७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

‘शिक्षा क्षेत्रको सुधारमा लागेको छु’:अध्यक्ष मियाँ

तपाईंं निर्वाचित भएको दुई वर्ष बित्यो, यो अवधिमा के के काम गर्नुभयो ?

२०७९ चुनावी वर्ष थियो । ठोस कामको कुरा गर्दा गाउँपालिकाको प्रशासनिक भवन बन्यो। कृषि र पशुमा दुईवटा भवन बनाएका छौं। हामीले पालिकालाई बत्तीमय बनाएका छौं। स्वास्थ्य बिमा अवधारणा लिएर त्यसलाई हामीले लागु गराएका छौं। किसानका लागि विभिन्न प्याकेजका कार्यक्रमहरू ल्यायौं। शिक्षा सुधारमा हामीले सम्पूर्ण विद्यालयलाई विज्ञ ल्याएर अनुगमन गराएर प्रतिवेदन तयार गरी सुधारका अभियान सञ्चालन गरिरहेका छौं। बाटोघाटो, पुलपुलेसा, किसानहरूका लागि डिप बोरिङ, मोटर वितरणजस्ता कार्यक्रम गरेका छौंं।  

शिक्षा क्षेत्रमा सुधारका लागि विज्ञ नै ल्याएर काम गरेको बताउनुभयो। खास समस्या के रहेछ र त्यसलाई सुधार गर्न के के काम गर्नुभएको छ?

भोक्राहा नरसिंहको मात्र नभएर देशकै शिक्षा क्षेत्रमा समस्या रहेछ। खास सरकारी विद्यालय, कलेज र मदरसाप्रति अभिभावक, विद्यार्थी र शिक्षक कसैको पनि विश्वास नै छैन। अहिले बोर्डिङ स्कुलतिर बढी आकर्षित छन् । एउटा सामान्य मकै पोलेर बिक्री गर्नेले पनि छोराछोरी पढाउन गुणस्तर भन्दै निजी शिक्षालय नै रोजेको पाइयो।

उच्च शिक्षा दिनलाई राम्रो शिक्षा कहाँ छ?भनेर मैले विज्ञ ल्याएर ३५ दिनसम्म अनुगमन गरें।अनि रिटायर्ड प्रधानाध्यापक र धार्मिक विज्ञलाई राखेर छलफल पनि गरें। त्यसपछि विभिन्न समस्यालाई परिवर्तन गर्न कदम चालियो।  

गुणस्तरीय शिक्षाका लागि डिजिटल बोर्ड, ह्वाइट बोर्ड र अहिलेको नयाँ प्रविधिअनुसार नानीहरूलाई शिक्षण गर्ने अरू थप सामग्री प्रदान गरें। हामीले चारवटा विद्यालयलाई नमुना विद्यालयमा सूचीकृत पनि गरेका छौं। आठवटै वडामा प्रत्येक वडाध्यक्ष र प्रत्येक वडालाई मैले भनेको छु, ‘एउटा वडाले एउटा विद्यालय नमुना बनाउनुहोस ।’ पालिकाबाट चारवटा विद्यालय नमुनामा सूचीकृत गरी सोहीअनुसारको कार्य गर्दै आएका छौ । 

हाम्रोमा अंग्रेजी माध्यमबाट पढाउने भनेर विद्यार्थीको पोसाकदेखि बस्ने, खेलकुदसँगै अन्य तयारी गरिएको छ। चारवटै नमुना विद्यालयका शिक्षकलाई विषयगत तालिम दिलाइरहेका छौं। किनकि शिक्षकहरू पुरानो शैलीमा शिक्षण गर्दै आएकाले गर्दा अब नयाँ ढंगले शिक्षण गर्न सिकाउन तालिम दिएका हौं।  

शैक्षिक गुणस्तर सुधार गर्नका लागि प्रत्येक ३÷३ महिनामा अभिभावक भेला अनिवार्य गर्न विद्यालयलाई सकुर्लर गरिएको छ । परीक्षा लिइसकेपछि रिजल्ट अभिभावकबाहेक विद्यार्थीलाई नदिनका लागि पत्राचार गरिएको छ। कम्तीमा अभिभावक आएपछि विद्यार्थी पनि सचेत हुने र अभिभावकलाई पनि छोराछोरीको पढाइप्रति चासो बढ्ने हुन्छ । यसले विद्यालयप्रति अपनत्वको भावना पनि हुन्छ।  

कतिपय स्थानमा अहिलेका किशोरकिशोरी लागु औषधको कुलतमा फसेर समाजमा भयावह स्थिति सिर्जना भएको पनि सुनिने गरेको छ । यहाँको अवस्थाचाहिँ के छ?

