३ माघ २०८१ बिहीबार
image/svg+xml
समाज

घट्दो जन्मदरको चिन्ता

यस्ताे पनि!

घट्दो जन्मदरबाट चिन्तित दुई विकसित मुलुक जापान र इटालीले जन्मदर बढाउन विभिन्न प्रयास गरिरहेका छन्। इटालीले कृत्रिम गर्भाधानलाई बढावा दिन कमदरमा उपचारको प्रस्ताव राखिरहेको छ भने जापानले राष्ट्रिय एप बनाएको छ।

यो एपमार्फत जुनसुकै उमेरका व्यक्तिहरूले डेटिङ, विवाह, जागीर र घरबीचको राम्रो सन्तुलन तथा कम खर्च हुने शिशु स्वास्थ्य तथा हेरचाह केन्द्रसँगै लैंगिक सन्तुलनमा काम गर्न सरकारले सघाउने भएको छ।

हुन पनि जापानमा सन् २०२३ मा निकै कम शिशु जन्मिएका थिए। दुई लाख २३ हजार दुई सय ७७ शिशु जन्मिनु इतिहासकै कम शिशुको कीर्तिमान थियो। त्यो बेला जन्मदर जम्मा १.२० रहेको थियो।

जापान सरकारले सन् २०४७ देखि शिशुको जन्मदरको तथ्यांक राख्ने गरेको छ। सो तथ्यांक राखेयता सबैभन्दा कम २०२३ मा जन्मिएका थिए। सो वर्ष जापानमा पहिलो पटक जन्मभन्दा मृत्यु बढी देखिएको थियो। यस हिसाबले वृद्धहरूको मृत्यु हुँदै जाने र शिशुको जन्मदर घट्दै जाने अवस्था आए अबको ६ सय ९५ वर्षमा १४ वर्षमुनिको जापानी शिशु जम्मा एउटा रहने तथ्यांक योहोकु विश्वविद्यालयका प्राध्यापक हिरोशी योशिदाले निकालेका छन्। सन् २०१२ देखि योशिदाले यस्तो तथ्यांक राख्दै जापान कुनै समय शिशुविहीन हुनसक्ने बताएका हुन्।

जापानमा लामो समयदेखि आर्थिक सुस्तता छाएका कारणले अभिभावकहरू सन्तान जन्माउन अनिच्छुक देखिएका थिए। यो क्रम बढ्दै जाँदा जन्मदर सुस्ताउन थालेको हो। जापानले डेटिङ शुरु गरेको भए पनि त्यसमा कुनै पनि स्त्री÷पुरुषले चासो देखाएका छैनन्।

एकल रहनैमा खुशी मानिरहेकाहरूलाई जापान सरकारले डेटिङ एपमा सामेल हुन दबाब दिन थालेको छ। त्यसो त नेपाल लगायत संसारका विभिन्न मुलुकबाट कामदारहरू भित्र्याइरहेको जापानले यसलाई आफ्नो समाधान मानिरहेको छैन। हाल ३० लाख कामदारहरू संसारभरबाट जापान पुगेका छन्। यो जापानी जनसंख्याको २.६६ प्रतिशत रहेको जनाइएको छ।

उता इटाली सरकारले जारी गरेको तथ्यांकअनुसार वार्षिक ८० हजार दम्पतिले सन्तान जन्माउने इच्छा व्यक्त गरेको देखिएपछि प्रधानमन्त्री जर्जिया मेलोनीले महँगो प्रविधिमा इच्छा राख्ने दम्पतिका लागि सित्तैमा त्यस्तो सुविधा दिने प्रस्ताव राखेकी छन्।

गर्भाधानको विविध प्रक्रियामध्ये लोकप्रिय एउटा माध्यम आइभीएफ पनि हो। यसका लागि कम्तीमा  पाँच हजार यूरोबाट उपचार शुरु हुन्छ। यस्तो महँगो उपचार विधिका कारण इच्छुक दम्पतिले सन्तान जन्माउन मनै मार्न थालेपछि सित्तैमा यो विधि उपलब्ध गराउने प्रस्ताव राखिएको हो।

सन् २०२२ मा आइभीएफ विधिबाट १६ हजार सात सय १८ शिशु जन्मिएका थिए। यो संख्या पूरै जन्मिएका शिशुको ४.२ प्रतिशत हो। सन् २००८ मा यहाँ शिशु जन्मदर निकै सुस्त हुन पुगेको थियो। सरकारले परिवारलाई सन्तान जन्माउन प्रेरित गर्ने नीतिका लागि आवश्यक  १६ अर्ब यूरो छुट्याएयता कृत्रिम गर्भाधानप्रति आकर्षण बढ्न थालेको हो। सरकारको सो सहयोगका कारण एक सय यूरोदेखि तीन सय यूरोमै ४६ वर्षसम्मका महिलाहरूले सन्तान जन्माउने सुविधा पाउने बताइएको छ।

प्रकाशित: २५ पुस २०८१ ०९:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App