जनशक्तिको अभाव तथा सञ्चयकोष दाखिलामा समस्या हुने देखाउँदै ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले शिक्षकहरूको तलबभत्ता मासिक रूपमा निकासा गर्न नसक्ने ठहर गरेको छ। गाउँ शिक्षा समितिको संयोजनमा पालिकाका ४० वटै विद्यालयका प्रधानाध्यापकहरूको बैठकबाट त्रैमासिक रूपमै शिक्षकको तलबभत्ता निकासा गर्ने निर्णय भएको पालिकाका सूचना अधिकारी जयप्रसाद रिजालले जानकारी दिए।
निर्णय अनुसार अब गाउँपालिकाले आयोजना गरेका कार्यक्रममा लिखित जानकारीबिना अनुपस्थित हुने विद्यालयले लिखित स्पष्टीकरणसहित प्रतिपटक १ हजार ५ सय रुपैयाँका दरले जरिवाना तिर्नुपर्ने भएको छ। पालिकाका ९ वटा माध्यमिक विद्यालयलाई ‘लिडर स्कुल’ तोकी लिडर स्कुल मातहत रहने विद्यालय समेत निर्धारण गरिएको छ।
जस अनुसार रविकला मावि सावादिन मातहत गणेश आधारभूत विद्यालय, जनता आधारभूत र नाक्ला आधारभूत विद्यालय रहने छन्। खेजेनिम आधारभूत विद्यालय मातहत चावाखु आवि, तुलसी आवि र तिङ्दु बाल विकास केन्द्र रहने छन् । आदर्श माध्यमिक विद्यालय मातहत हिमाली आवि, मनकामना आवि र सिबु आवि तथा सिँवा माध्यमिक विद्यालय मातहत लिङखिममा रहेका अन्य सबै विद्यालय रहने छन्।
सेवालुङ मावि मातहत चन्द्रोदय आवि, रानी र फक्ताङलुङ आवि रहने छन्। यस्तै सुनदेवी मावि लिडर स्कुल रहेकोमा सो मातहत बिपुधाम र जनता आधारभूत विद्यालय रहने छन्। सरस्वती मावि तापेथोक मातहत महेन्द्र र देउराली पाथीभरा आवि रहने छन्। पार्वती मावि मातहत कञ्चनजंघा, यासाङ र सोत्लिमा आधारभूत विद्यालय रहने छन्।
सरस्वती च्यारिबुक मावि लेलेप मातहत घुन्सा, महेन्द्र र देउराली आधारभूत विद्यालय बाहेक वडा नं ६ का सबै विद्यालय रहने भएका छन्। लिडर स्कुलले मातहतका विद्यालयको अभिलेखीकरण, ईमिसमा सहयोग, आफ्नो समूह भित्रको परीक्षामा एकरूपता, अन्तर समूह अतिरिक्त क्रियाकलाप, आवश्यकता अनुसारका सापेक्ष समस्या समाधान र आवश्यकता अनुसार शैक्षिक अनुगमन तथा पृष्ठपोषणको जिम्मेवारी प्रदान गरिएको छ।
फक्ताङलुङ गाउँपालिकाले २०८१ सालको पालिका स्तरीय रनिङ शिल्ड पुस २४ गतेदेखि सरस्वती मावि तापेथोकमा सञ्चालन गर्ने निर्णय पनि गरेको छ। पालिकाले कक्षा ८ माथि सञ्चालित विद्यालयका प्रधानाध्यापकहरूको भेलामार्फत कोचिङ कक्षा सञ्चालनका लागि अनुदान दिने निर्णय समेत गरेको छ। निर्णय अनुसार पालिकाका सम्पूर्ण माविहरूलाई १ लाख ५० हजार रुपैयाँका दरले र कक्षा ८ सञ्चालित विद्यालयलाई १ लाख रुपैयाँका दरले अनुदान दिने भएको छ।
ह्युमन प्राटिक्स फाउण्डेसनको कार्यक्रम क्षेत्र नभएका पार्वती मावि तापेथोक र सेवालुङ मावि इखाबुलाई दुई लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराउने निर्णय समेत पालिकाको शिक्षा समितिले गरेको छ। कक्षा ६ देखि १० सम्मका विद्यार्थीका लागि माघ र फागुन महिनामा अंग्रेजी, गणित र विज्ञान विषयको कोचिङ कक्षा सञ्चालन गर्ने निर्णय समेत भएको छ। गाउँपालिकाले कक्षा ८ को वार्षिक परीक्षा पालिका स्तरीय र केन्द्रीकृत रूपमा सञ्चालन गर्ने गरी सिँवा मावि लिङखिम र सरस्वती मावि तापेथोकमा केन्द्र रहने गरी निर्णय समेत लिएको छ।
गाउँपालिकाले होम सेन्टर रहने विद्यालयहरूको सेन्टर क्रस गर्ने र अति विपन्न विद्यार्थीको हकमा सम्बन्धित वडाको सिफारिसमा नामावली सार्वजनिक गरी परीक्षा सञ्चालन अवधिभर खानेबस्ने व्यवस्था गाउँपालिकाले गर्ने भएको छ। कक्षा ५ को वार्षिक परीक्षा समेत लिडर विद्यालय मातहत सञ्चालन गर्ने र प्रश्नपत्रमा भने एकरूपता ल्याउने निर्णय गाउँ शिक्षा समितिले गरेको छ। केन्द्रीय विद्युत् प्रसारण लाइन जडान भएका विद्यालयहरूको मासिक विद्युत् महसुल गाउँपालिकाले तिरिदिने भएको छ।
प्रकाशित: ३ पुस २०८१ १२:२१ बुधबार