१२ पुस २०८१ शुक्रबार
image/svg+xml
कला

‘स्क्विड गेम्स’ को दोस्रो सिजन नेटफ्लिक्समा

तस्बिर: एएफपी।

दक्षिण कोरियाली थ्रिलर ‘स्क्विड गेम्स’ को दोस्रो सिजन नेटफ्लिक्समा रिलिज भएको छ।

सन् २०२१ मा पहिलो सिजन रिलिज भएपछि संसारकै ध्यान यो शोप्रति गएको थियो। दर्शकलाई डिस्टोपियन संसारमा डुबाउने यस श्रृंखलाले पहिलो पटक अमेरिकी नेटफ्लिक्समा नम्बर १ को स्थान बनायो। यसले ९४ देशहरूमा शीर्ष स्थान हासिल गरेको थियो।

‘स्क्विड गेम्स’ ले दर्शकहरूको मन जित्दै ‘ब्रिजर्टन’ लाई समेत उछिनेर नेटफ्लिक्सको सबैभन्दा धेरै हेरिने श्रृंखला बनेको थियो।

आलोचक र दर्शक दुवैको मन जित्दै, यसले एम्मी, क्रिटिक्स च्वाइस अवार्ड, गोल्डेन ग्लोब्स लगायतका पुरस्कार जितेको थियो। मुख्य कलाकार ली जुंग-जाए, जंग हो-योन, र निर्देशक ह्वाङ डोङ-ह्युकले पनि थुप्रै पुरस्कार हात पारे।

धेरै प्रतीक्षापछि, ‘स्क्विड गेम’ को दोस्रो सिजन बिहीबार नेटफ्लिक्समा रिलिज भएको छ। 

श्रृंखलाबाट नेटफ्लिक्सले ९०० मिलियन अमेरिकी डलर कमाए पनि निर्देशक र कलाकारले मात्र अग्रिम शुल्क पाएका थिए। उनीहरूले पछि कुनै मुनाफा पाएका छैनन्।

पहिलो सिजनमा के भयो?

‘स्क्विड गेम्स’ को पहिलो सिजन विस्फोटक, आकर्षक र निकै स्तब्ध पार्ने थियो। कूल ४५६ जना प्रतिस्पर्धी, जो आर्थिक संकटमा थिए, आफ्नो जीवन बदल्नका लागि ठूलो रकम जित्न खेलमा सामेल भए।

त्यसमध्ये एक थिए सिओङ गी-हुन (ली जुंग-जाए), जो जुवा खेल्ने लतले ग्रस्त थिए। आफ्नो छोरीलाई सामान्य जन्मदिनको डिनरसमेत किन्ने स्थिति थिएन्।

एक रात रहस्यमयी व्यक्तिबाट प्रस्ताव पाएका गी-हुन ‘स्क्विड गेम’ मा सामेल हुन तयार हुन्छन्। त्यहाँ, उनीहरूको प्रतिस्पर्धा बाल्यकालका खेलहरूमा आधारित हुन्छ। जस्तै ‘रेड लाइट, ग्रीन लाइट’ र ‘टग अफ वार’। तर, यी खेलहरू घातक हुन्छन्।

खेलमा जीवित बाँच्नु नै मुख्य उद्देश्य हो। हरेक खेलाडीको मृत्युले पुरस्कार रकम बढ्दै जान्छ।

अधिकांश पात्रहरूको दुखद अन्त्य हुन्छ। गी-हुनले खेल जिते पनि उनी मानसिक रूपमा विक्षिप्त हुन्छन्। अन्ततः, उनले खेलको निर्मातासँग भेट गरेर, खेलको विभत्स वास्तविकता पत्ता लगाउँछन्।

दोस्रो सिजनमा, गी-हुन खेललाई समाप्त गर्न पुन: खेलमा प्रवेश गर्न बाध्य हुन्छन्। युवा-ही (रेड लाइट, ग्रीन लाइट खेलको भयानक पुतली) पनि फर्किनेछ।

यस सिजनमा नयाँ खेलाडीहरू पनि देखिनेछन्। जसमध्ये क्रिप्टो घोटालामा सबै सम्पत्ति गुमाएको युट्युबर, ऋणमा डुबेको जुवा खेलाडी र उनको वृद्ध आमा, एक पूर्वसैनिक, र आफ्नो लिंग परिमार्जनको लागि प्रतिस्पर्धा गरिरहेकी पूर्वसैनिक महिला छन्।

प्रकाशित: ११ पुस २०८१ १६:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App