१४ पुस २०८१ आइतबार
image/svg+xml
समाज

नजिकका साथीबाटै अनलाइन हिंसा

हिंसा हुने अनेक तरिका छन्। पछिल्लो समय किशोरकिशोरी तथा युवा उमेर समूह बढी अनलाइन हिंसामा पर्ने गरेको पाइएको छ। हालै चाइल्ड सेफ नेटले गरेको एक अनुसन्धानले यो उमेर समूह बढी प्रताडित बनेको औंल्याएको हो।

बिहीबार सार्वजनिक अनुसन्धान प्रतिवेदनले २७ प्रतिशत किशोर र २१ प्रतिशत किशोरी अनलाइन हिंसामा पर्ने गरेको जनाइएको छ। हिंसामा पर्नेमध्ये युवाभन्दा बढी किशोर–किशोरी रहेको पाइएको छ। अनलाइनबाट हिंसा गर्नेमा बढी मात्रामा सम्बन्धबाट  छुटेकाहरू छन्।

सुनसरी बढी अनलाइन हिंसा हुने जिल्लामा परेको छ। सातै प्रदेशका १० वटा जिल्ला, १३ वटा नगरपालिका र १७ वटा सरोकारवाला निकायसँग छलफल गरिएको छ भने १७ सय ६२ जना अध्ययन नमुनाभित्र सहभागी छन्।

चाइल्ड सेफ नेटकी अनुसन्धान अधिकृत तुलसा खड्काले अनुसन्धानको मुख्य विषयमा प्रस्तुति दिँदै विवाहित जोडीको तुलनामा अविवाहित जोडी, छोटो सम्बन्धमा रहेका जोडीबिचमा अनलाइन हिंसा बढी हुने गरेको बताइन्।

अडियो या भिडियो कलमार्फत धम्की दिने, साथीले इन्टरनेटको नियन्त्रण गर्ने, अनलाइन सम्बन्धमा नियन्त्रण गर्ने, साथीबाट यौनजन्य म्यासेज पठाउने, फोन या म्यासेजबाट दुव्र्यहार गर्ने, सँगै खिचेको तस्बिर पोस्ट गरिदिने, जबर्जस्ती यौन प्रस्ताव राख्ने या सार्वजनिक गरिदिने, अश्लील तस्बिर पोस्ट गरिदिने धम्कीलगायत हिंसा हुने गरेको औंल्याएको छ।

यी दुव्र्यहारमध्ये सबैभन्दा बढी भिडियो या अडियो फोनमार्फत धम्की दिने १०.३ प्रतिशत र पिछा गर्ने १०.२ प्रतिशत छन्। त्यसैगरी अनलाइनमा नियन्त्रण गर्ने र चासो राख्ने ७÷७ प्रतिशत छन्।

उनीहरू कुनै न कुनै समयमा सामाजिक सञ्जालबाटै सम्बन्धमा रहने, उनीहरूले आपसी तस्बिर साटासाट गर्ने, सामाजिक सञ्जालको पासवर्ड नजिकको पार्टनरसँग साटासाट गर्ने यी दुई माध्यम हिंसामा प्रयोग गर्ने गरेको पाइएको छ। हिंसापीडितमा पढाइमा अवरोध हुने, एक्कासि इन्टरनेटको प्रयोगबाटै हराउने, डर तथा चिन्ताको रोग लाग्ने, आत्महत्याको प्रयास गर्नेजस्ता समस्या आउने गरेको अध्ययनले औंल्याएको छ।

समस्याबारे समाधान खोज्ने या उजुरी गर्नेहरूको संख्या भने कम रहेको अनुसन्धानले औंल्याएको छ। कुनै उपाय नखोज्नेमा २५ प्रतिशत, साथीसँग बताउनेहरूको संख्या १५ प्रतिशत, साथीसँगै समाधान खोज्ने ९ प्रतिशत र अविभावकलाई भन्ने ९ प्रतिशत छन्। हिंसाबारे कानुनी सहयोग खोज्नेको संख्या ०.२ प्रतिशत मात्र छ। त्यसैगरी मनोविद्सँग २.१ प्रतिशत, साइबर ब्युरोमा पुग्ने २ प्रतिशत, बाल हिंसाविरुद्ध हेल्पलाइनमा फोन गर्नेको संख्या १.४ प्रतिशत छ।

नेपालमा इन्टरनेटको बढ्दो प्रयोगसँगै किशोर–किशोरी र युवाहरूको नजिकको साथीबाटै हुने अनलाइन हिंसा अरूको तुलनामा बढी रहेकाले यसको नियन्त्रणका लागि सरकार तथा सरोकार निकायले सहकार्य गरी नीति तथा कार्यक्रम तय गर्न आवश्यक रहेको चाइल्ड सेफ नेटका अध्यक्ष तथा अनुसन्धानकर्ता अनिल रघुवंशीले बताए।

यस्तो हिंसा नियन्त्रणका लागि अनलाइन हिंसालाई राष्ट्रिय साइबर क्राइम नीतिमा समावेश गर्ने, सुरक्षित अनलाइन प्रयोगको जनचेतना जगाउने, पर्याप्त बजेटको व्यवस्था गर्ने, बलियो मनोसामाजिक विज्ञ, कानुनी तथा मेडिकल संकट व्यवस्थापन संरचना तयार गर्ने, इन्टरनेटको सुरक्षित प्रयोगका लागि निर्देशिका बनाउनेलगायत प्रतिवेदनले सुझाएको छ।

अलनाइन हिंसाको विषयमा पर्याप्त कानुनी व्यवस्था नहुनु र हिंसाबारे साक्षरताको कमीले नेपालमा अनलाइन हिंसामा वृद्धि भइरहेको फ्रेस इन्टरनेसनलकी अध्यक्ष शान्ति रिसालले बताइन्। ‘लिभिङ टुगेदरमा हुने हिंसाबारे कानुन कमजोर देखिन्छ,’ उनले भनिन्।

राष्ट्रिय बालकल्याण परिषद्का उपाध्यक्ष बमबहादुर बानियाँले यो विषयमा भएको अनुसन्धान नयाँ कदम भएको र यसको आधारमा यो क्षेत्रमा कामका लागि उपयोगी हुने बताए। ‘अनलाइनबाट सुरक्षित हुनुपर्ने देखिन्छ, मोबाइल खेलाउन दिने रहर र खेलाउने चलन दुवै सुरक्षित छैन,’ उनले भने। एभिआरआई (सेक्सुअल भायोलेन्स इनिसिएटिभ) नामक अन्तर्राष्ट्रिय संस्थाको सहयोगमा अनुसन्धान भएको थियो। 

प्रकाशित: १२ पुस २०८१ ०८:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App