‘देश कसरी डुब्दै गएको छ, देशको समस्या के छ भन्नेबारेमा बुझ्न चाहने हो भने सिंहदरबार वैद्यखाना हेरे पुग्छ।’ धन्वन्तरी दिवस एवं सिंहदरबार वैद्यखाना विकास समितिको ३०औैं वार्षिकोत्सवको अवसरमा गत कात्तिक १३ गते काठमाडौंमा आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले व्यक्त गरेको विचारको एक अंश हो यो।
प्रमुख साहले भनेजस्तै सिंहदरबार वैद्यखाना उठ्नै नसक्ने गरी डुब्दै गएको छ। कुनैबेला एक सय ६० थरीभन्दा बढी आयुर्वेदिक औषधि उत्पादन गर्ने वैद्यखानामा अहिले औषधि उत्पादन करिबकरिब ठप्प छ। यतिबेला बढीमा तीन/चारवटा औषधि मात्र वैद्यखानाले उत्पादन गर्दै आएको छ। औषधि उत्पादन ठप्प हुँदा कर्मचारीले तलब पनि पाएका छैनन्।
२०५४/२०५५ सालतिर वैद्यखानाले एक सय ६० थरी औषधि उत्पादन गथ्र्यो। आर्थिक वर्ष २०७९/८० मा आइपुग्दा वैद्यखानाबाट औषधि उत्पादन खुम्चिएर २० मा झर्यो। २० थरीबाट अहिले उत्पादन तीन थरीमा सीमित छ।
डा. रामनारायण साह प्रबन्ध निर्देशक हुँदा वैद्यखाना नाफामा गएको थियो। एक कर्मचारीका अनुसार त्यतिबेला हरेक वर्ष दुई करोडदेखि अढाई करोड रूपैयाँ बराबरको औषधि वैद्यखानाले बिक्री गथ्र्यो। रामनारायणले २०५८ मंसिर २९ देखि २०६३ वैशाख ३१ सम्म वैद्यखानाको नेतृत्व सम्हालेका थिए। त्यतिबेला वैद्यखानाले झन्डै एक सय ५० थरी औषधि उत्पादन गथ्र्यो। रामनारायण काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह का बुवा हुन्।
त्यतिबेला काम गर्ने तौरतरिकाले राम्रो परिणाम आएको डा. रामनारायणको भनाइ छ। ‘अहिले वैद्यखाना डुबेको छ। यसलाई उकास्न स्वास्थ्य मन्त्रालय र आयुर्वेद विभागले चासो देखाउनु जरुरी छ,’ उनले भने।
मध्यकालमा तत्कालीन कान्तिपुरका राजा प्रताप मल्लको समयमा स्थापना भएको वैद्यखाना अहिले ‘सिंहदरबार वैद्यखाना’को नामले चिनिन्छ। सिंहदरबार वैद्यखान २०५१ सालदेखि २०७५ सम्म विकास समिति गठन आदेशअन्तर्गत सञ्चालन भयो। त्यतिबेला वैद्यखानामा प्रबन्ध निर्देशकको व्यवस्था गरिएको थियो। २०७५ सालमा वैद्यखाना विकास समिति गठन आदेश–२०५१ खारेज गरियो। त्यसपछि २०७७ सालमा फेरि वैद्यखाना विकास समिति गठन आदेश जारी भयो। पछिल्लो गठन आदेशले वैद्यखानामा प्रबन्ध निर्देशकको सट्टा कार्यकारी निर्देशकको व्यवस्था गरेको छ।
अहिले वैद्यखानामा कार्यकारी निर्देशक डा. प्रदीप केसी छन्। उनी २०८१ मंसिर ४ गते सो पदमा नियुक्त भएका हुन्। स्वास्थ्य मन्त्रालयका कर्मचारी उनी आफूलाई वैद्यखानाको कार्यकारी निर्देशक बनाइएकोमा त्यति खुशी छैनन्। आफूलाई जबरजस्ती सरकारले कार्यकारी निदेशक बनाएर वैद्यखानामा पठाएको उनको बुझाइ छ। ‘मन्त्रालयले जबरजस्ती कर्मचारी पठाएर वैद्यखाना विकास समिति उठ्न सक्दैन’, उनले भने।
