१२ मंसिर २०८१ बुधबार
image/svg+xml
समाज

भेरी अस्पतालमा अध्यापन प्रक्रियामै एमडी र एमएस

नेपालगन्जको भेरी अस्पतालमा ‘एमडी’ र  ‘एमएस’ अध्यापनका लागि आवश्यक प्रक्रिया अगाडि बढेको छ। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) र  भेरी अस्पतालबीच गत असोजमा भएको सम्झौताअनुसार  आवश्यक प्रक्रिया अगाडि बढेको हो।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेनट डा.निराजन सुवेदीका अनुसार  न्याम्सले भेरीमा विभिन्न पाँचवटा विषयमा अध्यापनका लागि संकाय स्वीकृत गर्नुका साथै विभिन्न आठजना सहप्राध्यापक नियुक्त गरेको छ। अस्पतालका प्रमुख मेसु डा.सुवेदीसहित आठजना विशेषज्ञ चिकित्सक सहप्राध्यापकका रूपमा नियुक्त भएका हुन्।

एमडी÷एमएस अध्यापनका लागि सर्जरीतर्फ प्रमुख मेसु डा.सुवेदी र  डा.दिपेश गुप्ता, मेडिसिनमा डा। राजन पाण्डे र  विकास नेपाल, अर्थोपेडिकमा डा.प्रकाशबहादुर  थापा र डा.तीर्थेन्द्र खड्का, स्त्री तथा प्रसूतिमा डा.कृतिपाल सुवेदी र  रेडियोलोजीमा डा.विश्वनाथ शर्माले सहप्राध्यापकको जिम्मेवारी पाएको बताइएको छ।

अस्पतालका लागि अझै केही संख्यामा सहायक प्राध्यापक पनि नियुक्त गर्ने न्याम्सको तयारी रहेको स्रोतले जनाएको छ। स्रोतका अनुसार  भेरी अस्पतालमा एमडी र  एमएस अध्ययन गर्ने विद्यार्थीका लागि प्रवेश परीक्षासमेत भइसकेको छ। यही रफ्तार मा प्रक्रिया अगाडि बढेमा अबको केही महिनापछि एमडी/एमएसको पठनपाठन पनि सञ्चालन हुने प्रमुख मेसु डा. सुवेदी बताउँछन्। ‘अहिलेसम्म प्रक्रिया राम्रोसँग अगाडि बढेको छ। जतिसक्दो चाँडो पठनपाठन सञ्चालन हुन्छ’, नागरिकसँग उनले भने।

प्रवेश परीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई न्याम्सले आवश्यकताअनुसार भेरी अस्पतालमा पठाउने छ। अध्यापन गर्दा चिकित्सकले सैद्धान्तिक र  व्यावहारिक रूपमा ज्ञान प्राप्त गर्नेछन् भने अस्पतालमा पनि उपचार  सेवा गर्नेछन्। सोही आधार मा विद्यार्थीले एमडी/एमएसमा शैक्षिक योग्यता हासिल गर्नेछन्।

अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहले एमडी र  एमएसको पढाइले भेरी अस्पतालको उचाइमा वृद्धि हुने विश्वास गरे। ‘भेरी अस्पताल अहिलेसम्म बिरामीको औषधोपचार  गर्ने थलो मात्रै बनेको छ, अब विशेषज्ञ चिकित्सकले पढ्ने ठाउँ पनि बन्नेछ’, उनले भने, ‘नेपालगन्जवासीले गर्व गर्न पाउने यो महत्वपूर्ण उपलब्धि हो।’

अस्पताल विकास समितिकी सदस्य किरण आचार्यले आफ्नै ठाउँमा एमडी/एमएस पढ्न चाहने विद्यार्थीलाई यसले ठुलो र राहत दिने बताइन्। ‘एमडी र  एमएस पढ्नका लागि अब पश्चिम क्षेत्रका कसैले पनि छोराछोरीलाई बाहिर  पठाउनुपर्ने छैन। आफ्नै ठाउँमा पढेर  आफ्नै ठाउँमा सेवा गर्न पाउनेछन्। यो सबैका लागि खुसीको कुरा हो’, उनले भनिन्।

संघीय सरकारको मातहतमा रहेको उक्त अस्पतालमा साविक मध्य र  सुदूर पश्चिम क्षेत्रका २४ जिल्लाबाट बिरामी उपचार  गराउन आउँछन्। एमडी/एमएस अध्यापनसँगै अस्पताल सेवा प्रवाहलाई चुस्त बनाउन सरकार ले आवश्यक पर्ने बजेट र  जनशक्ति थप्न प्राथमिकतामा राख्ने प्रमुख मेसु डा.सुवेदीको विश्वास छ। ‘अस्पतालको सेवा प्रवाहलाई अझै चुस्त बनाउनुपर्ने छ। अर्कातर्फ शैक्षिक गतिविधि पनि सँगसँगै हुने भएकाले यसका लागि आवश्यक बजेट र  जनशक्ति थप्ने विषयमा सरकार को ध्यान पक्कै पनि जानेछ’, उनले भने।

प्रकाशित: १२ मंसिर २०८१ ०८:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App