२३ पुस २०८२ बुधबार
image/svg+xml
समाज

देखिन छाडे तिला नदीका माछा

तिला नदीका माछा।

जुम्लाको तातोपानी गाउँपालिका-५ लाम्रा गाउँका जयकृष्ण चाैलागाई १७ वर्षको उमेरमा उनको दैनिकी थियो, तिला नदीमा माछा मार्न झरौला लिएर जाने। उनी अहिले ४२ वर्षका भए। जयकृष्ण उतिबेला १ घण्टाभित्र पाँच/छ केजीसम्म माछा मार्थे। उनको घरकाे खर्चको माध्यम नदीका माछा हुन्थे। तर, केही समययता जुम्लाको तिला नदीमा माछा पाइन छाडेको उनले बताए।

आजभोलि दिनभरि झरौंला हाल्दा समेत एक केजी पनि माछा भेटिँदैन। आधा केजी पुर्‍याउन निकै धाै-धाै हुन्छ। जुम्ला सदरमुकाम खलंगाका संचालित हाेटलदेखि पसलमा माछा देखिन्थे। बढ्दो मानवीय गतिविधिका कारणले नदीमा अवैध गिट्टी बालुवा उत्खनन जस्ता कार्यले माछा लोप हुने अवस्थामा पुगेको उनी बताउँछन्। उनले भने, ‘तिला नदीको माछा बलियो आम्दानीको स्रोत हो। माछा खाने र मार्ने बढेपछि तिलामा माछा भेटिन छाडेकाे छ। संरक्षण गर्ने काममा स्थानीय सरकारदेखि केन्द्रीय सरकार काेही लागेको पाइदैन।’

माछाको बासस्थान नै ध्वस्त भइरहेको छ। तिलाको माछा निकै स्वादिलो मानिन्छ। तिलामा धामी माछा, भ्यागुतो आकारको माछा र स्थानीय माछा गरेर तीन प्रकारका पाइन्छन्। यी सबै असला माछा अन्तर्गत पर्छन्। धामी माछोलाई अभिभावक माछो पनि भनिने उनले सुनाए। तिलाको असला माछाको माग बजारमा अत्यधिक छ। जुम्ला बजार, नाग्मा, नराकाेट र गाेठिज्युला बजारमा माछाको माग बढ्दो छ।

जुम्लाकाे तिला र जवा नदीमा पाइने भनेको असला माछा नै हो। तर‍, पर्याप्त माछा पाइन छाडेका छन्। पछिल्लो समय करेन्ट र विषादी प्रयोगले माछा मार्ने क्रम बढेपछि यस्तो समस्या आएको सरोकारवाला बताउँछन्। करेन्ट र विषादीका कारण माछाका भुरासमेत नष्ट हुन थालेको उनीहरूको भनाइ छ।

'विगतका वर्षमा स-साना खोलामा जताततै माछा देखिन्थे। हिजोआज आकलझुकल मात्रामा मात्रै भेटिन्छन्,' चन्दननाथ -८ जीवन बाेहाेराले भने, '२५ वर्षकाे उमेरमै घर नजिकैको खोलामा माछा संकलन गरी गुजारा चलाउँथेँ। पहिले एक घण्टामा पाँचदेखि ७ केजी माछा सजिलै मार्न सक्थेँ।'

एक वर्षअघि ८ सयदेखि १ हजार रुपैयाँमा किनबेच हुने स्थानीय माछाको मूल्य अहिले खलंगामा प्रतिकेजी १ हजार दुई सय रुपैयाँसम्म पुग्छ। नदीमा पानीको बहाव घट्नु, करेन्ट प्रयोग, विषादी प्रयोगले दिन प्रतिदिन माछाको संख्या घट्दै गएको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापा बताउँछन्। उनले भने, 'असला माछा पहिले जिल्ला बाहिर निर्यात गरिन्थ्यो, अहिले त, देखिन छाडे, निकै अभाव छ।नदीमा जथाभावी डोजर चलिरहेका छन्। माछा मार्न जाल खेल्ने,  झरौला हाल्ने र बल्छी खेल्ने इतिहास मेटिदै गइरहेको छ।'

प्रकाशित: १३ माघ २०८१ १३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App