उनी ११औं तहका कर्मचारी हुन्। तर वैद्यखानमा ११आंै तहको दरबन्दी नभएको उनले बताए। सुरुमा उनलाई स्वास्थ्य मन्त्रालयले आयुर्वेद विभागसमेत हेर्नेगरी दोहनेरो जिम्मेवारी दिएको थियो। अहिले उनको दोहोरो जिम्मेवारी छैन। वैद्यखाना मात्र हेर्नेगरी उनलाई जिम्मेवारी दिइएको छ। यसअघि स्वास्थ्य मन्त्रालयले २०८० भदौमा आयुर्वेद विभागका महानिर्देशक डा. वासुदेव उपाध्यायलाई पनि सिंहदरबार वैद्यखाना विकास समितिको कार्यकारी निर्देशकको भूमिका निर्वाह गर्नेगरी दोहोरो जिम्मेवारी दिएको थियो।
वैद्यखानाका कर्मचारीका अनुसार उपाध्यायले वैद्यखानामा केही राम्रो काम गर्ने प्रयास गरेका थिए। उनको पालामा वैद्यखानाका लागि चाहिने जडीबुटी खरिद गर्न टेन्डर माग्ने तयारी भएको थियो। प्रक्रिया अघि बढेका बेला मन्त्रालयले उनलाई वैद्यखानाको कार्यकारी निर्देशकबाट फिर्ता बोलायो। मन्त्रालयले उनको ठाउँमा डा. केसीलाई पठायो। समस्या त्यहींबाट सुरु भयो। ११औं तहका केसीले आफूलाई वैद्याखानमा पठाएर मानमर्दन गरिएको ठाने। उनी आफूमाथि अन्याय भयो भन्दै वैद्यखानामा हाजिर नभई अदालत पुगे। अदालबाट उनको पक्षमा फैसला आएन। त्यसपछि बल्ल उनी वैद्यखानामा गएका थिए।
यही पुस ४ गते स्वास्थ्यमन्त्री प्रदीप पौडेल वैद्यखानामा छड्के निरस्क्षण गर्न पुगेका थिए। त्यतिबेला उनले वैद्यखानाको उत्पादन के, कति कारणले ठप्प भयो, आगामी कार्ययोजना के छ, कसरी उत्पादन सुरु गर्न सकिन्छ लगायत विषयमा प्रतिवेदन बनाएर बुझाउन कार्यकारी निर्देशक केसीलाई भनेका थिए। तर उनले मन्त्रीलाई मन्त्रीलाई प्रतिवेदन नबुझाइ सामाजिक सञ्जालमा आफ्नो धारणा राखे।
त्यतिबेला उनले वैद्यखानाबाट औषधि उत्पादन बन्द हुनुमा कर्मचारी जिम्मेवार रहेको बताएका थिए। मन्त्रालयलाई प्रतिवेदन नुबुझाईकन सामाजिक सञ्जालमा धारणा राखेकोमा मन्त्रालय केसीसँग रुष्ट भयो। मन्त्रालयले गत आइतबार तीनदिने स्पष्टीकरण उनलाई सोध्यो। स्पष्टीकरणपछि मात्र उनले मन्त्रालयलाई स्पष्टीकरण बुझाएका छन्। उनले पनि स्पष्टीकरण बुझाइसकेको बताए।
वैद्यखानामा हाल विकास समितिअन्तर्गत ४१ र नेपाल सरकारका दुई गरी ४३ कर्मचारी छन्। अहिले उनीहरूको काम भनेको दिउसो कार्यालय आउने, हाजिरी गर्ने र हाजिरी गर्ने बित्तिकै घर फर्कने भएको छ। लामो इतिहास बोकेको वैद्यखानाबाट औषधि उत्पादन बन्द हुनु दुर्भाग्य पूर्ण हो। कुनै बैला वैद्यखानाबाट उत्पादित औषधिले आयुर्वेदमा क्षेत्रमा एक छत्र बजार लिएको थियो। तर अहिले त्यो इतिहास झैँ भएको छ।
प्रकाशित: १४ पुस २०८१ ०६:३५ आइतबार