२८ कार्तिक २०८१ बुधबार
image/svg+xml
समाज

चितवनमा १० प्रकारका आलुबारे अध्ययन सुरु

जिल्लामा आलुका जातको अध्ययन सुरु गरिएको छ। जिल्ला कृषि विकास कार्यालय चितवनले आफ्नो वार्षिक कार्यक्रमअन्तर्गत धान, मकै र आलुको उन्नत जात तथा स्वदेशी हाइब्रिड जात, जातिको अध्ययन परीक्षण तथा प्रविधि अनुसरण कार्यक्रमअन्तर्गत आलुका जातहरुको अध्ययन सुरु गरिएको हो।

कार्यालयका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार कृषकलाई अनुदानको कार्यक्रम गर्दै आएको कार्यालयले यस वर्ष अध्ययन कार्यक्रम गरिएको हो। विभिन्न १० प्रकारका आलुको अध्ययन सुरु गरिएको उनले जानकारी दिइन्।

अध्ययन सुरु गरिएका आलुमा ० दशमलव ५२, २५ दशमलव ७, एल्बर स्टोन रसेट, क्यामेन, स्यागिटा, क्युन्टेरा, इनोभेटरलगायतका जातको अध्ययन परीक्षण थालिएको हो। यस्तै फ्राइसोना, सन्ताना र स्थानीय नीलो जातको आलुको अध्ययन गर्न लागिएको उनले बताइन्।

उनका अनुसार अहिले जातीय परीक्षण तथा औद्योगिक आलुको बारेमा अध्ययन सुरु गरिएको छ। औद्योगिक आलुका रुपमा फ्रेन्चफ्राइ, चिप्सजस्ता वस्तु उत्पादनका लागि आलु चितवनमा उत्पादन गर्न सकिन्छ की सकिँदैन भन्ने अध्ययन थालिएको हो। एउटा जातको २५ किलो आलुका दरले कृषक र रामपुर कृषि क्याम्पस खैरहनीमा अध्ययन थालिएको हो।

खैरहनी नगरपालिकाका वडा नम्बर १० कठारका कृषकको बारीमा आलु लगाइ सकिएको छ भने क्याम्पसमा केही दिनमा लगाउने तयारी गरिएको छ। किसानले परापूर्वक कालदेखि लगाउँदै आइरहेका आलुको भन्दा परीक्षण स्वरुप लगाइएका आलुको उत्पादन, आकार, लोकप्रियता, स्वाद, रोग किराको आक्रमण, बिक्री वितरणमा सहजतालगायतका विषयमा अध्ययन गरिने उनले बताइन्।

आलुको उत्पादन क्षमता हेरेर कुन आलुलाई यस क्षेत्रमा लगाउँदा बढी प्रतिफल लिन सकिन्छ भन्ने विषयमा अध्ययन गरिने सूचना अधिकारी त्रिपाठीले बताइन्। उत्पादन सफल भएमा स्थानीय कच्चा पदार्थको प्रयोगले उत्पादन बढाएर व्यावसायिक आलु खेतीमा कृषकलाई लगाउन मद्दत पुग्ने कार्यालयका प्रमुख झलकनाथ कँडेलले बताए। उनले भने, ‘आलुखेती गर्ने कृषकका लागि यो अध्ययन फलदायी हुने छ।’

जिल्लामा गत आर्थिक वर्षमा एक हजार नौ सय ९० हेक्टर क्षेत्रफलमा आलुखेती गरिएको थियो। जसबाट ४९ हजार छ सय ७६ मेट्रिक टन आलु उत्पादन भएको उनले जानकारी दिए। क्षेत्रफल र उत्पादन बढाउन यो प्रयोग फलदायी हुने उनले विश्वास व्यक्त गरे। रासस

प्रकाशित: २६ कार्तिक २०८१ ०८:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App