सामाजिक सञ्जालमा नकारात्मक कमेन्टले गर्दा किशोरकिशोरी गलत बाटोमा जाँदै छन् । सामाजिक सञ्जालबाट निम्तिने विकृतिप्रति सचेत गर्नका लागि हामीले चाहिँ सचेतनामूलक कार्यक्रम पनि गरिरहेका छौं । जसमा हाम्रोमा ‘किशोरीसँग उपाध्यक्ष र विद्यार्थीसँग अध्यक्ष’ कार्यक्रम छ । यही कार्यक्रममार्फत प्रहरीका अधिकृतलाई पनि बोलाएर आवश्यक सचेतना फैलाउने काम गरिन्छ । यो काम हामीले वडा नम्बर ८ बाट सुरु गरेका छौं।  

खुला सिमानाका कारण यस क्षेत्रका किशोरकिशोरीमा समस्या भएको हो?

मलाई लाग्छ हामी गणतन्त्रको ज्यादै नै बढी सदुपयोग गर्न थालेका छौं। गणतन्त्रको नाममा हामीमा यति मोजमस्तीतन्त्र आइसकेको छ, अभिभावकत्व छैन।कतिपयका अभिभावक विदेश गएका छन्। कतिपयका छोराछोरी विद्यालय गए÷नगएको कुनै टुंगै हुँदैन। हाम्रो भोक्राहा नरसिंहका दुईवटा वडा नं. ६ र ८ भारतसित सीमा जोडिएका वडा पर्छन् । यी वडाका किशोरकिशोरी र युवा अलिक बढी कुलतमा फसेको बुझिएको छ। उनीहरूलाई सचेतनामार्फत परिवर्तन गर्ने कार्यक्रम पनि सञ्चालन गरिरहेकै छौं।

मानवीय चेतना अभिवृद्धि र क्षमता विकासका निम्ति के के काम गरिरहनुभएको छ?

अहिले हामीले तीनवटा कार्यक्रम गरिरहेका छौं। पहिलो किशोरीसँग उपाध्यक्ष कार्यक्रम, दोस्रो विद्यार्थीसँग अध्यक्ष कार्यक्रम र तेस्रो जनतासँग अध्यक्ष कार्यक्रम। यी तीनवटै कार्यक्रममार्फत सबैमा सचेतना अभिवृद्धि गर्ने नै हो। हामी जनताको घरदैलामा गइरहेका छौं। जनताको घरदैलामा जाँदा शिक्षाप्रतिको धारणा, जनप्रतिनिधिप्रति धारणा, कुन वडामा के समस्या छ ? त्यो बुझ्ने गरेका छौं।  

भोक्राहा नरसिंह कृषिका लागि उर्वरभूमि मानिन्छ, कृषि क्षेत्रका लागि चाँहि के के काम भएका छन्?

कृषिमा आव २०८०÷८१ मा जहाँ सिँचाइ सुविधा नपुग्ने ५ सय किसानलाई डिप बोरिङ वितरण गर्ने योजनामा समेटेका छौं । हामीले जैविक मल बनाउन सिकाएका छौं। किसानलाई बेमौसमी पानी आएर नोक्सानी गर्छ त्यसैले उनीहरूलाई ध्यानमा राखी अहिले हामी निःशुल्क कृषि बिमा पनि गर्न थालेका छौं।  

तपाईंले ५ वर्षमा भोक्राहा नरसिंहलाई कस्तो बनाएर छाड्ने योजना बनाउनु भएको छ?

५ वर्षपछाडि त होइन, मैले ४ वर्षको क्यालेन्डर बनाएको छु। ४ वर्ष विकास गर्ने एक वर्ष समीक्षा गर्ने क्यालेन्डर बनाइएको हो। नारामा होइन व्यवहारमा यहाँका नागरिकलाई भोक्राहा नरसिंह मेरो सिंहदरबार हो, म यहाँको नागरिक हुँ, मेरा घरघरमा सेवासुविधा पुुगिरहेका छन् भनेर त्यो पहिलो अनुभूति गराउने स्थानीय सरकारको लक्ष्य छ।  

स्वास्थ्य क्षेत्रमा कम्तीमा यहाँका नागरिकको कसैको पनि अकालमा मृत्यु नहोस् भन्ने ढंगले काम गरिरहेका छौं। शिक्षातर्फ ४ वर्ष भित्रमा कम्तीमा बोर्डिङ स्कुलको विद्यार्थी सामुदायिक विद्यालयप्रति लोभिएर पढ्न आउने कल्पना गरिएको छ।  

यहाँका किसानलाई पर्याप्त कृषि अनुदान दिन सकियोस् भन्ने योजना छ। सभ्य सहर बनाउन यहाँ युवाहरू राजनीतिमा प्रवेश गर्ने वातावरण तयार गरी सुशासन कायम गराउने लक्ष्य छ।

प्रकाशित: ४ कार्तिक २०८१ ०८:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App