नेपालमा तत्कालीन सरकार र व्यवस्थाविरुद्ध नेकपा माओवादीले सञ्चालन गरेको १० वर्षे सशस्त्र युद्धका क्रममा अन्तिम पटक लडाइँ भएको स्थान हो– कालिकोटको पिली। कर्णाली राजमार्ग निर्माणमा खटिएको तत्कालीन शाही नेपाली सेनाको ‘निर्माण कार्यदल’माथि माओवादीले पिलीमा आक्रमण गरेको थियो।
सेनाको सडक निर्माण कार्यदलमाथि २०६२ साउन २३ गते माओवादीले गरेको आक्रमणमा ठुलो मानवीय र भौतिक क्षति भयो। सडक निर्माण केही वर्ष पर धकेलियो। पिली घटनामा सेनातर्फ ७५ जनाले ज्यान गुमाए। माओवादीतर्फ पनि त्यतिकै हाराहारीमा हताहती भए पनि त्यो बाहिर आउन पाएन्। माओवादी लडाकुले आक्रमणका बेला सैनिकको मात्रै होइन, स्थानीय शक्ति मल्लसहितको टाउको रेटेर हत्या गरेका थिए।
माओवादीका तत्कालीन पश्चिम कमान्डर इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’ नेतृत्वको फौजले नेपाली सेनाका आधुनिक हतियारसहित ६२ जनालाई नियन्त्रणमा लिएको थियो। पिली भिडन्तपछि माओवादी र सात राजनीतिक दलहरूबीच भारतको नयाँ दिल्लीमा भएको सम्झौताबमोजिम मुलुकमा दोस्रो जनआन्दोलन सुरु भयो। त्यसैको बलमा माओवादी शान्तिपूर्ण राजनीतिमा आयो।
द्वन्द्वका क्रममा अन्तिम फौजी भिडन्त भएको पिली अहिले ‘युद्ध पर्यटन’का रूपमा परिचित हुन थालेको छ। पिली भिडन्तको अध्ययन गर्नेको आकर्षण केन्द्र बनेको छ। कर्णाली करिडोरसँगै जोडिएको भएर होला, नेपालकै प्रमुय पर्यटकीय गन्तव्य रारा ताल र जुम्ला घुम्न आउने पर्यटक पिली पनि पुग्न थालेका छन्। युद्धको अन्तिम निसाना पिलीलाई पर्यटकीय गन्तव्य बनाउन २०७९ सालदेखि प्रदेश सरकारले पूर्वाधार निर्माण गरिरहेको छ।
डिभिजन वन कार्यालय कालिकोटमार्फत यहाँ विभिन्न पूर्वाधार निर्माण भएका छन्। डिभिजन वन कार्यालय कालीकोटका इन्जिनियर प्रकाश सेजुवालका अनुसार युद्ध संग्रहालय, रेलिङसहित करिब १९ सय मिटर पैदल मार्ग, पौडी पोखरी, पार्किङ, प्रवेशद्वार, भ्यु टावर, टिकट काउन्टर, बुट्यानसहितका दुई वटा चौतारा, शौचालय र गेट निर्माण गरिएको छ।
केही दिनअघि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले पनि पिली युद्ध संग्रहालयको अनुगमन गरेका थिए। उनले सशस्त्र द्वन्द्वको अन्तिम युद्धस्थल पिलीमा बनेका भौतिक संरचनाको संरक्षण गर्दै पर्यटकलाई आकर्षित गर्ने योजना बनाउनुपर्ने बताए।
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाही पिली युद्ध पर्यटकीय गन्तव्य बन्दै गएको बताए। उनले सशस्त्र १० वर्षे ‘जनयुद्ध’को अध्ययन अनुसन्धानका लागि पिली सबैको रोजाइमा परेको पनि बताए। ‘खास गरेर रारा जाने पर्यटकले पिलीको पनि भ्रमण गर्छन र सो युद्धबारे जानकारी लिन्छन्,’ शाहीले भने, ‘यसले कालिकोटको पर्यटन विकासमा योगदान दिएको छ।’
उनले १० वर्षे युद्धमा प्रयोग भएका हातहतिहार र अन्तिम युद्ध भएको ठाउँको इतिहासलाई महसुस गर्ने सामग्रीहरू राख्ने गरेर संरचना तयार गरिएको बताए। ‘युद्धका बेला दुवै पक्षले प्रयोग गरेका बंकरहरूसमेत संरक्षण गर्नु आवश्यक देखिएको छ,’ उनले भने, ‘यसका लागि तीन तहकै सरकारले ध्यान दिन आवश्यक छ।’
