जिल्ला विपद् व्यवस्थापन समिति जुम्लाको आयोजनामा मंगलबार जुम्लास्थित नेपाली सेनाको मैदान टुडिखेलमा आगलागीबाट बच्ने उपायबारे कृत्रिम घटना अभ्यास गरिएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी र स्वास्थ्यकर्मीको सहभागितामा उक्त आगलागी कृत्रिम घटना अभ्यास गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा जुम्लाका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले बताए। उनले आगलागीबाट बच्न सचेतनाको अपरिहार्य देखिएको बताउँदै विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षति कम गर्न यसप्रकारका अभ्यास आवश्यक रहेको दाबी गरे । प्रजिअ शाहीले कृत्रिम घटना अभ्यासले उद्धारकर्मीहरूको क्षमता वृद्धि हुने र भएका कमीकमजोरीलाई सुधार गर्न सकिने बताए ।
जिल्लास्थित सुरक्षा निकाय, चन्दननाथ नगरपालिका, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा जुम्लाको सक्रियतामा जिल्लाभर कृत्रिम घटना अभ्यास भइरहेका छन्। कृत्रिम अभ्यासमा नेपाली सेनाको मेडिकल टिम र नेपाल रेडक्रस सोसाइटी घटनाको जोखिमबाट घाइते भएकाहरूलाई प्राथमिक उपचार सेवा प्रदान गरी थप उपचारका लागि अस्पताल पुर्याएका थिए ।
सुख्खा समय सुरु भएसँगै जुम्लामा आगजनीको त्रास हुने गरेको छ। प्रदर्शनीमा ग्यासबाट लाग्ने आगो नियन्त्रण, घर तथा निजी आवासमा हुने आगलागी नियन्त्रण, वनजंगल तथा घाँसेमैदानमा हुने आगो नियन्त्रण र शरीरमा लागेको आगो नियन्त्रण कसरी गर्ने भन्ने विषयमा नमुना प्रदर्शनी गरिएको थियो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले आगो निभाउन गर्नुपर्ने काम प्रदर्शनीका माध्यमबाट देखाएका थिए ।
आगो नियन्त्रणबारेमा नेपाली सेना, ग्यासबाट आगो लाग्दा कसरी निभाउने भन्ने विषयमा सशस्त्र प्रहरी र वनजंगलमा आगो लाग्दा नियन्त्रण गर्ने बारेमा नेपाल प्रहरी नमुना देखाएका थिए । आगो लाग्दा आत्तिन नहुने र घरबाहिर निस्कने तरिकादेखि घाइतेको उद्धारसम्मका अभ्यास गरिएको थियो।
जुम्लामा गत वर्ष १६ वटा आगलागीका घटना भएका छन्। चालु आर्थिक वर्षमा पनि अहिलेसम्म ४ वटा आगलागीका घटना भइसकेको जुम्ला प्रहरीले जनाएको छ ।
प्रकाशित: ८ माघ २०८१ १९:१८ मंगलबार