६ कार्तिक २०८१ मंगलबार
image/svg+xml
समाज

विपद् व्यवस्थापन न्यूनीकरणमा नयाँ प्रविधिको विकास गर्दै युवाहरू

इन्जिनियरिङ विधामा अध्ययनरत युवाहरूले बहुप्रकोपिय विपद् व्यवस्थापनमा प्रयोग हुने सफ्टवेयर र हार्डवेयर विकास गरेका छन्।

बहुप्रकोपिय विपद् व्यवस्थापनमा विभिन्न जटिलताहरू आउने गरेको र व्यवस्थापन चुनौतीपूर्ण बनेको अवस्थामा युवाहरूले स्थानीय साधन र स्रोत प्रयोग गरि गर्न सकिने प्रविधिको विकास गरेका हुन्।

स्टार्ट नेटवर्कको सक्रियतामा आयोजना गरिएको फोरवार्न डिजास्टर ह्याकथनमा सहभागी युवाहरूले विपद् पूर्व, विपद् प्रतिकार्य र विपद्पछिको पुनः स्थापनामा प्रयोग गरिने सफ्टवेयर विकास गरेका हुन्। त्यसमा विपद् पूर्वको अवस्था विश्लेषण, विपद् प्रतिकार्य, जनस्वास्थ्य, खोज तथा उद्धार, पोषण साथै पुनः स्थापनामा गरिने कार्यहरूमा आर्टिफिसियल इन्टेलीजेन्सको प्रयोग गरी सफ्टवेयर निर्माण गरेका हुन्।आर्टिफिसियल इन्टेलीजेन्सको प्रयोग गरि बनाइएको सफ्टवेयर, एप्लीकेसन विपद् व्यवस्थापनका लागि प्रभावकारी हुने भएकाले तत्काल विपद् प्रतिकार्य भई जोखिम न्यूनीकरण गर्न सहज हुने विश्वास गरिएको छ।

आइतबारदेखि मंगलबारसम्म धुलिखेलमा आयोजना गरिएको ह्याकथनमा देशभरबाट छानिएका ७ वटा समूहले विपद् व्यवस्थापनका लागि बनाएको प्रविधिको विस्तृत प्रस्तुत गरेका थिए। ह्याकथनलाई नेतृत्व र मोनिटरिङ गरेका इन्जिनियरिङ अध्ययन संस्थानको विपद् अध्ययन केन्द्रका निर्देशक डाक्टर वसन्तराज अधिकारीले आर्टिफिसियल इन्टेलीजेन्सको अधिकतम प्रयोग गरी विकास गरिएको युवाहरूको आविष्कारले विपद् जोखिम न्यूनीकरण कार्यलाई सहज बनाउने विश्वास व्यक्त गरे। ह्याकथनले युवाहरूलाई समूहमा कार्य गर्न प्रोत्साहन गर्ने र नवीन सोचहरूलाई परिपक्व बनाउन सहयोग गर्ने भएकाले आविष्कारमा चासो राख्नेहरूलाई पनि महत्त्वपूर्ण अवसर हुने बताए।

मुलुकभरका १ सय ३६ जना युवाहरूबाट छानिएका ७ वटा नवीन आविष्कारहरूलाई विपद् व्यवस्थापनमा काम गर्दे आएका विज्ञहरूले मेन्टरिङ गरिरहेका छन्। ७ वटा नवीन आविष्कार मध्येबाट प्रथम विजेतालाई एक लाख, दोस्रोलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार प्रदान गरिने छ। 

प्रकाशित: ६ कार्तिक २०८१ १८:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App