२७ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

दसैँको दुई दिनमा ६३ हजारले गरे हवाईयात्रा

बडादसैँको दुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन्। असोज  २४ गते फूलपाती र २६ गते (महाअष्टमी/महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै गरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज २४ गते आन्तरिकतर्फ दुईतर्फी गरेर तीन सय एक उडानमार्फत १७ हजार तीन सय २९ र असोज २५ गते दुई सय ७८ उडानबाट १४ हजार चार सय ३६ गरी कुल ३१ हजार सात सय ६५ ले आन्तरिक उडानमा हवाई यात्रा गरेका छन्।

यस्तै अन्तर्राष्ट्रियतर्फ असोज २४ गते दुईतर्फी एक सय सात उडानमार्फत १६ हजार पाँच सय नौ र असोज २५ गते पनि एक सय सात उडान हुँदा १४ हजार नौ सय ६८ गरी कुल ३१ हजार चार सय ७७ ले हवाईयात्रा गरेको विमानस्थल कार्यालयले जनाएको छ। यो उडान र यात्रु सङ्ख्या आगमन र प्रस्थान दुवैको हो।

यसअघि यही असोज १४ गते एकै दिन आन्तरिक उडान र अन्तर्राष्ट्रिय उडान गरी पाँच सय ५९ उडान भएका थिए। ती उडानमार्फत सोही दिन ३५ हजार सात सय चार जनाले हवाईयात्रा गरेका छन्। यही असोज ११ र १२ गतेको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा बाढीपहिरोले सडक सञ्जाल अवरुद्ध हुँदा हवाई उडानमा चाप भएको थियो।

अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान चाप बढेपछि विमानस्थलको टर्मिनल भवन यात्रुको खचाखच भीडभाड थियो। अहिले हवाई उडान सामान्य बन्दै गएको विमानस्थल कार्यालयले जनाएको छ।  यही असोज १३, १४, १५ र १६ गते हवाई उडान चाप बढेको थियो।

प्रकाशित: २७ आश्विन २०८१ ०६:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App