काठमाडौं उपत्यका विकास प्राधिकरणले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन सुरू गरेको छ।
आइतबार प्राधिकरणको टोलीले काठमाडौं महानगरपालिका-७, चाबहिलस्थित मालपोत कार्यालय नजिकका अवैध भवनहरू भत्काउन थालेका हो। सरकारी जग्गा मिचेर निर्माण गरिएका ती संरचना हटाउनुपर्ने बाध्यता रहेको प्राधिकरणको भनाइ छ।
भवन भत्काउने क्रममा केही समयका लागि स्थानीयहरूले अवरोध पुर्याएका थिए।
प्राधिकरणका अनुसार मापदण्डविपरीतका संरचना तथा सार्वजनिक जग्गामा निर्माण गरिएका भवनहरू हटाउने कार्य योजनाअनुसार सुरू गरिएको हो।
धोबिखोला र वागमती नदी किनारका करिब ५ सय रोपनी सार्वजनिक जग्गा अतिक्रमणमा परेको बताइएको छ। यी जग्गा पुनः सार्वजनिक उपयोगका लागि खाली गराउने अभियानमा प्राधिकरण सक्रिय रहेको छ।
प्रकाशित: ६ माघ २०८१ १६:३७ आइतबार