प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसले बीआरआईबारे प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दबाब बढाएको छ ।
बीआरआई अनुदान भए मात्र स्वीकार गर्नुपर्ने अडानमा रहेको कांग्रेस नेताहरूले प्रधानमन्त्री ओलीलाई पटक-पटक सम्झाइरहेका छन् ।
कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार पछिल्लो बैठकले पनि यही निष्कर्ष निकालेको छ । 'बीआरआई अनुदानका रूपमा भए मात्रै स्वीकार गर्ने, अन्यथा यसलाई ग्रहण नगर्ने भन्ने हाम्रो निष्कर्ष छ । हामी यहीँ छौँ,' प्रवक्ता महतले भने ।
कांग्रेसको दबाबपछि प्रधानमन्त्री ओली हच्किएका पनि छन् । यसपछि उनले 'अनुदानका रूपमा लिने' भनेका छन् । यसअघि बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमनम्त्री ओलीले अनुदानकै रूपमा लिनुपर्ने बताएका थिए ।
प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति नेपालका लागि चिनियाँ राजदूतले असन्तुष्टिसमेत जाहेर गरेको चर्चा सुनिएको छ ।
यहीबेला विराटनगर पुगेका कांग्रेस महामन्त्री गगन थापाले बीआरआईबारे सत्ता गठबन्धनमा फरक धारणा नभएको जिकिर गरेका छन् । उनले कांग्रेसको धारणा नै सत्ता गठबन्धनको धारणा भएको आशयका साथ यस्तो बताएका छन् ।
प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीनको भ्रमणमा जाँदैछन् । त्यसअगावै कमसेकम सत्ता गठबन्धनमा बीआरआईबारे एउटै धारणा बनाउन कांग्रेस नेताहरू प्रयासरत छन् । तर, प्रधानमन्त्री ओलीको दल एमाले भने अझ धरमर नै छ । एमालेका अन्य नेताहरूले बीआरआई लिँदा समस्या नपर्ने बताइरहेका छन् । उनीहरूको भनाइ सुन्दा बीआरआई ऋणका रूपमा लिनहुन्न भन्ने छैन ।
तर, कांग्रेस नेताहरूले भने बीआरआई ऋणमा लिनै नहुने अडान राखेका छन् । यस्तो बेलामा सत्ता गठबन्धनमा समेत खटपट हुनसक्ने बताइँदै छ ।
तर, सत्ता गठबन्धनका नेताहरूले बीआरआईकै कारण गठबन्धनमा कुनै समस्या नहुने दोहोर्याइरहेका छन् । स्वयम् प्रधानमन्त्री ओलीले पनि यो गठबन्धन २०८४ को मंसिरसम्मै जाने बताइरहेका छन् ।
यसो हुँदा उनी आफ्नो चीन भ्रमणका क्रममा बीआरआईबारे मौन भएर फर्किन्छन् भन्ने अर्थ लगाइन थालेको छ ।
प्रकाशित: १२ मंसिर २०८१ १५:२४ बुधबार