११ पुस २०८१ बिहीबार
image/svg+xml
समाज

किसानी सञ्जीवनी अक्षयकोषमा ७३ लाखभन्दा बढी आर्थिक संकलन

म्याग्दीको मालिका गाउँपालिका-७ बिममा संचालित किसानी कृषि प्राविधिक शिक्षालयले स्थापना गरेको किसानी सञ्जीवनी अक्षयकोषमा ७३ लाखभन्दा बढी आर्थिक संकलन भएको छ।

अक्षय कोषको घोषणा भएको करिब एक महिनामा स्वदेश तथा विदेशमा कुल ७३ लाख ६७ हजार ५७२ रुपैयाँ संकलन भएको अक्षयकोषका विदेश विभाग प्रमुख कृष्ण जुग्जालीले बताए।

‘एक महिनामा हामीले ठूलो सहयोग जुटाउन सफल भएका छौ, यो अभियान निरन्तर छ, अझै विदेशमा धेरैले सहयोग गर्दैं हुनुहुन्छ’ विदेश विभाग संयोजक जुग्जालीले भने।

अक्षयकोषका लागि छोटो अवधिमा धेरै संकलन भएको बताउँदै दैनिकजसो स्वत: स्फूर्त सहयोग आइरहेको किसानी कृषि प्राविधिक शिक्षालयका प्राचार्य जंगबहादुर गर्बुजाले बताए।

देशका विभिन्न जिल्लाबाट कृषि र भेटेरनरी शिक्षा लिन आउने गरिब,विपन्न र जेहेनदार विद्यार्थीहरूको सहयोगका लागि दुई करोडको अक्षयकोष स्थापना गरेपछि हाल सञ्चालित अभियान रोकिए पनि त्यसपछि सहयोग गर्न चाहनेले सहयोग गर्न सक्ने प्राचार्य गर्बुजाको भनाइ छ। यो अभियानमा आफ्नो क्षमताअनुसार सहयोग गर्न समेत विद्यालयले अपिल गरिएको छ।

व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरिनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण पनि बढेको छ। बिममा २०६८ सालमा सिटिइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ सालदेखि तीन वर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीन वर्षे पशुविज्ञान तहको पढाइ सुरु भएको थियो। अहिले यहाँ २१ जिल्लाका विद्यार्थी छन्।

कृषि विषयको प्राविधिक शिक्षा सामुदायिक विद्यालयमै पढाइ हुन थालेपछि विद्यार्थी अध्ययनसँगै खेतीको अभ्यासमा पनि लाग्न थालेका छन्। देशका विभिन्न जिल्लामा सञ्चालन खर्च समेत जुटाउन नसकिरहेको कृषि प्राविधिक शिक्षालयका बिच पश्चिम म्याग्दीमा रहेका किसानी कृषि प्राविधिक शिक्षालयमा भने देशभरबाट पढ्न आउने र रोजगारीका लागि समेत धमाधम सिफारिस भइरहेका छन्।

कृषि पढ्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले किसानका खेतबारीमा नै पुगेर प्रयोगात्मक अभ्यास गराउनाका साथै फलफूल खेती, तरकारी खेती, दलहन बाली र रैथाने जातका कृषि उपजहरू उत्पादन गरी बजारमा बेच्ने समेत गरिएको छ। कृषि प्राविधिक शिक्षालयको स्थापना यहाँ विद्यार्थी र शिक्षकहरुकै प्रयासमा उत्पादन भएको बस्तु बिक्री गरी विद्यार्थीले आफ्नो खर्च चलाउने गरेका छन्।

प्रकाशित: १८ मंसिर २०८१ ११:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App