७ पुस २०८१ आइतबार
image/svg+xml
समाज

जनकपुरका समर्थकमाथि आक्रमण गर्नेलाई कारबाही गर्न मधेशी आयोगको निर्देशन

मधेशी आयोगले जनकपुर बोल्ट्सका समर्थकलाई आक्रमण गर्नेमाथि कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको छ।  

नेपाल प्रिमियर लिगको शनिबार भएको फाइनलपछि जनकपुरका समर्थकमाथि हातहतियार प्रयोग गरी घाइते बनाएको तथा सामाजिक संजालमार्फत् नश्लीय र रंगभेदी शब्द प्रयोग गरेको भन्दै आयोगले अराजक तथा उदण्ड समूहको पहिचान गरी कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको हो।  

आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले त्यस्ता कार्यमा संलग्नहरूको यथाशिघ्र पहिचान गर्न प्रहरीलाई भनेका हुन्।  

घटनाले मधेशी समुदायप्रतिको दृष्टिकोण प्रष्ट्याएको उल्लेख गर्दै उनले राज्य तथा प्रहरी प्रशासन संवेदनशील नभए सामाजिक सद्भाव तथा राज्यको चौतर्फी विकासमाथि नकारात्मक असर समेत पर्ने दाबी गरेका छन्।  

घटनाबारे जाँचबुझ गर्न र घाइतेहरूसँग कुराकानी गरी यथार्थ विवरण पेस गर्न आयोगले सदस्य जीवछ साहसहितको उच्चस्तरीय टोली गठन गरेको छ। सो टोलीको प्रतिवेदनपछि आगामी कदम चाल्ने अध्यक्ष डा.दत्तले बताए।  

यसैबीच जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले आइतबार विज्ञप्ति निकालेर घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीमाथि कारबाहीको माग गरेको छ।

प्रकाशित: ७ पुस २०८१ १३:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App