५ पुस २०८१ शुक्रबार
image/svg+xml
समाज

गृह मन्त्रालयमै ‘हाजिरी डन्डा’

ढिलो कार्यालय पुग्ने र कार्यालय समय नसकिँदै निस्कने सरकारी कर्मचारीको पुरानै प्रवृत्ति हो। यस्तो प्रवृत्तिबाट आजित भएपछि गृह मन्त्रालयले बुधबारदेखि कर्मचारीलाई ‘कार्यालय समय’ को डण्डा लगाएको छ। गृह मन्त्रालय कर्मचारी प्रशासन महाशाखाका अनुसार मन्त्रालयका कर्मचारीहरू कार्यालय समय सुरुभन्दा १५ मिनेट ढिला उपस्थित भएमा स्वतः हाजिरी गयलमा पर्नेछन्।

महाशाखाले कर्मचारीहरूका लागि ई–हाजिरीको व्यवस्था गरेको लामो समय भइसकेको छ। मन्त्रालयमा बुधबारदेखि ई–हाजिरीको डिभाइस हरेक दिन बिहान १० बजेपछि १५ मिनेटसम्म मात्र चल्ने व्यवस्था गरिएको छ। १० बजेर १५ मिनेटपछि ई–हाजिरीको डिभाइस स्वतः बन्द हुने प्रबन्ध मिलाइएको छ। यसैगरी साँझ ४ बजेपछि मात्र ई–हाजिरीको डिभाइस चल्ने गराइएको छ। साँझ हाजिरीका लागि समयको पाबन्दी राखिएको छैन। गृह मन्त्रालयमा करिब दुई सय कर्मचारी कार्यरत छन्। कार्यालय समयको डन्डा लगाएपछि बुधबार र बिहीबार ६० जनाजति कर्मचारी गयलमा परेका छन्। १० बजेर १६ मिनेट जाँदा कार्यालय पुगेका कर्मचारी पनि गयलमा परेका छन्।

मन्त्रालय स्रोतका अनुसार बुधबार र बिहीबार गयल हुने कर्मचारीहरूमा उपसचिवदेखि कार्यालय सहयोगीसमेत छन्। ती सबैको नाम प्रिन्ट गरेर महाशाखाले राखेको छ। स्रोतका अनुसार १० जना शाखा अधिकृत र तीनजना उपसचिव गयलमा परेका छन्। कर्मचारी प्रशासन महाशाखाका एक कर्मचारीका अनुसार यो प्रणाली अब बिस्तारै मन्त्रालयमातहतका अन्य कार्यालयमा पनि लागू गरिनेछ। काठमाडौँबाहिरका कार्यालयहरूमा पनि यो प्रणाली लागु गरिनेछ। ‘ई–हाजिरी लागु भएका कार्यालयहरूमा यही पुसदेखि नै यो प्रणाली लागु हुनेछ। ई–हाजिरी नभएका कार्यालयहरूमा पनि बिस्तारै यो प्रणाली लागु गर्ने हाम्रो योजना छ’, ती कर्मचारीले भने। ती कर्मचारीका अनुसार मन्त्रालय मातहतका कर्मचारीलाई समयको नियम पालना गर्न र अनुशासित बनाउन ‘कार्यालय समय’ को डन्डा लगाइएको हो। ‘विभिन्न कारण देखाएर समयमा हाजिरी नहुने, साँझ कार्यालय समयसम्म नबस्ने प्रवृत्ति कर्मचारीमा बढ्दै गएपछि यो व्यवस्था गरेका हौं,’ ती कर्मचारीले भने, ‘यसबाट अब हामी पछि हट्दैनौं। जसरी पनि कार्यान्वयन गर्छौं।’

राष्ट्रिय सतर्कता केन्द्रले पनि बेलाबेलामा सरकारी कार्यालयहरूमा छड्के गरी कार्यालयमा समयमा कर्मचारी पुगे/नपुगेको विषयमा अनुगमन गर्छ । कार्यालय समयमा कार्यालयमा नपुगेका कर्मचारीलाई केन्द्रले कारबाही भने गर्दैन । उसले त्यस्ता कर्मचारीलाई कारबाहीका लागि सम्बन्धित मन्त्रालय, कार्यालय तथा निकायहरूका सचिव/प्रमुखहरूलाई सिफारिस गर्छ । तर त्यस्तो सिफारिस कार्यान्वयन भएको पाइँदैन । सम्बन्धित कार्यालयका कार्यालय प्रमुखले केन्द्रले कारबाही गर्न सिफारिस गरेका कर्मचारीलाई संरक्षण गर्दै आएका छन् । केन्द्रले कार्यालय समयमा कार्यालय पुगे/नपुगेको मात्र नभई तोकिएको पोसाक लगाए/नलगाएको विषयमा पनि छड्के गर्छ । त्यस्ता कर्मचारीलाई पनि विभागीय कारबाही गर्न केन्द्रले सिफारिस गर्छ ।

प्रकाशित: ५ पुस २०८१ ०६:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App