२ माघ २०८१ बुधबार
image/svg+xml
समाज

फेब्रुअरीसम्म पनि नटिक्ने यो ‘नयाँ वर्ष संकल्प’

न्युयोर्कको ब्रुकलिनस्थित एउटा जिमखानामा पछिल्लो समय भिडभाड बढेको छ। भिडभाडमा अधिकांश अनुहार नयाँ छन्। भिड यति कि नियमित ग्राहक हेसी ब्रोडीलाई अहिले नुहाउन पनि लाइन लाग्नुपर्ने भएको छ। सफ्टवेयर इन्जिनियर ब्रोडीको मनपर्ने ट्रेडमिलमा पनि आफू आउनुअघि अरूले नै ओगटिसकेका छन्। यो दृश्य देख्दा उनलाई दिक्क लाग्छ।

‘हेर भाइ,’ उनले वाल स्ट्रिट जर्नल पत्रिकासँग दिक्क मान्दै भनेका छन्, ‘तिम्रो नयाँ वर्षको रिजोलुसनलाई म इज्जत गर्छु। तिमीले वर्षभरिका लागि आफ्नो ज्यान बनाउने र स्वस्थ हुने संकल्प गरेका छौ। यो राम्रो कुरा पनि हो तर तिमी फेब्रुअरी महिनामा पनि देखापर्‍यौ भने म तिमीलाई पनि इज्जत गरुँला। नत्र अहिलेलाई तिम्रो त्यो संकल्प भर्सेलामा जाकियोस् भन्न चाहन्छु।’

नयाँ वर्ष लाग्नेबित्तिकै अमेरिकामा जिम जाने युवाहरूको संख्या अचाक्ली बढ्ने गरेको एउटा अध्ययनले देखाएको छ। नयाँ वर्षमा स्त्री पुरुषको पहिलो प्राथमिकता स्वास्थ्य राम्रो बनाउने, जिउ सधाउने र व्यायामशाला जाने नै हुने गरेको छ। हेल्थ एन्ड फिटनेस एसोसिएसन (एचएफए) अमेरिकाले गरेको पछिल्लो सर्भेले नयाँ वर्षमा सबैभन्दा बढी ‘संकल्प’  गरिएको विषय नै नियमित शारीरिक अभ्यास गर्ने र व्यायामशाला जाने थियो।

अमेरिकाको सबैभन्दा ठुलो चेन २४ आवर फिटनेस नामक व्यायामशालामा यस वर्षको जनवरी आधा नपुग्दै उसले आकलन गरेको भन्दा धेरै ग्राहक आइपुगेका छन्। व्यायामशालाहरूका लागि वर्षभरिको ग्राहक बनाउने यो राम्रो अवसर हो। यसबाट निकै राम्रो आम्दानी हुन्छ। तर जो नियमित रूपमा व्यायामशाला जान्छन्, भिडभाडले दिक्क मान्ने गरेका छन्।

३० वर्षीया मार्लेना रोड्रिगिज भन्छिन्, ‘जनवरीमा अवस्था कस्तोसम्म हुन्छ भने मैले मेरो व्यायामशालामा पार्किङ फेला पारें भने भाग्यमानी ठान्ने गरेकी छु। यहाँ लिइने क्लास नै पहिल्यै भरिएको हुन्छ। मसिनमा दौडिनुपर्‍यो भने अघिल्लोको काम कुन बेला सकिन्छ भनेर कुर्नुपर्ने हुन्छ।

उनी भन्छिन्, ‘जब नयाँ वर्ष सुरु हुन्छ, सबैलाई आफ्नो जिउ बनाउन हतारो हुन्छ। जब दोस्रो महिना लाग्छ, अचानक जाँगर मर्न थाल्छ।’

अर्की व्यायामप्रेमी ३० वर्षीया हेली क्यारोनिया भन्छिन्, ‘जनवरी लागेपछि बिहान व्यायाम गर्न पाइएन भनेर म व्यायामशाला राति पुगेकी थिएँ तर राति पनि हालत उही देखेँ। नयाँ नयाँ अनुहार पुरै पसिनाले लतपत थिए।’

नयाँको चुरीफुरी देखिनसहने अर्की एक व्यायामप्रेमी ४३ वर्षीय रायन स्कट एक्समा लेख्छन्, ‘हेर व्यायामप्रेमी नवयुवा, सारा ट्रेडमिल खुला छ र जब तिमी मछेउ आउँछौ भने म तिमीलाई कसरी थकाउने हो, पूरापूर जान्दछु। मेरो नक्कल नगर्नू।’

शिक्षण पेसाका स्कटको नजरमा नयाँ अनुहारका युवा जब व्यायामशाला पुग्छन्, उनीहरू कसरत र अन्य वर्कआउट भन्दा मोबाइलमा बढी व्यस्त हुन्छन्। उनीहरू आफू ट्रेडमिलमा पसिनैपसिना भएको फोटो खिच्न व्यस्त हुन्छन्।

उनी भन्छन्, ‘एक दिन त एक जना महिला पूरै ४० मिनेट फोटो खिचाउन मात्र व्यस्त देखेँ। अर्का एक जना युवाचाहिँ व्यायाम गर्न छाडेर १० मिनेटसम्म उभिएरै टिभी हेरिरहे। टिभीमा कुनै लाइभ खेलकुदको कार्यक्रम चलिरहेको थियो।’

यस्तो अवस्थामा सामाजिक सञ्जालका प्रभावशाली केही व्यायामप्रेमी भने व्यायामशालाका केही अनिवार्य नियम लागु गरिनुपर्ने आवाज उठाउन थालेका छन्। जिम पोजिटिभिटीका अभियन्ता जोइ ‘स्वोल’ सेर्गोले एक्समा लेखेका छन्, ‘जसरी सरकार चुस्त रूपले चलाउन डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसिएन्सी (डोज) छ, उसैगरी डिपार्टमेन्ट अफ जिम एटीक्वेट अर्थात व्यायामशाला व्यवहार नियमन गर्ने संस्था आवश्यक छ।’

यसको अगुवाइ गर्न उनले एक्सका मालिक एलन मस्कलाई समेत आग्रह गरेका छन्।

नयाँ वर्षको पहिलो महिनामा आफू नियमित रूपमा व्यायामशाला जाने भनेरै ४८ वर्षीया जेमी पित्रिजाले सदस्यता लिएकी थिइन्।

उनी भन्छिन्, ‘मैले त्यो सदस्यता विरलै प्रयोग गरेकी छु। अरूले जस्तै मैले पनि वर्षको अन्य बेला सदस्य बनिनँ। पछिल्लो समय नयाँ व्यापार चम्किएको छ, प्रतिज्ञाको व्यापार। म आफैं पनि त्यसमा रमाइरहेकी छु।’

प्रकाशित: २ माघ २०८१ ०९:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App