पिली हुँदै जुम्ला र मुगुको रारा पुग्ने कर्णाली राजमार्ग, पिली–पाखा सडकले पनि यहाँको समृद्धि र विकासका लागि योगदान पुर्याउने स्थानीयको अपेक्षा छ। युद्धको समाप्ति र कर्णाली राजमार्ग निर्माण सम्पन्न भएपछि पिली गाउँ र यस आसपासका बासिन्दाको दिनचर्यामा परिवर्तन आएको छ। छाक टार्नका लागि कालापहाड (भारत) धाउने युवाले अहिले गाउँमै विभिन्न पेसा व्यवसाय अपनाएका छन्। १० वर्षअघिसम्म चार–पाँच वटा मात्र साना होटल र खुद्रा पसल थिए पिलीमा। अहिले पिली सहरमा परिणत भएको छ। पिलीमा अहिले साना, मध्यम गरेर १६ वटा होटल छन्।
रोजगारीका लागि भारतबाहेकका मुलुकमा जान नसक्ने यहाँका युवा अहिले कतार, मलेसिया, साउदी, इजरायल, पोर्चुगल, जापान, अमेरिकालागयतका देशमा पुगेका छन्। भारत जानेको संख्या पहिलेको तुलनामा निकै घटेको वडाध्यक्ष दीपक कार्कीले बताए।
गेलागाउँ जोड्न गाउँको पुछारमा बग्ने तीला नदीमाथि झोलुंगे पुल निर्माण भएको छ। पिली परको पान्तडी बजार जोड्ने सेरी–पाल्तडी सडकमा पक्की पुल निर्माण भइरहेको छ। पिलीदेखि पाखसम्मको सडक सञ्चालनमा आएको छ। घरघरमा सौर्य ऊर्जाले गाउँ झलमल्ल देखिन्छ। राष्ट्रिय प्रसारण लाइन गाउँमा विस्तार भएको छ। खानेपानी अभाव अहिले गाउँमा छैन। सात किलोमिटर टाढा मेजर पाखा खानोपानी आयोजनाबाट एक सय १४ घरधुरी र पाखाको चौखोलामा पर्ने भेरे खोला खानेपानी आयोजनाबाट ७० घरधुरीलाई खानेपानी पु¥याइएको छ।
माओवादीको आक्रमणपछि त्रसितमा रहेका स्थानीयले लोकतन्त्र बहालीपछि मात्र शान्तिको सास फेर्न पाएको स्थानीय पंखबहादुर मल्ल बताउँछन्। ‘पहिले त गाउँमा डरत्रास मात्र हुन्थ्यो,’ उनले भने, ‘शान्ति स्थापनासँगै सडक पुगेपछि विस्तारै गाउँ विकासको चरणमा अघि बढेको छ।’
ठकुरी, क्षेत्री र दलित समुदायको बसोबास रहेको पिली २०४८ सम्म पाखा गाविस थियो। त्यसपछि दाहा गाविस हुँदै अहिले खाँडाचक्र नगरपालिकाको ७ नम्बर वडामा पर्छ। पिली भिडन्तमा ज्यान गुमाएकाका आफन्त पनि आफ्ना मान्छेको मृत्यु भएको ठाउँ खोज्दै यहाँ आउने गरेका छन्। यहाँ भिडन्तमा ज्यान गुमाएका व्यक्तिको तस्बिरसहित परिचय विवरण राख्ने तयारी छ।
डिभिजन वन कार्यालय कालीकोटका प्रमुख महेश कुमाईले युद्धस्थलका रूपमा चिनिएको पिली अहिले पर्यटकीय गन्तव्यमा रूपान्तरण हुँदै गएको बताए। एमाले केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज नगिन्द्र शाहीले पिलीलाई भिडन्तमा ज्यान गुमाएका मानिसको स्मरण केन्द्रका रूपमा अघि बढाइनुपर्ने बताए। उनले कुनै एक पक्षको मात्रै पृष्ठपोषण गरेर पिलीको विकास गर्न नहुने पनि बताए।
नेपाली कांग्रेस कर्णाली प्रदेश कार्यसमितिका प्रवक्ता दमन शाही द्वन्द्वलाई प्रश्रय दिने गरेर कुनै गतिविधि गर्न नहुने बताउँछन्। ‘द्वन्द्व समाप्त भएको १८ वर्ष भइसक्यो, अहिले पनि द्वन्द्वलाई प्रश्रय दिने युद्ध संग्रहालय तथा युद्ध पर्यटकीय स्थल बनाइनु राम्रो होइन्,’ उनले भने, ‘एकतर्फी संरचना बनाइँदा अर्को पक्षलाई पर्ने असरबारे पनि ध्यान दिनुपर्छ।’ उनले युद्ध पर्यटनका नाममा संरचना बनाइनुभन्दा अन्य पूर्वाधार निर्माणमा ध्यान दिइनुपर्ने बताए।
प्रकाशित: १२ मंसिर २०८१ ०७:१० बुधबार