२२ पुस २०८१ सोमबार
image/svg+xml
शिक्षा

कक्षा ८ को परीक्षा एसइई मोडलमा

पोखरामा कक्षा ८ को परीक्षा एसइई मोडलमा लिइने भएको छ। पोखरा महानगरपालिका शिक्षा महाशाखाले शुक्रबार सरोकारवालासँग छलफल गरेर कक्षा ८ को परीक्षा एसइई मोडलमा लिने सहमति जुटाएको हो। यसअघि महानगर परीक्षा समितिको दुई साताअघि बसेको बैठकले कक्षा ८ को परीक्षा एसइई मोडलमा लिने निर्णय गरेको थियो।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईंको संयोजकत्वमा रहेको समितिले गरेको सो निर्णयलाई शुक्रबार बसेको सरोकारवालाहरूको बैठकले अनुमोदन गरेको पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको उपस्थितिमा शुक्रबार बसेको बैठकमा संस्थागत विद्यालय सम्बद्ध संस्थाहरू प्याब्सन, एन प्याब्सन र युनिप्स तथा सामुदायिक विद्यालयहरूका प्रतिनिधिहरूको सहभागिता थियो। निर्णयमा संस्थागत विद्यालयसम्बद्ध संस्थाहरूका प्रतिनिधिहरूले निर्णयमा असन्तुष्टि जनाएका थिए। उनीहरूले साना विद्यार्थीलाई परीक्षा केन्द्र तोकेर विभिन्न विद्यालय चहार्न लगाउन नहुने बताएका थिए। बरु शैक्षिक सुधारका अन्य उपायहरू अपनाउनुपर्नेमा उनीहरूले जोड दिएका थिए। निर्णयअनुसार अब पोखरा महानगरभित्रका विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि परीक्षा केन्द्र तोकिनेछन्।

शिक्षा महाशाखा प्रमुख आचार्यका अनुसार सामुदायिक र संस्थागत गरेर पोखरामा करिब दुई सय ५० विद्यालय छन्। ती सबै विद्यालयका विद्यार्थीका लागि पोखरामा ३० देखि ३५ वटा केन्द्र तोक्ने सहमति भएको उनले जानकारी दिए। परीक्षामा विद्यार्थीको भौतिक दुरी पनि कायम गरिने उनले बताए। ‘परीक्षा केन्द्र तोक्नुका साथै सिट प्लानिङ पनि गरिन्छ,’ उनले भने, ‘परीक्षा एसइईकै मोडलमा हुन्छ।’

परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनुपर्छ भन्ने सहमति भएको उनले जानकारी दिए। उनले भने, ‘विद्यार्थीले जानेको बिनाहिच्किचाहट लेख्न पाउनुपर्छ अनि मर्यादित र व्यवस्थित पनि गर्नुपर्छ भन्ने हाम्रो निष्कर्ष हो।’ तर त्यसका नाममा विद्यार्थीलाई हतोत्साही बनाउने भन्ने नभएको उनको प्रस्टोक्ति छ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कक्षा ८ को परीक्षा एसइई जत्तिकै कडा बनाइने बताए। शुक्रबारको छलफलमा सहभागी उनले परीक्षा प्रणालीको माध्यमबाट शिक्षाको गुणस्तर सुधार्ने आफूहरूको उद्देश्य रहेको बताए। उनले भने, ‘गत वर्षको एसइई परीक्षाको नतिजा कमजोर आयो। यो कक्षा ९ सम्मको परीक्षा खुकुलो बनाउँदाको परिणाम हो भन्ने हाम्रो बुझाइ छ। त्यसैले तल्लो स्तरबाटै परीक्षा प्रणाली सुधारेर लैजाँदा एसइईको परीक्षासँगै शिक्षाको गुणस्तर सुधारिन्छ भन्ने लागेर नै यस्तो निर्णय गरेका हौं।’ तर प्याब्सन कास्कीका अध्यक्ष मथुराप्रसाद पौडेलले आफूहरूको असहमतिका बाबजुद निर्णय भएको बताए। ‘हामी मात्र होइन, एनप्याब्सन र युनिप्सको पनि असहमति थियो,’ उनले भने, ‘तर पहिल्यै निर्णय भइसकेको रहेछ। हामीलाई केवल साक्षी मात्र बनाउन बोलाइएको रहेछ। हाम्रो असहमतिका बाबजुद निर्णय भयो।’

साना विद्यार्थीलाई परीक्षा केन्द्र धाउने बनाउँदा बाल मनोविज्ञानमा असर पर्ने पौडेलले बताए। ‘एसइईलाई त फलामे बार नबनाई प्लस टुमा लगेर बोर्ड परीक्षा गर्न थालिएको छ,’ उनले भने, ‘अहिले पोखरामा चाहिँ कक्षा ८ मै त्यही पुरानै अभ्यास गराउने कुरा नसुहाउने खालको भयो।’

 उनले आफ्ना विद्यार्थी जहाँ गए पनि परीक्षा दिन तयार भए पनि त्यस्तो गर्दा बाल मनोविज्ञानमा नकारात्मक असर पर्ने भएकाले मात्र विरोध गर्नुपरेको प्रस्टोक्ति दिए। ‘सबै विद्यालयका विद्यालय बस छैनन्,’ उनले भने, ‘ती साना विद्यार्थीलाई कसरी परीक्षा केन्द्र पु¥याउने हो ? अर्कोतर्फ परीक्षा केन्द्र खोज्ने सास्ती पनि हुन्छ।’

एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले बैठकले गरेका निर्णय माने पनि यो निर्णयले विद्यार्थी, अभिभावक र विद्यालयका लागि झन्झटिलो हुने बताए। 

प्रकाशित: २० पुस २०८१ ०९:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App