२ वैशाख २०८२ मंगलबार
image/svg+xml १३:३५ अपराह्न
समाज

थारू गाउँमा माघीको गुलजार !

काँशी लहैनु, अयोध्या लहैनु, 

भरकोरा लेहनु उठाई 

सखियै हो भरकोरा लेहनु उठाई... 

यही र यस्तै गीतको गुञ्जनमा अहिले सुदूरपश्चिमका दुई तराई जिल्ला कैलाली र कञ्चनपुर रमाई रहेका छन्। थारु समुदायको माघी पर्व (माघ १ गते) आउनै लाग्दा सोमबार अर्थात् पुस २९ गतेका दिन बिहानैदेखि गाउँबस्ती गुञ्जयमान बनेका छन्।

थारु पहिरन लगाएका युवा युवती टोलटोलमा माघी मिलन तथा माघी सांस्कृतिक कार्यक्रममा व्यस्त छन् भने गाउँघरमा ‘जीता’ अर्थात् बंगुर र सुँगुरको मासु किन्ने र पकाउने क्रम तीव्र छ। यही परिवेशमा अहिले कैलाली र कञ्चनपुरका थारु गाउँ माघीको रौनकले गुलजार बनेका छन्।

गाउँका टोल–टोलमा मन्द्रा अर्थात् मादलको विभिन्न ताल बजिरहेका छन्। महिलाका सुरिला स्वरमा मघौटा, धमार, झुम्रा गीतसँगैको नाचमा झुमिरहेको छ थारु बस्ती।

थारुहरू माघ महिनामा भलमन्सा र गुरुवाको चयनका लागि पनि तयारी गर्ने हुँदा गाउँगाउँमा नयाँ गुरुवा र भलमन्सा चुन्नका लागि चहलपहल भइरहेको छ। अन्य समुदायले माघीका रूपमा मनाउने माघे सङ्क्रान्तिलाई थारु समुदायले भने नयाँ वर्षका रूपमा मनाउने गर्दछन्।

माघीमा थारु समुदायले विशेषगरी बङ्गुरको मासु, माछा, घोंगी, गङ्गटालगायत खानाका परिकार खाने चलन रहिआएको छ।

गाउँ नजिकैको मैदानमा गीत गुन्जिरहेको कानले सुनिरहेकी धनगढी–६, जाली गाउँकी ८३ वर्षिया परदेशनी चौधरी भने विगत सम्झँदै भन्छिन्,‘कार्यक्रममा जान तागत छैन, मन भने दिनभरि उतै डुलिरहेको छ।’

आफू युवावस्थामा रहँदाको क्षण सम्झँदै उनले भनिन्, ‘माघी आउँदा अर्कै खुसी हुन्थ्यो, अहिले पनि त्यो खुसी मनभित्रै छ, तर जाने तागत छैन।’ गाउँमा माघीको रौनकले छुट्टै आनन्द दिने गरेको उनी बताउँछिन्। ‘माघी पर्व हाम्रा लागि नयाँ वर्ष हो,’ उनले भनिन्, ‘माघीका दिन नुहाएर ठुलाबडासँग आशीर्वाद लिने हाम्रो संस्कार हो।’

यही संस्कार नै थारु समुदायमा वर्षभरिको मनमुटाब मेटाउने माध्यम पनि रहेको जाली गाउँकै ज्येष्ठ नागरिक तथा भगत तेजराम चौधरी बताउँछन्। 

यसरी मनाउँछन् माघी

पुसको अन्तिम दिनलाई थारु समुदायले पुरानो वर्षको अन्तिम दिनका रूपमा मनाउने गर्छन्। पुरानो वर्षको विदाईका रुपमा पुसको अन्तिम दिन (जीता) बङ्गुर मार्ने प्रचलन छ।

‘जीता’ को प्रसादसँगै रातभर जाग्राम बस्दै मघौटा धमार, झुमा नाच नाच्ने गर्दछन्। यस्तै माघे सङ्क्रान्तिका दिन विशेषगरी थारू समुदायमा बिहानै उठेर नजिकैको नदी, तलाउमा गई नुहाएर आफूभन्दा ठुलाबाट आशीर्वाद लिने गर्छन्।

विशेष स्नानपछि विवाहित छोरीचेली निसराउ (चामल, नुन, तेल, बेसारलगायतका खाद्यान्नबाट तयार पारिएको परिकार) दिने परम्परा छ। जसलाई थारु भाषामा ‘उपहार’ भनिन्छ।

थारू समुदायका विभिन्न लोकसंस्कृति झल्किने एकल तथा सामूहिक नाचगान गरी रमाइलो गर्ने गरिन्छ। माघ महिनाभर गाउँमा नयाँ भलमन्सा तथा चौकिदार छान्ने प्रचलन रहेको छ।

प्रकाशित: २९ पुस २०८१ २१:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App