दुई दिनदेखि लगातार चिसो सिरेटो चलेर चारैतिर बाक्लो हुस्सुले डम्म ढाकेपछि मधेसका जिल्लामा जनजीवन प्रभावित भएको छ। शीतलहरसँगै बढेको चिसोले बजार तथा कार्यालयहरूमा हुने चहलपहलमा पनि कमी आएको छ। शीतलहर र हुस्सुले भिजिबिलिटी कम भएपछि बिहान सडकमा सवारीसाधन चलाउन कठिन भएको छ।
शीतलहरले मधेस प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्साको जनजीवन प्रभावित भएको हो।
शीतलहरसँगै हुस्सुले नजिकै पनि देख्न नसकिने भएपछि गाडी चलाउन कठिन भएको सवारीचालक बताउँछन्। लहानको तापक्रम मंगलबार बिहान ९ डिग्री सेन्टिग्रेड थियो। शीतलहरका कारण लहानलगायत मधेसका बजारमा मानिसको चहलपहल कम हुन थालेको छ। विद्यालय, क्याम्पसमा विद्यार्थीको उपस्थिति घटेको छ भने न्यानो कपडा बिक्रीबाहेक अन्य व्यापार–व्यवसायमा मन्दी आउन थालेको छ।
सर्वसाधारण आगो तापेर चिसो छल्ने प्रयास गरिरहेका देखिन्छन्। मधेसमा पुस पहिलो सातादेखि सुरु हुने शीतलहर माघ अन्तिमसम्म रहन्छ। यस अवधिमा मधेसी समाजको जनजीवन कष्टकर हुन्छ। मधेसमा चिसोले खासगरी विपन्न परिवारका मानिस न्यानो लुगा अभावमा प्रताडित हुन्छन्। यस वर्ष पनि शीतलहरबाट मुसहर, चमार, डोमलगायत विपन्न वर्ग बढी पिरोलिएको देखिन्छ।
बिहानै खुल्ने पसल र बजार पनि ढिलो खुल्न थालेका छन्। मौसम परिवर्तनसँगै चल्न थालेको शीतलहरले व्यवसायमा समेत असर पारेको व्यापारी बताउँछन्। चिसो बढेपछि ज्याकेट र न्यानो कपडाबाहेक अन्य सामानको व्यापारमा कमी आएको उनलीहरूले बताए। चिसोले रुघाखोकी, डायरिया, दम, ज्वरोलगायत समस्याले पीडित हुनेको संख्या पनि बढेको छ। बालबालिका र वृद्धवृद्धामा चिसोका कारण स्वास्थ्य समस्या बढी देखिएको चिकित्सकहरू बताउँछन्।
जाडो बढ्दै गएपछि हाडजोर्नी, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामी बढेको रामाकुमार सारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पालले जनाएको छ।
मधेसमा शीतलहर नौलो होइन। प्रत्येक वर्ष मधेस शीतलहरले चिसिन्छ। शीतलहरका कारण विपन्नहरूले कठ्याङ्ग्रिएर ज्यान गुमाउँदै आएका छन्। यसतर्फ स्थानीय सरकारले कुनै चािो नदिएको स्थानीयको आरोप छ। शीतलहरबाट हुने जोखिमबाट बच्ने उपाय नगर्ने स्थानीय सरकार र सहयोगी हातहरू मान्छेको मृत्यु भएपछि मात्र आउने गरेको उनीहरूको भनाइ छ।
विपन्न परिवारले शीतलहरबाट जोगिन चाहिने न्यानो लुगा र दाउराका लागि पहिला केन्द्र सरकार र सहयोगीको मुख ताक्नुपर्ने बाध्यता थियो। आठ वर्ष भयो गाउँमा सिंहदरबार आयो भनिएको छ। शीतलहरले कष्टकर जीवन बाँच्न बाध्य मधेसका विपन्नहरू स्थानीय सरकारसँग हारगुहार गरिरहेका छन्। तर राहतका लागि सुनुवाइ गर्नुपर्ने निकायको तदारुकता र आवश्यक पूर्वतयारी भने देखिएको छैन।
किन चल्छ मधेसमा शीतलहर?
जाडोयाममा पहाडी भेगमा कुहिरो लाग्छ, चिसो हुन्छ र सिरेटो पनि चल्छ। हिमाली र उच्च पहाडी भेगमा हिमपात हुन्छ। तर मधेसमा बाक्लो कुहिरो लाग्नुका साथै शीतलहर पनि चल्ने गरेको छ। नेपालसँग सीमा जोडिएको भारतका उत्तर प्रदेश र बिहार राज्यमा पनि त्यस्तै हुन्छ।
त्यसो हुनुमा मधेस क्षेत्रको भौगोलिक अवस्थिति र ‘रेडिएशनल कुलिङ’ भन्ने प्रक्रियाबीचको सम्बन्ध रहेको विज्ञहरू बताउँछन्। सूर्यको प्रकाशले दिनभरि जमिन तात्ने अनि फेरि त्यो वायुमण्डलमा फर्किने प्रक्रिया पहाड र समथर भूभागमा फरक हुने गर्छ। त्यस कारणले गर्दा हिमाल, पहाड र मधेसबीच उक्त मौसमी भिन्नता देखिने गरेको विज्ञहरू बताउँछन्।
विज्ञका अनुसार शीतलहर चल्नलाई एकरूपको जमिन चाहिन्छ। जुन मधेसम छ। जसकारण मधेस प्रत्येक वर्ष शीतलहरको चपेटामा पर्दै आएको छ।
प्रकाशित: १७ पुस २०८१ १४:०६ बुधबार