१६ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

भक्तपुरका चारै नगरमा महोत्सव

भक्तपुरको सूर्यविनायक नगरपालिकामा मंसिर ७ गतेदेखि चल्दै आएको सूर्यविनायक महोत्सव चलिरहेको छ। सूर्यविनायक नगरपालिकास्थित बालकोटमा भइरहेको महोत्सव अझै एक साता अर्थात् मंसिर २२ गतेसम्म चल्नेछ।

प्रथम सूर्यविनायक कृषि, व्यापार तथा सांस्कृतिक महोत्सव–२०८१ को अवसरमा त्यहाँ सूर्यविनायक नगरपालिका–१ देखि १० सम्मकै वडाका स्टलहरूमार्फत विभिन्न प्रदर्शनी भइरहेका छन्। सूर्यविनायक नगरपालिका क्षेत्रको पहिचानलाई अगाडि बढाउने उद्देश्यले महोत्सव गरिएको मेला व्यवस्थापक संगम लामाले बताए।

सूर्यविनायक महोत्सव सकेको साता दिनभित्रै जिल्लाकै सबैभन्दा पुरानो सहर भक्तपुरमा भक्तपुर महोत्सव हुँदैछ। महोत्सव मंसिर २८ गते सुरु भई पुस २ गतेसम्म चल्नेछ। भक्तपुर नगरपालिकाको आयोजनामा महोत्सव हुन लागेको हो।

महोत्सवका क्रममा भक्तपुर नगरपालिका–१ देखि १० सम्मका सम्पूर्ण क्षेत्र महोत्सवमय हुने जनाइएको छ। त्यसको तयारीका लागि अहिले वडावडामा मात्रै होइन, टोलटोलमा पनि तीव्र गतिमा काम भइरहेका छन्। महोत्सवले सम्पूर्ण भक्तपुरलाई उजागर हुने विश्वास गरिएको छ।

महोत्सवमा सांस्कृतिक कार्यक्रम, नगरा वादन, पौभा र तस्बिर प्रदर्शनी, चित्रकला, छ्वालीकला र तस्बिर प्रदर्शनी, परम्परागत वाद्यवादन सामग्री प्रदर्शनीसँगै सयौं प्रदर्शनी टोलटोलमा हुने जनाइएको छ। तव सत (पाटी):, लायकु र वाँचु त्वमा तस्बिर प्रदर्शनी, च्यासिंमण्डप र लायकुमा नगरा वादन, लायकु, थथुबही र कुथुवहीमा चित्रकला, छ्वालीकला, तस्बिर र पौभा, लायकु फसिदेग पछाडि परम्परागत पोसाक प्रदर्शनी, तुलाछें, यातुवारे पुखु कमलविनायकमा खाना महोत्सव, भुलाछेंमा परम्परागत वाद्यवादनको प्रदर्शनी, नागपुखु र थालाछेंमा परम्परागत धागो रंगाउने, प्रशन्नशील महाविहारमा क्वाठन्डौंमा कुमारी (जीवित देवी) प्रदर्शनी, दीपंकर बुद्धको प्रदर्शनी, नवदुर्गाको प्रदर्शनी, नौका विहार, परम्परागत खेलकुद प्रदर्शनी र प्रतियोगिता, नेवार जीवनशैलीको गतिविधिको प्रदर्शनी, नौबाजा प्रदर्शनी, दीपावलीलगायत गतिविधि महोत्सवमा हुने जनाइएको छ।

कृषि उत्पादनको व्यावसायिक प्रदर्शनी, कुखुरा एवं अन्डा महोत्सवलगायत गतिविधिहरू पनि महोत्सवका क्रममा नगरका टोलटोलमा हुने जनाइएको छ। जीवन्त सहर भक्तपुरलाई अझ नजिकबाट चिनाई आन्तरिक पर्यटनको विकास गर्ने उद्देश्य महोत्सवको रहेको आयोजक नगरपालिकाका प्रमुख एवं महोत्सव आयोजक मूल समारोह समितिका संयोजक सुनिल प्रजापति बताउँंछन्।

भक्तपुर महोत्सव समापन भएको एक सातामै जिल्लाको अर्काे नगरपालिका मध्यपुर थिमिमा पुस १२ गतेदेखि तीनदिने मध्यपुर महोत्सव २०८१ हुँदैछ। पर्यटन विकासका लागि मध्यपुर महोत्सव २०८१ ग्रिने आयोजक मध्यपुर थिमि नगरपालिकाको भनाई हो। सँंगै जोडिएको भक्तपुर नगरपालिकामा डलर तिरेर पर्यटक आउने तर मध्यपुर थिमि नगरपालिकामा निःशुल्क प्रवेश गराउँंदा पनि विदेशी पर्यटक नआउनुको कारण खोतल्दै विदेशी पर्यटक भिœयाउन सहयोग पुर्‍याउने योजनासहित महोत्सव गर्न लागिएको आयोजक मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ बताउँंछन्।

‘भक्तपुर, चाँगुनारायण, धुलिखेल, जिरीजस्ता लोकप्रिय पर्यटकीय गन्तव्यहरूको स्वागतद्वारका रूपमा उपत्यकाको केन्द्र भागमा अवस्थित मध्यपुर थिमि नगरपालिका पुरातात्विक एवं सांस्कृतिक सम्पदाले सम्पन्न भएको र यही कारण आन्तरिक तथा बाह्य पर्यटकलाई मध्यपुर थिमि नगर भित्र्याउन महोत्सव गर्न लागेका हो,’ उनले भनें।

अर्काे नगरपालिका चाँगुनारायणले २०८२ लाई नगरकोट भ्रमण वर्षका रुपमा मनाउने घोषणा गरेको छ। यसका लागि तयारी पूरा हुने क्रममा रहेको चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री बताउँछन्। यसरी जिल्लाका चारवटै नगर महोत्सवमय बनेका हुन्।

प्रकाशित: १६ मंसिर २०८१ ०८:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App