२० पुस २०८१ शनिबार
image/svg+xml
समाज

पर्यटकको पखाईमा पहेँलपुर तोरीबारी (तस्बिरसहित)

म्याग्दीको बेनी नगरपालिका–१ नम्बर वडामा पर्ने रत्नेचौरमा यसबर्षको पहेँलपुर तोरीबारी। तस्बिर: हरिकृष्ण गौतम/नागरिक

म्याग्दीको बेनी नगरपालिका–१ स्थित रत्नेचौर अहिले पहेँलपुर तोरीबारीले झकिझकाउ बनेको छ। उत्तरतर्फ मनोरम धौलागिरि हिमशृङ्खलाको दृश्य, हरियाली फाँट र तोरी फुलेर बनेको पहेँलपुर वातावरणले यस क्षेत्रको प्राकृतिक सुन्दरतालाई थप निखार दिएको छ।

रत्नेचौरबाट संसारको सातौं अग्लो धौलागिरि हिमाल (८,१६७ मिटर) स्पष्ट देखिन्छ। यस्तै, समथर भू–भागमा फुलेका तोरीबारीसँगै बेनी–बागलुङ सडकखण्डको कालोपत्रे गरिएको चिल्लो सडकले थप आकर्षण प्रदान गरेको छ।

तोरीबारीमा मौरी र भमराहरू रस चुस्दै गरेका रमाइला दृश्यले गाउँलाई जिवन्त बनाएको छ। तोरीको फूलमा बसेर भमरा र मौरीले रस चुसिरहेका छन्। बारीको छेउकुना तथा सडकको दायाँ बायाँ मानिसहरु भुलिरहेका छन्।

‘मध्यपुसको चिसो मौसममा बारीभरि फुलेको तोरीले थकान भुलाइदिन्छ’, बेनीबजारबाट घुम्न आएका किरण कार्की भन्छन् ‘पर्यटकको चासो भएपनि समुदायलाई स्थानीय सरकारले अनुदान नदिँदा अहिले कम तोरी देखिएको छ।’

रत्नेचौर–ज्यामरुककोट पुग्ने सडकखण्डको १८ सय मिटर सडक कालोपत्रे र ढलान गरिए पछिको अवस्थामा तोरीबारी आसपास झनै आकर्षक देखिएको छ। अहिले तोरी फुलेर पहेँलपुर बनेपछि बिदाको समयमा फोटो, भिडियो खिच्ने र रमाउने युवायुवतीहरूको भीड बढ्दै गएको स्थानीय युवा सुजन थापाले बताए।

तोरी फूलेपछि स–साना बालबालिकादेखि वृद्धवृद्धा सम्म तोरी बारीमा रमाउने गर्दछन्। तोरी फूलेको कारण कालोपत्रे गरेको चिल्लो सडक समेत ‘भाइरल रोड’ बनेको छ।

वरिपरिको हरियाली तथा मुसुक्क मुस्कुराइरहेको धौलागिरि हिमालको दृश्यका साथै समथर फाँटको पहेँलपुर तोरीले पर्यटन प्रवर्द्धन गर्नुका साथै स्थानीयको व्यापारमा पनि सघाएको निवर्तमान वडा अध्यक्ष टेकबहादुर थापाले बताए।

तोरी उत्पादन क्षेत्र बनाएर राष्ट्रिय स्तरमै पर्यटकीय हिसाबले पनि अहिलेको मौसमको बेलामा प्रवर्द्धन गर्न सकिने हुँदा लोकल तोरीको पनि प्रवर्द्धन हुने र व्यापक रुपमा पर्यटकहरूलाई पनि भित्र्याउन सकिने थापाको भनाई छ।

रत्नेचौरमा पहिलेदेखि नै तोरी उत्पादन हुँदै आएको थियो। मौरीपालन तथा मह उत्पादनका लागि उपयुक्त मानिने तोरीको सागलाई तरकारीको रुपमा प्रयोग गर्ने गरिन्छ। ग्रामीण भेगमा फुलेको तोरीले गाउँको सुन्दरतामा निखार ल्याउने गरेको छ।

मिलमा पिँधेर बनाइने तोरीको तेल तथा त्यसबाट निस्कने पिनालाई मानिसको कपालमा पर्ने चायाँ हटाउनका लागि पिनाले नुहाउने गरिन्छ। यस क्षेत्रका स्थानीयले तोरीबारीमा रमाउने आउनेको संख्या धेरै भएपनि क्षति हुन थालेपछि यस पटक कम भएको र  अनुदानमा समेत स्थानीय सरकारबाट कुनै पहल नभएको गुनासो गरेका छन्।

नेपालमा पाइने दुई रङको तोरीमध्ये म्याग्दीका गाउँमा पहेँलो रङको तोरी खेती हुने गरेको छ। पहेँलो तोरीमा २५ देखि ३० प्रतिशतसम्म तेलको मात्रा हुने कृषि प्राविधिकहरू बताउँछन्। तेलहन बालीमा पर्ने तोरी ३ महिनामा पाक्दछ। समथर भू–भाग रहेको रत्नेचौरमा अहिलेको तुलनामा दोब्बर तोरी उत्पादन गर्न सकिने किसानको अनुभव छ।

सबै तस्बिर: हरिकृष्ण गौतम/नागरिक

प्रकाशित: १७ पुस २०८१ १७:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App