नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिकाभित्र पर्ने वडा नम्बर ६ र ७ का स्थानीयले बाटोका कारण सास्ती खेप्दै आएका छन्। सिधा बाटो नहुँदा सो क्षेत्रका बासिन्दा घण्टौँ लगाएर पालिका कार्यालय र जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता छ।
सङ्घीयतासँगै प्रदेश निर्माण हुँदा त्रिवेणी क्षेत्रका दुई बाटोलाई गण्डकी प्रदेशमा राखियो। गण्डकी प्रदेशलाई भारतसँग जोड्ने नाकाका रूपमा त्रिवेणी क्षेत्रलाई समेट्दा उक्त क्षेत्रका बासिन्दाले हाल समस्या भोग्दै आएका छन्। त्रिवेणी क्षेत्रका बासिन्दा अहिले सदरमुकाम पुग्न ८० किलोमिटर टाढा पुग्नुपर्छ। पालिका कार्यालय ४० किलोमिटर टाढा छ।
'सरकारले रणनीतिक रूपमा नाकाका लागि त्रिवेणीलाई समेट्यो, तर यहाँका बासिन्दाको दुःख नदेखेजस्तै गरेको छ,' त्रिवेणीका स्थानीय चिरञ्जीवी ढुङ्गानाले भने, 'लुम्बिनी प्रदेशको बाटो हुँदै पालिका कार्यालय घण्टौँ लगाएर पुग्नुपर्ने दुःख छ।'
गण्डकी प्रदेश सरकारले कोरला–त्रिवेणी सडक निर्माणलाई प्रदेश गौरवको योजनामा राख्दै प्राथमिकता दिएको छ। तर यसै खण्डमा पर्ने दुम्किबास–त्रिवेणी सडक निर्माणमा कुनै चासो नदिएको ढुङ्गानाले बताए। दुम्किबास–त्रिवेणी सडक निर्माण नगर्ने हो भने आफूहरूलाई गण्डकी प्रदेशबाट छुट्याएर लुम्बिनीमा राख्नुपर्ने यहाँका बासिन्दाको माग छ।
स्थानीय योगिता सहनीले भने, 'यतिका वर्षसम्म बाटो खुल्ला भन्ने आशामा बित्यो, बाटो खुले पालिका पुग्न र नवलपुरको सदरमुकाम पुग्न सहज हुने थियो, यो दुःख त्रिवेणीवासीले सधैँ भोगिरहन सक्दैनन्।'
त्रिवेणी क्षेत्रका बासिन्दा अहिले बर्दघाट, दाउन्ने हुँदै करिब ४० किलोमिटर पार गरी पालिका कार्यालय आउने गरेका छन्। सदरमुकाम झनै टाढा छ। सदरमुकाममा केही काम लिएर गए दिन बित्ने गरेको सहनीले बताए। 'अहिले कुनै काम लिएर नवलपुरको सदरमुकाम पुग्दा दिन जान्छ, खर्च उस्तै हुन्छ, यताको प्रदेशमा भएको भए परासी एक छिनमा पुगिन्थ्यो,' उनले भने। त्रिवेणीलाई गण्डकी प्रदेशमै राख्ने हो भने दुम्किबास–त्रिवेणी सडक तत्काल खोल्नुपर्ने स्थानीयको माग छ।
त्रिवेणी–दुम्किबास सडक खोल्ने विषय गाउँपालिकाले पटकपटक उठाउने गरेको अध्यक्ष घनश्याम गिरीले बताए। त्रिवेणी क्षेत्रका स्थानीयको सहजता, समग्र पालिका र प्रदेशको आर्थिक विकाससँग त्रिवेणी–दुम्किबास सडक जोडिएकाले यसलाई खुलाउने विषयमा प्रदेश र सङ्घीय सरकार गम्भीर हुनुपर्ने उनको भनाइ छ।
नवलपुरको दुम्किबासबाट बगुवन हुँदै त्रिवेणीसम्म १९ किलोमिटर दूरी पर्छ। बगुवनसम्म यातायातका साधन सञ्चालन हुने गर्छन्। बगुवनबाट त्रिवेणीसम्म १६ किलोमिटर पर्छ। यसमा करिब सात किलोमिटर क्षेत्रमा निकुञ्जले आफ्नो क्षेत्र दाबी गर्दै आएको छ। स्थानीयले भने मध्यवर्ती क्षेत्र पर्ने र पुरानो हुलाकी सडक भएको बताउने गरेका छन्।
दुम्किबास–त्रिवेणी खण्ड २०५९ सालअघि हुलाकी सडकका रूपमा रहेकामा यस खण्डमा २०६३ सालमा सडकको मर्मत गरी यातायात सञ्चालन गरिएको थियो। हुलाकी सडकका रूपमा रहेको यस खण्डलाई गजेन्द्र मोक्ष जनता मार्ग नामकरण गरी २०६३ साल असोजदेखि यातायातका साधन सञ्चालन गरिएका थिए। विसं २०६४ जेठमा निकुञ्जले वन्यजन्तु चरिचरन क्षेत्र भनेर समेटेपछि यातायात सञ्चालनमा रोक लगाइएको स्थानीय बताउँछन्। अहिले उक्त सडक सञ्चालन गर्न निकुञ्ज बाधक हुँदै आएको छ। रासस
प्रकाशित: १४ पुस २०८१ ०७:२७ आइतबार