२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
समाज

मेलम्चीको पानी सिधै पिउन योग्य रहेको समितिको दाबी

प्रमुख कार्यकारी निर्देशक ई.रत्नप्रसाद लामिछाने

मेलम्ची खानेपानी विकास समितिले उपत्यकामा आइरहेको मेलम्चीको खानेपानी सिधै पिउन योग्य रहेको दाबी गरेको छ । समितिका प्रमुख कार्यकारी निर्देशक ई.रत्नप्रसाद लामिछानेले मेलम्चीबाट आएको पानी पिउन योग्य भएको बताएका हुन्। उनले मेलम्चीबाट सुन्दरीजल ल्याइएको पानी चार तहसम्म प्रशोधन गरेर वितरण गरिएको बताए।  

यद्यपि पुरानो लाइनबाट गएको पानी भने पाइपहरुको टुटफुटका कारण प्रदूषित हुन सक्ने उनको भनाइ छ। मेलम्ची आयोजनाको नयाँ लाइनबाट आएको पानी भने नउमालिकन पिउन सकिने गुणस्तरमा रहेको उनको भनाइ छ। 

उनले भने, एक त मेलम्चीको पानी सुन्दरीजलसम्म आउँदाखेरी पानी राम्रो नै आइराखेको हुन्छ । त्यहाँ हाम्रो अत्याधुनिक पानी प्रशोधन केन्द्रहरु छ। त्यहाँ हामीले ३ ४ लेयरमा पानीलाई प्रशोधन गरेर फेरि लास्टमा क्लोरिनेशन गरेर पठाउँछौँ। पुरानो लाइनबाट गएको पानी छ भने हामी भन्न सक्दैनौँ, हामीले शुद्ध पानी पठाउँदा पनि पाइप फुटेर अरु पानी प्रदूषित हुनसक्छ ।पठाइएको नयाँ लाइनबाट पानी आएको छ भने धाराको पानीलाई नउमालिकन पिउन सक्नेगरी पिउन योग्य गुणस्तरमा पठाएको लामिछानेले बताए। त्यसको गुणस्तर चेक हामी प्रत्येक दिन, प्रत्येक घण्टा पनि चेक गरेर ट्रिटमेन्ट प्लान्टबाट छोडेका छौँ। पुरानो लाइन कस्तो छ भन्न सकिन्न। तर नयाँ लाइनको पाइप जोडिएको छ भने त्यो पानी ढुक्कसँगले पिउन सक्ने अवस्था छ, उनले भने। 

मेलम्ची खानेपानी विकास समितिले मङ्गलबारदेखि काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु गरेको हो। काठमाडौं उपत्यकामा मेलम्ची खोलबाट दैनिक २२ करोड लिटर पानी ल्याइएको छ।

अघिल्लो वर्षभन्दा यो वर्ष मेलम्चीको पानी छिटो काठमाडौंमा आएको हो। पानी पठाउने संरचनामा निरन्तर अनुगमन गरेर क्षतिबाट बचाएकोले समयमै पानी काठमाडौंमा पठाउन सकिएको प्रमुख लामिछानेले जानकारी दिए।  लामिछानेले अहिले २२ करोड लिटर पानी उपत्यकामा ल्याइएको भए पनि चैत र वैशाख महिनामा भने १७ करोड लिटर मात्रै ल्याइने बताए। 

२०७८ साल असार १ गते र साउन १६, १७ गते मेलम्ची नदीमा आएको विनाशकारी बाढीले मेलम्ची नदीको पानी डाइभर्सन गर्न बनाइएको हेडवर्क्सका संरचना पूर्णरुपमा नष्ट भएपछि वर्षातको समयमा पानी काठमाडौंमा पठाउन छोडिएको थियो। 

वर्षात कम भएसँगै पानी काठमाडौं उपत्यकामा आउन थालेको हो।

प्रकाशित: २४ आश्विन २०८१ १३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App