बंगलादेशले भारतमा आयोजना हुने टी-२० विश्वकप क्रिकेट खेल्न अस्वीकार गरेपछि उसको स्थानमा स्कटल्याण्डले प्रतियोगितामा भाग लिने भएको छ।
बंगलादेशले भारतसँगको बढ्दो तनाव र सुरक्षा संवेदनशीलताको कारण देखाउँदै प्रतियोगिताबाट नाम फिर्ता लिएपछि स्कटल्याण्डले यो अवसर पाएको हो।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले आफ्नो वेवसाइट मार्फत् आधिकारिक घोषणा समेत गरेको छ। अब ‘ग्रुप सी’ मा बंगलादेशको सट्टा स्कटल्याण्ड रहनेछ। सोही समूहमा इंग्ल्यान्ड, इटाली र नेपाल पनि रहेका छन्।
बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले आफ्ना खेलहरू भारतको सट्टा सह-आयोजक राष्ट्र श्रीलंकामा गराउन आईसीसीसमक्ष प्रस्ताव राखेको थियो। तर, आइसीसीले भारतमा कुनै पनि प्रकारको ठोस सुरक्षा खतरा नरहेको भन्दै उक्त प्रस्ताव अस्वीकार गरेको थियो।
आइसीसी स्रोतका अनुसार भारतमा खेल्ने विषयमा निर्णय गर्न अन्तिम २४ घण्टाको समयसीमा (डेडलाइन) दिइएको थियो। उक्त समयसीमा सकिएसँगै आइसीसीले वैकल्पिक योजनाअनुरूप स्कटल्याण्डलाई आमन्त्रित गर्ने प्रक्रिया अघि बढाएको हो।
प्रतियोगिता सुरु हुन अब दुई साताभन्दा कम समय बाँकी छ। ७ फेब्रुअरीदेखि सुरु हुने विश्वकपको पहिलो दिन नै कोलकातामा स्कटल्याण्डले वेस्ट इन्डिजको सामना गर्नुपर्ने तालिका हुन सक्छ।
स्कटल्याण्डका खेलाडीहरू हाल नामिबिया र ओमानसँगको सिरिजका लागि तयारीमा जुटेका थिए। अब उनीहरूले भारत प्रवेशका लागि भिसा प्रक्रिया द्रुत गतिमा अघि बढाउनुपर्ने चुनौती छ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आईपीएल टिम कोलकाता नाइट राइडर्स (केकेआर) लाई बंगलादेशी बलर मुस्ताफिजुर रहमानलाई टिमबाट रिलिज गर्न निर्देशन दिएका थियो। त्यसपछि भारत र बंगलादेशबीचको क्रिकेट सम्बन्धमा दरार आएको हो। केकेआरले २०२६ को सिजनका लागि उनलाई ९ करोड भारुमा अनुबन्ध गरेको थियो।
यस घटनालाई बंगलादेशको अन्तरिम सरकारले देश र खेलाडीको अपमान भनेको थियो। बंगलादेशका खेल सल्लाहकार आसिफ नजरुलले आईसीसीबाट न्याय नपाएको र मुस्ताफिजुरजस्ता खेलाडीको सुरक्षा सुनिश्चित नभएको भन्दै भारत नजाने निर्णय सरकारले लिएको प्रष्ट पारेका छन्।
यसको प्रतिक्रियास्वरूप बंगलादेशले आफ्नो देशमा आईपीएल प्रसारणमा समेत रोक लगाएको छ।
बंगलादेश बाहिरिएर स्कटल्याण्ड आउँदा समूह ‘सी’ को समीकरणमा केही परिवर्तन हुनेछ। नेपालले अब समूह चरणमा बलियो टेष्ट राष्ट्र बंगलादेशको सट्टा एसोसिएट राष्ट्र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित: १० माघ २०८२ २०:४८ शनिबार





