१४ पुस २०८१ आइतबार
image/svg+xml
समाज

रहेनन् कानुन अनुसन्धाता पूर्वन्यायाधीश वस्ती

सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको ७१ वर्षमा निधन भएको छ।

काठमाडौंको नयाँ बजारस्थित आफ्नै घरमा हृदयघात भएपछि वस्तीलाई तत्कालै थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो। शुक्रबार राति अस्पताल पुराउँदा उनलाई मृत घोषित गरेको पारिवारिक स्रोतले जनाएको छ।

२०१० असार ८ गते गोरखाको खोप्लाङ-२ मा जन्मेका वस्ती २०३३ सालमा अधिवक्ता बनेदेखि कानुनी सेवामा प्रवेश गरेका थिए। उनले २०६५ सालमा वरिष्ठ अधिवक्ताको उपाधि पाएका थिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले न्यायको क्षेत्रमा गतिलो अनुसन्धान गर्ने व्यक्ति गुमाएको भन्दै दुःख व्यक्त गरे।

‘प्रकाश भनेको ज्यादै इमानदार, त्यसबेलाको निकै राम्रो कानुन व्यवसायी, पछि सर्वोच्चको राम्रो न्यायाधीश हुनुहुन्थ्यो’ उनले भने, ‘कानुनको अनुसन्धान गर्ने। कुनै बेला अख्तियारलाई पनि मद्दत गर्नुभएको थियो।’

तत्कालीन समयमा प्रमुख आयुक्त हुँदा उपाध्यायले अख्तियारमा वस्तीलाई कानुनी विज्ञका रुपमा राखेका थिए। त्यो बेला अख्तियारले विशेष अदालतमा दर्ता गरेका भ्रष्टाचार मुद्दामध्ये ८४ प्रतिशत ठहर भएका थिए। वस्तीकै कारण मुद्दाले सफलता पाएको उपाध्याय बताउँछन्।

अख्तियारले हरेक मुद्दा तयार पारेपछि वस्तीले प्रमाण पुगे/नपुगेको हेरेर दर्ता गर्ने, नगर्ने बारेमा सल्लाह दिने गरेको उपाध्यायले स्मरण गरे। ‘मुद्दामा निकै जान्ने हुनुहुन्थ्यो। निर्णय गरिसकेपछि मुद्दामा आरोपपत्र कसरी लेख्ने, प्रमाण पुगे नपुगेको सबै हेर्नुहुन्थ्यो’ उनले भने।

सर्वोच्चमा तत्कालीन समयमा सर्वोच्चकै नेतृत्वले बेइमानी गरेका कारण स्थायी न्यायाधीश नबनाएको अख्तियारका पूर्व प्रमुख आयुक्त उपाध्याय बताउँछन्। ‘वस्तीमाथि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीले अन्याय गरेका थिए’ उनले टिप्पणी गरे।

२०६५ सालदेखि वस्ती सर्वोच्च अदालतका अस्थायी न्यायाधीशका रुपमा कार्यरत थिए। कुनै पनि दलमा आबद्ध नभएका र उनको भनसुन नलाग्दा उनी सर्वोच्च अदालतको अस्थायी न्यायाधीशबाटै बाहिरिनु परेको थियो। त्यस समयमा सर्वोच्चमा अस्थायी हुँदै स्थायी न्यायाधीश नियुक्ति गर्न पाउने व्यवस्था थियो। उनी निश्वार्थ, निश्कलंक र क्षमतावान रहेको उनका सहकर्मी बताउँछन्।

वस्तीको सरलपन, निष्पक्षता, मुद्दामा न्याय दिनसक्ने क्षमता थियो। उनी प्रधानन्यायाधीश हुनसक्ने सम्भावना देखेर न्यायपालिका भित्रकै एक समूहले स्याथी न्यायाधीश हुनबाट रोकेको एक पूर्व न्यायाधीशले बताए। प्रधानन्यायाधीशको रोलक्रममा पुग्ने र आफूहरू छायाँमा पर्ने डरले ५ वर्ष काम गरेका वस्तीलाई २०७० चैत २९ गते सर्वोच्चबाट निकालिएको थियो।

