सुदूरपश्चिम विश्वविद्यालय कृषि सङ्काय अन्त्रगतको टीकापुरस्थित स्कुल अफ एग्रिकल्चरका विद्यार्थीहरूले सयपत्री फूलको खेती गरेका छन्। सातौँ सेमिष्टरमा अध्ययनरत ३५ जना विद्यार्थीहरुको समूहले फूल खेती गरेको हो।
उनीहरुले पाठ्यक्रम अध्ययनकै क्रममा ३ कठ्ठा १० धुरमा फूल खेती गरेको बताए। विद्यार्थी बसन्त बोहराले एक विषय अन्तर्गत फूल खेती गरिएको बताए। ‘हाम्रो समूहले सयपत्री फूलको खेती गरेका छौँ। अरूले विभिन्न जातका तरकारी र माछा पालन गरेका छन्’ उनले भने–‘यो पढाई अन्त्रगतकै क्रियाकलाप हो।’
तिहारमा सयपत्री फूलको छुट्टै महत्त्व हुन्छ। विद्यार्थीले तिहारलाई लक्षित गरेर बिक्रीको तयारी समेत गरेका छन्। फूल खेतीमा कलेजले नै लगानी गरेको छ। विद्यार्थी बोहराले फूल बिक्री गरेर कलेजको लगानी फिर्ता गर्ने बताए। उनले कलेजको लगानी फिर्ता गरेर बचेको रकम भने विद्यार्थीले खर्च गर्ने जानकारी दिए।
‘कलेजको लगानी कलेजलाई फिर्ता दिने हो’ उनले भने–‘त्यसबाट बचेको रकम भने हामीले खर्च गर्छौं।’
विद्यार्थीले विभिन्न ब्यापारीहरुसँग फूल खरिदका लागि कुरा गरेका छन्। उनीहरुले टीकापुर, जोशीपुर, भजनी, लम्की लगायतका ठाउँमा पुगेर व्यापारीलाई फूल खरिदका लागि आग्रह गरेका छन्। स्थानीय स्तरमै विद्यार्थीहरूले फूल खेती गरेको सुनेपछि धेरैजसो व्यापारीले खरिद गर्ने आश्वासन समेत दिएको बोहराले बताए।
फूल खेती सम्भाव्यता अध्ययनका लागि समेत रहेको विद्यार्थीले बताए। यो ठाउँमा सयपत्री फूलको खेती गर्न सकिन्छ कि सकिँदैन भनेर अध्ययन गर्न पनि यस्तो गरेको बोहराले बताए। उनले फूल खेती राम्रो भयो भने स्थानीयलाई यसतर्फ आकर्षित गर्न उत्प्रेरित गर्ने जानकारी दिए।
‘हामीले उत्पादन र बजारको समेत सम्भाव्यता अध्ययन गरेर कृषकलाई अभिप्रेरित गर्छौ’ बोहराले भने–‘यो केवल हाम्रा लागि मात्रै लाभदायक छैन।’
उनले फूल खेती गरेर केही व्यक्तिले राम्रो आम्दानी गर्न सक्ने बताए। उनका अनुसार टीकापुरमा सयपत्री फूलको खेतीको राम्रो सम्भावना छ।
विद्यार्थीले गत वर्ष समेत थोरै ठाउँमा सयपत्री फूलको खेती गरेका थिए। फूल राम्रोसँग फूलेपछि विद्यार्थीले यस वर्ष व्यवसायीक रुपमै खेती गरेका हुन। उनीहरुले धेरैजसो फूल तिहारमा बिक्री गर्ने योजना बनाएका छन्। त्यसका लागि विद्यार्थीले आफै माला उनेर स्टल राख्ने बताए।
टीकापुर नगरपालिका र जोशीपुर गाउँपालिकाले प्लाष्टिकको माला बिक्रीमा प्रतिबन्ध लगाएका छन्। पालिकाहरूले यस्तो निर्णय गरेपछि विद्यार्थीहरू झन उत्साहित भएका छन्।
प्रकाशित: १४ कार्तिक २०८१ १४:१७ बुधबार