कैलाली प्रहरीले धनगढी बजारबाटै झन्डै ३७ किलो चरेस बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–५ लभ्ली चोकबाट बुधवार साँझ ३६ किलो ६६२ ग्राम(प्लास्टिक सहित) चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
साँझ ७ बजेर १० मिनेटको समयमा वडा प्रहरी कार्यालय धनगढीको टोलीले चेकजाँच गरिरहेका बेला अल्फाबेट नखुलेको १०७२ नम्बरको पल्सर मोटरसाइकलमा दुई जना सवार भएर आएको प्रहरीले जनाएको छ । पछाडि बसेको व्यक्तिले प्लास्टिक बोरा बोकेको थियो । प्रहरी चेकजाँचमा रहेको देखेपछि दुवैले बोरा फ्याँकेर मोटरसाइकलमै भागेको कैलाली प्रहरीले जनाएको छ ।
त्यो बोरामा ३६ किलो ६६२ ग्राम चरेस भेटिएको छ । फरार भएका दुवै जना र मोटरसाइकलको खोजी भइरहेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डिएसपी) कविन्द्रसिँह बोहराले जानकारी दिए ।
प्रकाशित: २९ कार्तिक २०८१ १२:५९ बिहीबार