२६ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

द्वन्द्वकालका ४ सिलिन्डर बम फेला, सेनाद्वारा डिस्पोज

पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैंचामा बिहीबार बिहान द्वन्द्वकालका चारवटा सिलिन्डर बम फेला परेका छन्। नेपाली सेनाको बम डिस्पोजल टोलीले ती सबै बम निस्क्रिय बनाएको छ।

सुन्दरहरैंचा नगरपालिका–७ स्थित मालती पुल नजिक सडक विस्तारका क्रममा जमिनमुनि गाडिएका ती बमहरू फेला परेका हुन्। मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार बिहीबार बिहान ८ बजेतिर बमको सूचना प्राप्त भएपछि प्रहरी र सेनाको टोलीले खोजी गर्दा चारवटा सिलिन्डर बम फेला परेका थिए।

चारवटा सिलिन्डरमध्ये दुईवटा विस्फोटक पदार्थले भरिएका थिए भने बाँकी दुईवटा ग्यास सिलिन्डरका रूपमा प्रयोग गरिएका थिए। एसपी चिमरियाले बताएअनुसार, एउटा बम विस्फोट हुँदा अर्को सिलिन्डरसम्म प्रभाव पुग्ने गरी ती संरचना तयार गरिएको थियो।

उनले भने, ‘एलपी ग्यास सिलिन्डरलाई विस्फोटक सिलिन्डरको नजिक राख्नुको उद्देश्य एकै पटक ठूलो आवाज र क्षति पुर्‍याउने हुनसक्छ। नेपाली सेनाको टोलीले ती सबै बमलाई सुरक्षित रूपमा निस्क्रिय बनाएको छ।’

बम निस्क्रिय भएपछि पूर्वपश्चिम राजमार्ग (एसियन हाइवे) सुचारु भएको छ। उक्त क्षेत्रमा अहिले सडक विस्तारको काम भइरहेको छ। माटो खन्ने क्रममा मालती पुल नजिक बम भेटिएको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार द्वन्द्वकालमा पुल नजिकको सडक किनारामा खाल्डो खनेर ती बम गाडिएका हुन्। एसपी चिमरियाले भने, ‘त्यतिबेला ठूला विस्फोट गराउने उद्देश्यले ग्यास सिलिन्डर र विस्फोटक पदार्थ गाडिएको देखिन्छ।’

स्थानीय प्रशासनले राजमार्ग विस्तारका क्रममा यस्ता खतरनाक वस्तुहरू भेटिन सक्ने सम्भावनालाई ध्यानमा राखेर सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित: २५ पुस २०८१ २०:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App