यलाई रोचक र रोमाञ्चक पनि बनाउने रहेछन्।

कतिपय भावना सजिलै व्यक्त गर्न नसकिने हुँदा बिम्बको प्रयोग गरिन्छ र त्यसले पनि साहित्यलाई रहस्यमय बनाउ“छ किनभने त्यसलाई सजिलै वा सोझो हिसाबले बुझ्न सकिन्न।

लिम्बू लोकसाहित्यमा सबैभन्दा धेरै माया–पिरतीका कुरा आउने त धाननाचका क्रममा गाइने पालाममै हो। लिम्बूहरू सात दिन, सात रातसम्म धान नाच्छन् भनेको सुनेको थिएँ। धान नाच नाच्दा पालाम गाउनुपर्छ। पालाममा त माया पिरतीका कुरा टन्नै आउँछन्। तैपनि त्यहाँ सिधै ‘आई लभ यु’ भनिँदो रहेनछ। गायक–गायिकाले मायाका कुरा त गर्छन् तर मायालाई कुनै बिम्बसँग तुलना गर्दा रहेछन् भन्ने कुरा अम्बिकाकुमार सम्बाहाम्फेको किताब ‘चार माया पालाम’ पढेर थाहा पाएँ। किताब पढेर थाहा भयो– पालामअनुसार माया चार प्रकारका हुने रहेछन्।

पहिलो बोलमाया वा संसारी माया, जसले बोलीचालीमा मात्र सीमित हुने र लगाउन सजिलो हुने सरल किसिमको मायालाई जनाउने रहेछ। दोस्रो जिउमाया, जुन शारीरिक आकर्षण हुँदै दुई शरीर एक मन हुनेसम्मको मायालाई भनिने रहेछ र यस खाले पालाममा संयोगान्त गीत गाइने रहेछ। तेस्रो फूलमाया, जुन फूलजस्तै स्वच्छ र पवित्र हुने रहेछ।

फूलमायालाई निस्वार्थ माया वा अन्तरात्मासँग गरिने माया भनेर बुझ्नुपर्ने रहेछ। यसमा फूललाई मायाको प्रतीक मानी पालाम गाइने रहेछ। चौथो दिलमाया, जसलाई आर्दश प्रेमका रूपमा बयान गरिने रहेछ। यस किसिमको माया लगाउनेहरूले पालाम गाउँदा जुनी–जुनीसम्म एकअर्कासँग माया गरिरहने कुरा गर्ने रहेछन्। दिलमाया लगाउने पालाममा बिछोड र पीडाका गीत गाउँदा रहेछन् अनि पालाम वियोगान्त हुने रहेछ। यसरी पालाममा विभिन्न किसिमका माया लगाउनेले विभिन्न किसिमका बिम्ब प्रयोग गरेर आफ्नो मायाका भावना व्यक्त गर्दा रहेछन्।

किताब, सामाजिक सञ्जाल र लिम्बू भाषा जान्नेहरूलाई सोधिसकेपछि लिम्बू भाषामा सिधै ‘आई लभ यु’ भन्ने अर्थ लाग्ने वाक्य नभएको कुरा बुझेँ। लिम्बूहरूले मायाका विभिन्न स्वरूपलाई बुझेका हुन्छन् र त्यसलाई विभिन्न किसिमले र प्रतीकहरूको प्रयाग गरेर व्यक्त गर्ने रहेछन्। त्यसैले मायाको कुरा निकै गहिरो र बुझ्नुपर्ने विषय मैले देखेँ। अन्त्यमा, मैले पनि दिलेन्द्र कुरुङबाङले भनेझैं ‘आई लभ यु’लाई ‘आई लभ यु वारो’ भन्दा नै बढी अर्थ लाग्छ होला भन्ने निष्र्कषमा पुगेँ। 

प्रकाशित: २६ माघ २०८१ ०८:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App