प्रहरीले मोरङको जहदा–३ राधानगरबाट बन्धक बनाइएकी एक महिलाको उद्धार गरेको । जहदा ३ राधाकृष्ण चौक जयरामपुर टोलकी २३ वर्षीया उनलाई प्रहरीले हातखुट्टा बाँधेको, मुखमा सल कोचेको र घाइते अवस्थामा बाँसघारीबाट उद्धार गरेको हो ।
मंगलबार बिहान घरबाट निस्किएकी उनी दिउँसो खेतको बीचमा रहेको बाँसघारीमा भेटिएकी थिइन् । स्थानीयले अचेत अवस्थामा उनलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले अचेत अवस्थामा फेला परेकी महिलाको उद्धार गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमरियाले जानकारी दिए । प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको चिमरियाले बताए ।
घाइते युवतीको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । युवती अचेत अवस्थामा रहेका कारण घटनाका विषयमा विस्तृत विवरण खुल्न नसकेको चिमरीयाले जानकारी दिए । घटनामा संलग्नहरूको खोजी भइरहेको उनले बताए ।
प्रकाशित: ९ पुस २०८१ १६:१२ मंगलबार