८ पुस २०८१ सोमबार
image/svg+xml
समाज

सीता विना राम अधुरो, रामायण अपूर्ण: मुख्यमन्त्री सिंह

मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सीता विना राम अधुरो मात्र नभई रामायण नै अपूर्ण हुने बताएका छन्। उनले रामायणमा वर्णित कथावस्तुलाई राम र सीता दुवैसँग जोडेर प्रचार–प्रसार गर्नुपर्नेमा जोड दिए।

भारतको उत्तर प्रदेश सरकारअन्तर्गत पर्यटन विभागको आयोजनामा तथा जानकी मन्दिर जनकपुरधाम उपमहानगरपालिका र अन्य सहआयोजकहरूको समन्वयमा जनकपुरधाममा जारी दुईदिने अन्तर्राष्ट्रिय रामायण कन्कलेभमा मुख्यमन्त्री सिंहले उक्त कुरा व्यक्त गरे।

मुख्यमन्त्री सिंहले मिथिलामा अवधका राजकुमार रामको आगमन र धनुषयज्ञबाट सुरु भएको रामकथा सीताको योगदानबिना अधुरो हुने उल्लेख गरे। उनले भारत सरकारले ल्याएको रामायण सर्किट र मधेस प्रदेशले बजेट छुट्याएको सीता सर्किटलाई परस्पर रूपमा जोडेर विकास गर्नुपर्ने बताए।

मुख्यमन्त्री सिंहले त्रेतायुगमा सुरु भएको सम्बन्धलाई निरन्तरता दिनुपर्ने भन्दै राम मन्दिर निर्माणपछि अयोध्यामा पुग्ने भक्तजनहरूलाई जनकपुरधाममा जानकी मन्दिर दर्शनका लागि प्रोत्साहित गर्न भारत सरकार र उत्तर प्रदेश सरकारसँग आग्रह गरे।

मुख्यमन्त्री सिंहले सीता जन्मस्थल, धनुषयज्ञ स्थल र विवाहमण्डपलगायतका पवित्र स्थलहरूको जानकारी डिजिटल माध्यमबाट प्रचार–प्रसार गर्नुपर्ने बताए।

उनले भने, “सीतारामसँग सम्बन्धित स्थानहरूको श्रव्यदृश्य सामग्री र लेख्य दस्तावेज डिजिटल पोर्टलमा साझा गरे धार्मिक र पर्यटन विकासले तीव्रता पाउनेछ।”

उनले वर्तमान पुस्तासँग रामायण पूर्ण रूपमा अध्ययन गर्ने समय र धैर्य नभएकोले कथा–विषयलाई साना श्रव्यदृश्य तथा डिजिटल सामग्रीहरूमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याए।

प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्माले सीतालाई शक्ति र भक्तिको प्रतीकका रूपमा चित्रित गर्दै सीता जन्मभूमिमा महिलाहरूको कमजोर अवस्था देख्दा दुःख लाग्ने बताइन्। उनले जनकपुरधाममा महिला हिंसाका घटना अक्षम्य रहेको उल्लेख गर्दै नारी सशक्तीकरणका पक्षमा काम गर्नुपर्नेमा जोड दिइन्।

मुख्यमन्त्री सिंहले नेपाल, भारत र श्रीलंकाका विभिन्न स्थानमा रामायण चर्चाको विस्तार तथा पौराणिक कथाका अनुसन्धानका लागि रामायण कन्कलेभ महत्त्वपूर्ण रहेको बताए। उत्तर प्रदेश सरकारले रामायणका पवित्र स्थानहरूलाई लिपिबद्ध गर्दै प्रचार गर्ने प्रयास सराहनीय रहेको उनले बताए।

कार्यक्रममा जानकी मन्दिरका महन्थ रामरोशन दास वैष्णवको अध्यक्षतामा भारत र नेपालका विभिन्न विद्वान तथा विदुषीहरूले रामायणको महत्व र विचारधाराको विषयमा चर्चा गरे।

प्रकाशित: ७ पुस २०८१ १९:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App