स्थायी दरबन्दीमा नियुक्त गर्ने वा अस्थायी पदमै म्याद थप गर्ने विकल्प हुँदाहुँदै उनलाई निकालिएको थियो। त्यसबेला वस्तीसँगै राम्रो छवि बनाएका न्यायाधीशलाई घर पठाइएको थियो। प्रधानन्यायाधीशको रोलक्रमबाट हटाउन पाँच वर्ष सर्वोच्च अदालतमा न्यायाधीशको पद रिक्त राखिएको थियो।

त्यसबेला जम्मा पाँचजना न्यायाधीशका रहेका थिए। त्यसपछि गोपाल पराजुली, दीपकराज जोशी, चोलेन्द्रशमशेर जबरालगायतलाई तत्कालीन पुनरावेदन अदालतबाट सर्वोच्चमा नियुक्ति गरिएको थियो। राम्रो काम गरेका न्यायाधीशहरुलाई हटाएर ल्याएका तीनैजना प्रधानन्यायाधीश बनेकाहरुको न्यायिक इतिहास त्यति राम्रो बन्न सकेन। पराजुली, जोशी, जबरा नै विभिन्न विवादमा फसेपछि सर्वोच्च अदालतबाट असहज बर्हिगमनमा परेका थिए।

सर्वोच्चको अस्थायी नै भए पनि न्यायाधीश पदमा पुगेपछि उनले कानुन व्यवसायमा फर्कन पाएनन्। किनकि सर्वोच्च अदालतको न्यायाधीश भइसकेको व्यक्तिले कुनै पेशा व्यवसाय गर्न नपाउने कानुनी व्यवस्था छ।

वस्तीले २०७१ कात्तिकदेखि २०७७ कात्तिकसम्म राष्ट्रिय मानवअधिकार आयोगको सदस्य रहेर मानवअधिकारको क्षेत्रमा काम गरेका थिए। मानवअधिकार आयोगमा पनि अध्ययन अनुसन्धानका काम गरेका थिए। ज्येष्ठ नागरिकको अधिकार, उनीहरुलाई लाग्ने रोगका विषयमा पनि अनुसन्धान गरेका थिए।

सर्वोच्च अदालत बार एसोसिएसनले न्यायपालिकाका बेथितिबारे गरेको अध्ययन समितिमा बसेर वस्तीले काम गरेका थिए। कानुन र न्यायको क्षेत्रमा वस्तीका विभिन्न सोधमूलक पुस्तक प्रकाशित छन्।

‘कानुनी नेपाली भाषा र साहित्य’, ‘हाम्रो कानुनी इतिहासको नालीबेली किराँतकालदेखि २०७८ सालसम्म’ लगायतका पुस्तक प्रकाशित छन्। निकै सरल, यथार्थवादीका रुपमा चिनिने उनी न्यायाधीश समाजका सदस्य बनेर काम गरेका थिए। विशेषगरी देवानी कानुन, कानुनी प्रणालीको विकास अनुसन्धानमा रुचि राख्थे।

पछिल्लो समयमा उनी घरमै बस्ने अध्ययन, लेखनमा व्यस्त थिए। अवकाशपछि उनले कानुनका पुराना इतिहास खोतलेर अध्ययन गर्ने, पुस्तक लेख्नेमै बिताएको उनका भाइ गजेन्द्रले बताए। ‘किताब लेख्ने काम गरिरहनुभएको थियो। कानुनसम्बन्धी पुस्तक अब छिट्टै मुद्रणमा पठाउने कुरा गर्दै हुनुहुन्थ्यो। लगभग पुस्तक निकाल्ने तयारी थियो’ उनले भने।

उनकी कान्छी छोरी बुबाको बाटो पछयाउँदै कानुन व्यवसायमा रहेकी छन्। उनका पत्नी, एक छोरा, तीन छोरी रहेका छन्। उनका भाइका अनुसार शनिबार शव नर्भिक अस्पतालमै राखिएको र अमेरिकामा रहेका छोरा आएपछि आइतबार अन्तिम संस्कार गरिनेछ।

प्रकाशित: १३ पुस २०८१ १६:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App