मकवानपुरको सिस्नेरी पहिरोमा भाग्दाभाग्दै ज्यान गुमाएका एन्फा एकेडेमीका बालकका परिवारले अखिल नेपाल फुटबल संघ(एन्फा) कम्प्लेक्समा धर्ना दिएका छन् ।
एन्फाले मृतक बालकका परिवारलाई ८ लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेको छ । तर आफन्तले भने आर्थिक राहत भन्दा घटनाको यथार्थ विवरण बाहिर ल्याएर दोषीलाई कारबाही हुनुपर्ने माग गरिरहेका छन् । धर्नामा प्रहरीले हस्तक्षेप गर्न खोज्दा केही बेर धकेलाधकेल समेत भएको थियो ।
एन्फाको लापरबाहीले आफ्ना सन्तानको ज्यान गएको भन्दै उक्त घटनाबारे सरकारले छानबिन समिति बनाउनुपर्ने मृतक बालकका परिवारको मुख्य माग छ ।
असोजको दोस्रो साता आएको भीषण वर्षाका बेला मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ स्थित एन्फा एकेडेमीका तालिम गर्न बसेका ६ जना बालकको पहिरोमा पुरिएर मृत्यु भएको थियो । त्यहाँ ४० जना बालकहरू फुटबल प्रशिक्षणका लागि क्याम्पमा राखिएको थियो । घटनाको दिन कुलेखानीको बाँध फुट्न सक्नेभन्दै त्यहाँबाट केही बालकहरू सुरक्षित स्थानतर्फ भागेका थिए । भाग्नेक्रममा बाटोमा उ ६ जनाले पहिरोमा पुरिएर ज्यान गुमाएका थिए ।
घटनामा बाराका विकल रेग्मी, सिस्नेरीका दिवस बानियाँ, काठमाडौंका प्रियान्स आचार्य, हेटौँडाका अनुपम घलान, साइमन योन्जन र सर्लाहीका आदित्य बलमपाकीको मृत्यु भएको थियो ।
प्रकाशित: ६ मंसिर २०८१ १३:०० बिहीबार